नेपाल सरकारका निवर्तमान मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय किताबखानाको ई-पेन्सन सेवामार्फत पेन्सन सुविधा लिएका छन्।
किताबखानाले यसलाई ई-पेन्सन सेवाको प्रयोग विस्तार भएको संकेतका रूपमा उल्लेख गरेको छ।
किताबखानाका अनुसार २०८२ चैत ८ गतेदेखि सञ्चालनमा आएको ई-पेन्सन सेवाबाट हालसम्म ५६२ जना निवृत्त कर्मचारीले सेवा लिइसकेका छन्।
यो कुल ६९९ जना पेन्सन सेवाग्राहीको ८० प्रतिशत हो भने बाँकी २० प्रतिशत सेवाग्राही अझै कार्यालयमै उपस्थित भएर सेवा लिइरहेका छन्।
किताबखानाका अनुसार श्रेणीविहीन कर्मचारीदेखि मुख्यसचिवसम्मका निवृत्त कर्मचारीले ई-पेन्सन सेवा प्रयोग गरिरहेका छन्।
ई-पेन्सन सेवा सुगम जिल्लासँगै ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट र दार्चुलालगायत दुर्गम जिल्लाबाट पनि प्रयोग भइरहेको किताबखानाले जनाएको छ।
किताबखानाले आफ्ना सेवा क्रमशः विद्युतीय प्रणालीमा रूपान्तरण गर्दै भौतिक उपस्थितिबिनै सेवा प्रवाह गर्ने व्यवस्था लागू गरेको जनाएको छ।