राजधानी मोडेल कलेजले हालै रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति योजनाको घोषणा गरेको छ।
कलेज प्रशासनका अनुसार विपद्मा परेका परिवारका उत्कृष्ट १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
बिबिए, बिएचएम र बिसिएसआइटी जस्ता उच्च माग भएका स्नातक कार्यक्रमहरूमा उपलब्ध गराइने यस छात्रवृत्ति योजनाको कुल लागत ७० लाख रूपैयाँभन्दा बढी रहेको छ।
दैवी विपत्तिका कारण आर्थिक संकटमा परेका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थी उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले यो सामाजिक दायित्व बहन गरिएको कलेजले जनाएको छ।
पुरानो बानेश्वर, काठमाडौंमा अवस्थित राजधानी मोडेल कलेजले संकटको घडीमा विद्यार्थीहरूको शैक्षिक यात्रा रोकिन नदिने प्रतिबद्धता व्यक्त गर्दै यस अवसरको अधिकतम लाभ लिन आग्रह गरेको छ।