फेसनको घडी पनि अचम्मको हुँदो रहेछ!
कहिलेकाहीँ यो अगाडि होइन, तीस वर्ष पछाडि घुम्छ। अनि आजका युवतीहरू नयाँ फेसन खोज्दै बजार चहार्दा भेट्छन्— आफ्ना आमाहरूको पालामा चलेको कुर्ता!
फरक यति हो, आमाहरू कुर्तासँग सुरुवाल र सल लगाउँथे। छोरीहरू त्यही कुर्ता जिन्स, प्लाजो वा खुकुलो पाइन्टसँग मिलाउँछन्। घाँटीको डिजाइन र कटिङमा नयाँ प्रयोग गर्छन्।
अनि तीन दशक पुरानो फेसनलाई नयाँ नाम दिन्छन्— 'नाइन्टिजको कुर्ता!'
अचेल काठमाडौंका कुर्ता पसलमा यही 'नाइन्टिज' को चर्चा छ।
तीस वर्षअघि बलिउडका हिरोइनले लगाउने कुर्ता खोज्दै युवतीहरू पसल पुग्थे। अहिले जेनजी युवतीहरू त्यही समयको शैली खोज्दै पसल धाइरहेका छन्।
त्यो पनि दसैंको मुखमा!
कुर्ता व्यवसायी आकाश बलामीका लागि यो रमाइलो संयोग बनेको छ। उनले तीस वर्षअघि पनि यस्तै कुर्ता बेचेका थिए। अहिले फेरि उस्तै डिजाइनको माग देखिरहेका छन्।
तीन दशकमा ग्राहक फेरिए, रूचि फेरियो र फेसनका नाम पनि फेरिए। तर कुनै बेला बजारमा चलेको कुर्ता फेरि फर्किएको छ।
'हरेक दसैंमा नयाँनयाँ ट्रेन्ड आउँछन्। कहिले आलिया भट्ट कुर्ता आउँछन् त कहिले दीपिका पादुकोण,' आकाशले भने।
यसपालि भने कुनै अभिनेत्रीको नाम होइन, एउटा दशककै नामले बजारमा चर्चा पाएको छ।
नाइन्टिज अर्थात् सन् १९९० को दशक!
यो शैली सन् २००० को दशकको सुरुआतसम्म पनि लोकप्रिय थियो। त्यसैले यसलाई 'वाई–टू–के' (Y2K) कुर्ता पनि भनिन्छ। वाई–टू–के भन्नाले सन् २००० को समयलाई जनाउँछ। अंग्रेजीमा 'वाई' ले 'Year' र 'के' ले हजारलाई जनाउँछ।
खासगरी बलिउड अभिनेत्रीहरू रानी मुखर्जी, करिना कपुर, प्रिती जिन्टाले यस्तो कुर्ता चर्चामा ल्याएका थिए। भारतमा अझै पनि धेरैले यसलाई वाई–टू–के कुर्ता भन्छन्।
नाम जे भए पनि, तीन दशक पुरानो यो डिजाइनको माग नेपालमा यस वर्ष तीजदेखि नै बढेको आकाश बताउँछन्। दसैं नजिकिएसँगै यसको आकर्षण झनै बढेको छ।
यो आकर्षण तयारी कुर्ता बेच्ने पसलमा मात्र सीमित छैन। सिलाउने ठाउँमा पनि उस्तै चहलपहल छ।
इन्द्रचोकको चोखाछेँ गल्लीमा कुर्ता सिलाउने मोहनकुमार पण्डितकहाँ अचेल युवतीहरू 'नाइन्टिजको कुर्ता' र 'भाइरल कुर्ता' भन्दै अर्डर दिन पुग्छन्।
उनले यसपालिको दसैंका लागि मात्रै दुई सयभन्दा बढी यस्ता कुर्ता सिलाइसकेका छन्।
'यो दसैंमा मात्रै मैले २०० भन्दा बढी ९० को दशकका कुर्ता सिलाइसकेँ। दिनमै दुई–तीन वटा अर्डर आइरहेका हुन्छन्। धेरैजसोले यसलाई 'नाइन्टिजको कुर्ता' वा 'भाइरल कुर्ता' भनेर सिलाउन लगाउने गरेका छन्,' मोहनले भने।
