वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नरहेको दाबी गरेको छ।
विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री भइरहेको जनाएको हो।
विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी–पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गई सडक अवरूद्ध भएको तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको लगायतका कारण चाडपर्वमा बढी खपत हुने चिनीको अभाव भएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको उल्लेख गरेको छ।
यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग भएको बैठकबाट काठमाडौं उपत्यकाका भाटभटेनी, बिगमार्ट र सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको छ। त्यसैले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न पनि विभागले आग्रह गरेको छ।