यो वर्ष नेपालको आयात १५ प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष ११ महिनामा १६ खर्ब ४४ अर्बको वस्तु आयात भएको थियो। यो वर्ष बढेर १८ खर्ब ९४ अर्ब पुगेको छ।
आयात मूल्यको आधारमा बढे पनि परिमाणमा मुख्य वस्तुको आयात घटेको छ। विगत २ आर्थिक वर्षसम्म आयात–निर्यात व्यापारमा संकुचन देखिएकोमा अघिल्लो वर्ष बढोत्तरी भएको थियो।
कतिपय व्यवसायीले अहिले पुनः बजार मागमा ह्रास देखिन थालेको बताएका छन्। मुख्य वस्तुको परिमाणात्मक आयातले पनि यस्तै संकेत देखाएको उनीहरूको भनाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार धानलगायतका केही वस्तुको आयात मूल्य र परिमाण दुवै हिसाबले घटेको छ।
जस्तै, आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ५२ करोड १२ लाख किलो धान आयात भएको थियो। चालु वर्षको यही अवधिमा घटेर ४६ करोड ११ लाख किलो भएको छ।
आयात मूल्य १९ अर्ब ९९ करोड रुपैयाँबाट घटेर १७ अर्ब २३ करोड रुपैयाँ भएको छ।
फलफूलमा सबैभन्दा धेरै आयात हुने स्याउ परिमाण र मूल्य दुवैमा बढेको छ। तर परिमाणको तुलनामा आयात मूल्य अत्यधिक देखिन्छ।
गत वर्ष ८ करोड २८ लाख किलो स्याउ आयात भएकोमा यो वर्ष ९ करोड ५७ लाख किलो भएको छ। स्याउको आयात मूल्य गत वर्ष ९ अर्ब ५६ करोड रुपैयाँ मात्रै रहेको थियो। यो वर्ष बढेर १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थमा डिजेलको आयात परिमाण घटेको छ, आयात मूल्य अत्यधिक बढेको छ। गत वर्ष १३ लाख १२ हजार किलोलिटर डिजेल आयात भएकोमा यो वर्ष घटेर १२ लाख ६४ हजार किलोलिटर भएको छ। डिजेलको परिमाण घटे पनि आयात मूल्य १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँबाट बढेर १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
पेट्रोलको आयात परिमाण सामान्य बढेको छ, आयात मूल्य अत्यधिक बढेको छ। गत वर्ष ६ लाख ८१ हजार किलोलिटर पेट्रोल आयात भएकोमा यो वर्ष बढेर ६ लाख ८५ हजार किलोलिटर भएको छ। पेट्रोलको परिमाण सामान्य बढे पनि आयात मूल्य ५८ अर्ब ५८ करोड रुपैयाँबाट बढेर ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
हवाई इन्धनको आयात परिमाण सामान्य बढेको छ, आयात मूल्य अत्यधिक बढेको छ। गत वर्ष १ लाख ९४ हजार किलोलिटर हवाई इन्धन आयात भएकोमा यो वर्ष बढेर १ लाख ९७ हजार किलोलिटर भएको छ।
हवाई इन्धनको परिमाण सामान्य बढे पनि आयात मूल्य १७ अर्ब ४९ करोड रुपैयाँबाट बढेर २४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
सुनको आयात परिमाण घटेको छ, आयात मूल्य अत्यधिक बढेको छ। गत वर्ष १३ लाख ८९ हजार ग्राम सुन आयात भएकोमा यो वर्ष घटेर १३ लाख ५४ हजार ग्राम भएको छ। सुनको परिमाण घटे पनि आयात मूल्य १७ अर्ब १२ करोड रुपैयाँबाट बढेर २५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
चाँदीको आयात परिमाण र मूल्य दुवै अत्यधिक बढेको छ। गत वर्ष २ करोड ८ लाख ग्राम चाँदी आयात भएकोमा यो वर्ष बढेर ६ करोड ३५ लाख ग्राम भएको छ। चाँदीको परिमाण सामान्य बढे पनि आयात मूल्य २ अर्ब ९२ करोड रुपैयाँबाट बढेर २१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
कच्चा भटमासको तेलको आयात परिमाण बढेको छ। त्यसको तुलनामा आयात मूल्य झन् बढेको देखिन्छ। गत वर्ष ६३ करोड ३ लाख लिटर आयात भएकोमा यो वर्ष बढेर ७२ करोड ६४ लाख लिटर भएको छ। कच्चा भटमासको तेलको परिमाण सामान्य बढे पनि आयात मूल्य ९५ अर्ब ७२ करोड रुपैयाँबाट बढेर १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
कच्चा पाम तेलको आयात परिमाण र आयात मूल्य दुवै अत्यधिक बढेको छ। गत वर्ष ३ करोड ८२ लाख लिटर आयात भएकोमा यो वर्ष बढेर ८ करोड १६ लाख लिटर भएको छ। आयात मूल्य ५ अर्ब ४८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
फलफूलमा सबैभन्दा बढी आयात हुने स्याउको परिमाण सामान्य बढेको छ, आयात मूल्य अत्यधिक बढेको छ। गत वर्ष ८ करोड २८ लाख किलो स्याउ आयात भएकोमा यो वर्ष बढेर ९ करोड ५७ लाख किलो भएको छ। स्याउको परिमाण सामान्य बढे पनि आयात मूल्य ९ अर्ब ५६ करोड रुपैयाँबाट बढेर १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
औद्योगिक उत्पादन हट रोल्ड फलामको आयात परिमाण घटेको छ, आयात मूल्य पनि घटेको छ। गत वर्ष ३९ करोड २९ लाख किलो हट रोल्ड फलाम आयात भएकोमा यो वर्ष घटेर ३४ करोड १२ लाख किलो भएको छ। हट रोल्ड फलामको परिमाण घटेसँगै आयात मूल्य ३० अर्ब ५० करोड रुपैयाँबाट घटेर २६ अर्ब ४६ करोड रुपैयाँ भएको छ।
यसले मूल्यवृद्धिले आयात बढाएको देखाए पनि परिमाणतः मुख्य वस्तुको आयातमा संकुचन आएको देखाएको हो।क्यूआर कोडसहितको परिचय पत्र उपलब्ध गराउने काम भइरहेको छ।