भारतको रक्सौल घर भएका मोहनले १५ वर्षको उमेरदेखि कुर्ता सिलाउन थालेका हुन्। सानैमा दाइसँग सिलाइ सिकेका उनको रक्सौलमा 'न्यु लक्ष्मी टेलर्स' नामको आफ्नै पसल छ। अहिले त्यो पसल दाइले चलाउँछन् भने उनी काठमाडौंमा कुर्ता सिलाउँछन्।

तीन दशकअघि चलेको डिजाइनको नाम लिएर अहिले युवतीहरू टेलरिङ पसल पुग्नु आफैमा रोचक छ।
त्यो समयको कुर्ताको चर्चा हुँदा आकाशलाई आफ्नै व्यवसायका सुरूआती दिन सम्झना आउँछन्। उनले काठमाडौंको कमलाछीमा 'लताश्री कलेक्सन' नामबाट कुर्ता व्यवसाय सुरु गरेको ३० वर्ष भयो।
कमलाछीमा सात वर्ष र इन्द्रचोकमा तीन वर्ष पसल चलाएपछि उनी केही समय दुबई गए। नेपाल फर्केपछि फेरि यही व्यवसायमा लागे। अहिले चाबहिलमा उनको पसल चलेको दस वर्ष भइसकेको छ।
आकाशले व्यवसाय सुरू गर्दाको काठमाडौंमा फेसनको संसार अहिलेभन्दा फरक थियो।
त्यतिबेला न इन्स्टाग्राम थियो, न टिकटक। नयाँनयाँ डिजाइन हेर्न मोबाइलको स्क्रिनमा औंला घुमाउने चलन पनि थिएन।
त्यस बेला फेसनको एउटा प्रमुख स्रोत थियो— सिनेमा।
खासगरी बलिउड अभिनेत्रीहरूले लगाउने पहिरनले नेपाली बजारमा प्रभाव पार्थ्यो। फिल्ममा देखिएको कुनै कुर्ता मन परेपछि युवतीहरू त्यस्तै डिजाइन खोज्न थाल्थे।
'त्यति बेला हिरोइनले जे लगाउँथे, त्यही डिजाइनका कपडा सिलाएर बजारमा ल्याउने चलन थियो,' आकाशले भने।

त्यो समयका कुर्ताको आफ्नै रूप थियो। शरीरमा मिल्ने फिटिङ डिजाइनका कुर्ता लोकप्रिय थिए। कुर्तासँग सुरूवाल र सल मिलाएर लगाइन्थ्यो।
कुर्ताको रङ, कपडाको डिजाइन र सलको संयोजनमा विशेष ध्यान दिइन्थ्यो।
बलिउड अभिनेत्रीहरूले लोकप्रिय बनाएको त्यही कुर्ता–सुरूवालको शैली अहिले फेरि नयाँ पुस्ताको रोजाइमा परेको छ।
र, यसले 'नाइन्टिजको कुर्ता' नाम पाएको छ।
आकाशले तीस वर्षको व्यवसायमा अनेक फेसन आएको र हराएको देखेका छन्। कुनै बेला निकै चलेको डिजाइन अर्को वर्ष ओझेल पर्छ। वर्षौंपछि त्यही डिजाइन फेरि नयाँ पुस्ताको रोजाइमा पर्न सक्छ।
उनले कुनै बेला बेचेका डिजाइनका कुर्ता अहिले मोहनको टेलरिङमा सिलाइँदै छन्। आकाशका लागि यो पुरानो फेसन फेरि फर्किएको अनुभव हो भने मोहनका लागि अहिलेको अर्डरको चहलपहल।
आकाश बलामीले तीन दशकअघि बेचेको कुर्ता र मोहनकुमार पण्डितले अहिले सिलाइरहेको कुर्ताबीच एउटा पुस्ताको दुरी छ। तर फेसनले त्यो दुरी मेटाइदिएको छ।
सायद फेसनको सबैभन्दा रमाइलो कुरा यही हो।
आमाहरूको जमानामा चलेको कुर्ता अहिले छोरीहरूको रोजाइ बनेको छ। तीन दशक पुरानो डिजाइन फेरि 'भाइरल' भएको छ!