उद्योगपति शेखर गोल्छाले बाढी प्रभावितको उद्धार र राहतका लागि १ करोड ५० लाख रूपैयाँ सहयोग घोषणा गरेका छन्।
गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने उनले बताएका हुन्।
'रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट आइरहेका तस्बिर र भिडिओले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति उनले समवेदना व्यक्त गरेका छन्।
अझै सम्पर्कमा नआएका आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको उनले बताएका छन्।
उनले अहिलेको कठिन घडीमा उद्धार र राहतलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ।
'यस्तो विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनामा सक्दो योगदान दिनु हाम्रो साझा जिम्मेवारी हो,' उनले लेखेका छन्।