पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बुधबारको नगरसभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।
उनले महानगरले आगामी आर्थिक वर्षका लागि संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड, आन्तरिक आय, अनुदान तथा बैंक मौज्दातसमेत गरी ३ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ आय हुने अनुमान प्रस्तुत गरेकी छन्।
खर्चतर्फ संघीय तथा प्रदेश सरकारका सशर्त कार्यक्रमसमेत समेटेर कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको बताइन्।
महानगरले पूर्वाधार विकासतर्फ मात्रै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ।
जसमा वडा स्तरीय योजनाका लागि ४३ करोड ४६ लाख ३२ हजार, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड, ठेक्का तथा दायित्व सरेका योजनाका लागि २५ करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ।
यस्तै सडक, सहरी विकास, विद्युत, फोहोरपानी प्रशोधन केन्द्र र मर्मत सम्भारका कार्यक्रमलाई पनि महत्व दिइएको छ।
विद्युततर्फ १ करोड ६० लाख, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख र मर्मत सम्भारतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ। शिक्षाका लागि १० करोड ५ लाख २८ हजार, स्वास्थ्यतर्फ ६ करोड ३ लाख ५० हजार, महिला विकासतर्फ ६६ लाख, बालबालिकाका कार्यक्रमका लागि ४८ लाख ५० हजार र संघसंस्था अनुदानका लागि ६ करोड ३१ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। कृषि विकास, पशुपन्छी तथा भेटेरिनरी, सहकारी, उद्यमशीलता विकास, रोजगार प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई यसअन्तर्गत समेटिएको छ।
सुशासन तथा संस्थागत विकासका लागि २ करोड ३३ लाख १० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
फोहोरमैला व्यवस्थापनका लागि १ करोड २५ लाख र विपद् व्यवस्थापनका लागि ९६ लाख रुपैयाँ छुट्याइएको छ।
आय स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदानलगायत गरी १ अर्ब ७ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान महानगरको छ।
प्रदेश सरकारबाट १४ करोड २६ लाख ७४ हजार, राजस्व बाँडफाँडबाट २८ करोड ६४ लाख १८ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
महानगरले आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ५ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ। विभिन्न संघसंस्थाबाट १ करोड १६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ आय हुने अनुमान छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले प्रस्तुत नीति तथा कार्यक्रम महानगरको विकास, आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित रहेको बताइन्।
उनले ‘हामी सबैको शहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने लक्ष्यअनुसार बजेट तयार गरिएको जानकारी दिइन्।