चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ।
साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन २७ प्रतिशतले बढाउने लक्ष्य राखेको छ।
गत आर्थिक वर्षमा १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठाएको सरकारले चालु वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको हो।
साउनमा कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ संकलन भएको छ।
गत वर्ष सोही अवधिमा ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ कर उठेको थियो। कर राजस्व ४ अर्ब ५१ करोड ९९ लाख रुपैयाँले बढेको हो।
गैरकर राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ।
चालु वर्षको पहिलो महिनामा ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ गैरकर राजस्व उठेको छ। गत वर्ष साउनमा यस्तो राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ थियो।
राजस्व वृद्धिको लक्ष्य उच्च भए पनि पहिलो महिनाको संकलन लक्ष्य अनुसारको गतिमा भने देखिएको छैन।
सरकारले वार्षिक लक्ष्य पूरा गर्न बाँकी ११ महिनामा औसतमा मासिक औसत १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउनुपर्ने हुन्छ।
सरकारको कुल प्राप्ति भने चालु वर्षको पहिलो महिनामा ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ थियो।
राजस्व बढे पनि सरकारी खर्च भने गत वर्षको तुलनामा घटेको छ।
चालु वर्षको साउनसम्म सरकारी कोषबाट ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। गत वर्ष सोही अवधिमा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ खर्च भएको थियो।
चालु वर्षको पहिलो महिनामा चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख, पूँजीगततर्फ १३ अर्ब २८ करोड ५० लाख र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ।