अवैध रूपमा एक देशबाट अर्को देशमा पैसा पठाउन प्रयोग हुने हुन्डी कारोबारको स्वरूप फेरिँदै गएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।
परम्परागत रूपमा नगद लेनदेनका माध्यमबाट हुने यस्तो कारोबारमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणालीदेखि डिजिटल प्रविधि र क्रिप्टोकरेन्सीसम्मको प्रयोग हुन थालेको अध्ययनले औंल्याएको छ।
नेपालमा यस्तो कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न रहेको पाइएको छ। खुद्रा व्यापार गर्ने व्यवसायी तथा विप्रेषण (रेमिट्यान्स) कारोबारमा संलग्न सब–एजेन्टहरूको पनि हुन्डी कारोबारमा बढी संलग्नता देखिएको छ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआइयू) ले शुक्रबार सार्वजनिक गरेको हुन्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो।
इकाइले सन् २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म आफ्नो 'गोएएमएल' प्रणालीमा प्राप्त हुन्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिका प्रतिवेदनहरूको विश्लेषण गरेको थियो।
अध्ययनले हुन्डी कारोबारका लागि अरू व्यक्तिका बैंक खाता प्रयोग गर्ने, नगद कारोबारको निर्धारित सीमा छल्ने, कम्पनी तथा अन्य कानुनी व्यक्तिको प्रयोग गर्ने, क्रिप्टोकरेन्सी प्रयोग गर्ने, नगद ओसारपसार गरी भुक्तानी गर्ने तथा रेमिट्यान्सका सब–एजेन्ट र डिजिटल प्रविधि प्रयोग गर्ने गरेको देखाएको छ।
हुन्डी कारोबारमा औपचारिक बैंकिङ प्रणालीकै प्रयोग बढ्दै जानुलाई पनि प्रतिवेदनले औंल्याएको छ। यसले बैंकिङ प्रणालीमार्फत भएका शंकास्पद कारोबार पहिचान गर्नुपर्ने चुनौती थपिएको देखाउँछ।
हुन्डी कारोबार विदेशी मुद्रा अवैध रूपमा ओसारपसार गर्ने माध्यम मात्र नभई आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिलाई वैध बनाउने माध्यमसमेत हुन सक्ने जोखिम प्रतिवेदनले औंल्याएको छ।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन अनुसार मानव तस्करी, लागुऔषध तस्करी, भ्रष्टाचार तथा कर छलीजस्ता आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्न हुन्डीको प्रयोग हुने जोखिम छ। आतंककारी गतिविधिमा वित्तीय लगानी गर्नसमेत यसको प्रयोग हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
वित्तीय जानकारी इकाइले यही जोखिमलाई ध्यानमा राखेर हुन्डी कारोबार पहिचान गर्ने विद्यमान सूचकहरू अद्यावधिक गर्नुपर्ने सुझाव दिएको छ।
बैंक तथा वित्तीय संस्थासहित शंकास्पद कारोबारको सूचना दिनुपर्ने संस्थाहरूले पठाउने प्रतिवेदनको गुणस्तर सुधार गर्नुपर्ने र जोखिमका आधारमा वित्तीय कारोबारको निगरानी गर्नुपर्ने सुझाव पनि दिएको छ।
त्यस्तै, हुन्डी नियन्त्रणका लागि नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा नीति निर्माण गर्ने निकायबीच समन्वय बढाउनुपर्ने, प्राविधिक क्षमता अभिवृद्धि गर्नुपर्ने र सर्वसाधारणमा जनचेतना विस्तार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
इकाइले कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित भएर यो अध्ययन गरेको होइन। हुन्डी कारोबारको बदलिँदो प्रवृत्ति, त्यसमा प्रयोग भइरहेका विधि तथा त्यसबाट उत्पन्न वित्तीय र आपराधिक जोखिम पहिचान गर्ने उद्देश्यले अध्ययन गरिएको इकाइले जनाएको छ।