ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ।
नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको बिगले सुरूआती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो।
विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले सुरू गरिएको उक्त कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको जनाएको छ।
बिग सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा स्थापना भएको थियो। अहिले १६७ भन्दा बढी सेयरधनी छन्।
कम्पनीका अधिकांश सेयरधनी अझै पनि विदेशमा कार्यरत छन्।
कम्पनीले जलविद्युत क्षेत्रलाई आफ्नो प्रारम्भिक लगानीको महत्वपूर्ण क्षेत्र बनाएको हो।
बिगले प्रारम्भिक चरणमा लगानी गरेको सोलुखुम्बुको १९.८ मेगावाट क्षमताको जलप्रवाहमा आधारित बेनी खोला जलविद्युत आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याएको हो।
बेनी खोला जलविद्युत आयोजनाको सेयरका लागि माग गरिएको सेयरको तुलनामा ३०.५५ गुणा बढी आवेदन परेको थियो।
कुल २३ लाख ६१ हजार १२४ जना आवेदकले सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये ८६ हजार ३२० जना आवेदकले सेयर प्राप्त गरेका छन्।
आइपिओपछि अब बेनी खोला जलविद्युत आयोजना सेयर बजारमा सूचीकृत हुने तयारीमा गएको हो।
उक्त आयोजना सञ्चालनको प्रारम्भिक चरणमा लगातार दुई आर्थिक वर्ष नोक्सानीमा गएको थियो।
तर पछिल्लो आर्थिक वर्षमा भने आयोजनाले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले आयोजनालाई अहिलेको अवस्थामा ल्याउन कम्पनीले निर्वाह गरेको भूमिकाप्रति गर्व लागेको बताए।
कम्पनीले सिन्धुपाल्चोकमा रहेको ३.२ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।
गेलुन खोला जलविद्युत आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालन आइसकेको छ।
आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री भइरहेको छ।
बिगले सिन्धुपाल्चोकमै रहेको ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम 'ए' जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।
उक्त आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरिसकेको छ।
माथिल्लो न्यासेम तथा न्यासेम 'ए' जलविद्युत आयोजना अहिले वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।
आयोजनामा हालै नयाँ लगानीकर्ता समेत थपिएका छन्।
यसले आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने प्रक्रियालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले आगामी दिनमा आतिथ्य, शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ।
विभिन्न क्षेत्रमा लगानी गरी जोखिमलाई विविधीकरण गर्ने र सेयरधनीका लागि दीर्घकालीन रूपमा बलियो लगानी पोर्टफोलियो निर्माण गर्ने कम्पनीको योजना छ।