काठमाडौंमा 'हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७' आयोजना हुने भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।
नेपालको स्वच्छ ऊर्जा क्षेत्रको विकास, प्रविधि र लगानीलाई एउटै ठाउँमा जोड्ने उद्देश्यले आगामी २०८३ माघ ३, ४ र ५ गते आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
यो एक्स्पो पाँचौं संस्करण हो।
नेपालमा हाल विद्युत उत्पादन क्षमता करिब ४,३०० मेगावाट पुगेको छ भने आगामी १० वर्षमा ३०,००० मेगावाट पुर्याउने सरकारी लक्ष्य छ।
यसै लक्ष्यलाई सहयोग पुर्याउन र जलवायु परिवर्तनका कारण हुने बाढी-पहिरोजस्ता विपद्बाट ऊर्जा पूर्वाधारलाई सुरक्षित र दिगो बनाउने विषयलाई एक्स्पोले प्राथमिकता दिएको छ।
यस पटकको एक्स्पोले जलविद्युत्का साथै सौर्य ऊर्जा, हावाबाट निकालिने ऊर्जा, बायोग्यास, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी र डिजिटल प्रविधिलाई समेत समेट्ने छ।
प्रदर्शनीमा भारत, चीन, क्यानडा, जर्मनी, बेलायतसहित विभिन्न देशका कम्पनी, लगानीकर्ता, उपकरण उत्पादक, नीति निर्माता र विज्ञहरूको सहभागिता रहनेछ।
कार्यक्रममा व्यावसायिक बैठक, ऊर्जा सम्मेलन, नयाँ प्रविधिको प्रत्यक्ष प्रदर्शन, इभी र्याली तथा नेटवर्किङ डिनरजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्।
तीन दिनसम्म चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने र ३० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोमा सहभागी हुन र स्टल बुक गर्न चाहनेहरूका लागि बुकिङ खुला भइसकेको छ।