नेपाललाई आवश्यक परे दैनिक १८ घण्टासम्म बिजुली दिन भारत तयार भएको छ।
६५४ मेगावाट बिजुली दैनिक १८ घण्टासम्म आयात गर्न भारतले स्वीकृत प्रदान गरेको नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए।
'हामीले सुख्खा सिजनमा चाहिन सक्छ भन्ने हिसाबले बिजुली माग गरेका थियौं। दुई दिन अगाडि स्वीकृति पाएका हौं,' उनले सेतोपाटीसँग भने।
भारतले भदौ २८ गतेदेखि लागू हुने गरी बिजुली आयातका लागि स्वीकृति प्रदान गरेको हो।
मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारणलाइन प्रयोग गरेर ६०० मेगावाट र टनकपुर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाट बिजुली आयात गर्न स्वीकृति दिएको हो।
नेपालले यो बिजुली डिसेम्बरअन्तिसम्म ल्याउन स्वीकृति पाएको हो।
अहिले तत्कालै भने हामीलाई बिजुली आवश्यक छैन। अहिले नेपालले नै भारतलाई बिजुली निर्यात गरिरहेको छ।
कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार हाल नेपालले भारततर्फ दैनिक ५०० देखि ८०० मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ।
'अक्टोबर नोभेम्बरसम्मै हामीले आयात गर्नुनपर्न सक्छ। डिसेम्बरपछि आवश्यक पर्यो भने आयात गर्नुपर्छ। त्यसका लागि हामीले अनुमति मागेका थियौं। आयात गर्ने अनुमति चाँडै स्वीकृत भएको हो,' उनले थपे।
भदौ १० गतेको भोटेकोशी बाढीका कारण हाम्रो जलविद्युत क्षेत्रमा ठूलो क्षति पुग्यो। बाढीका कारण विभिन्न जलविद्युत आयोजनाहरूमा क्षति हुँदा ४३१.१ मेगावाट बिजुली प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
ठूलो परिमाण बिजुली प्रणालीबाट विच्छेद हुँदा नेपालले हिउँदमा लोडसेडिङको सामना गर्नुपर्ने हो कि भन्ने प्रश्न समेत उठिरहेको छ। तर भारतबाट आयात गरेर भए पनि लोडसेडिङ हुन नदिने श्रेष्ठको भनाइ छ।
सुख्खा सिजनमा कति बिजुली आश्यक पर्न सक्छ भन्ने विषयमा प्राधिकरणले अध्ययन गरिरहेको पनि उनले बताए।
'सुख्खा सिजनमा पोहोर साल १०० देखि २०० मेगावाट सम्म बिजुली ल्याएका थियौं। यसपटक कति आवश्यक पर्छ हामी अध्ययन गर्दैछौं,' उनले भने।
यो पटक केही बिजुली प्रणालीबाट विच्छेद भए पनि उत्पादन थपिएका कारण ल्याउन पर्ने परिमाण त्यति धेरै नबढ्ने उनको अनुमान छ।
हाल पिक आवरमा २५ सय मेगावाटसम्म बिजुली खपत हुने गरेको छ।
'शनिबार र आइतबार बिदाको दिनमा बिजुली माग कम हुन्छ। वर्किङ डेमा बढी हुन्छ,' कामु कार्यकारी निर्देशक श्रेष्ठले भने।
अहिले उत्पादन पनि दैनिक ३५ सय मेगावाट हाराहारि भइरहेको उनको भनाइ छ।
बाढीले जलविद्युत आयोजनाहरूमा क्षति पुग्नुअघि निजी क्षेत्रका केही जलविद्युत आयोजनालाई कन्टिन्जेन्सीमा राखिएको थियो।
अहिले कन्टिन्जेन्सीमा राखिएका आयोजनाहरूले पनि 'फुलफेज'मा उत्पादन गरिरहेको उनले बताए।