आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुटवल उपमहानगरपालिकाले करिब ४ अर्बको बजेट सार्वजनिक गरेको छ।
बुधबार उपप्रमुख सावित्रादेवि अर्यालले आगामी वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्।
यो बजेट चालु आर्थिक वर्षको भन्दा झन्डै ६४ करोडले बढी हो। बुटवलले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो।
उपप्रमुख सावित्रादेवी अर्यालले ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर’ भन्ने नारालाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बताइन्।
प्रस्तुत गरिएको बजेटमा चालुतर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत बजेट विनियोजन गरिएको छ।
यस्तै, सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत र आर्थिक विकास क्षेत्रमा १२ प्रतिशत बजेट छुट्टाइएको छ। बुटवलले पूर्वाधार विकासतर्फ ५५ प्रतिशत बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५ प्रतिशत बजेट अनुमान गरिएको छ।
बुटवलले आन्तरिक स्रोत व्यवस्थापनबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय सङ्कलन हुने लक्ष्य राखेको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँट अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहत्तर बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरी ३ अर्ब ८५ करोड सङ्कलन हुने अनुमान गरिएको छ।
उपमहानगरपालिकाले सङ्घीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान गरी ठुलो रकम प्राप्त हुने अनुमान गरेको छ। प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको हो।
प्रस्तुत बजेटको स्रोत व्यवस्थापनका लागि बुटवलले सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदान (चालु) तर्फ ५० करोड २५ लाख, सशर्त अनुदान (पुँजीगत) तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पुँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत) तर्फ २० लाख प्राप्त हुने अनुमान छ।
यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत २ करोड ३ लाख ६५ हजार, सशर्त अनुदान (चालु) तर्फ ५६ लाख ५० हजार, सशर्त अनुदान (पुँजीगत) तर्फ १ करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत) बापत १ करोड ५० लाख र विशेष अनुदान (पुँजीगत) तर्फ २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।
यस्तै सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १९ करोड ४३ लाख ८६ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट २ करोड ७५ लाख ६१ हजार बजेट अनुमान गरिएको उपप्रमुख अर्यालले बताइन्।