पाराग्लाइडिङमा उडेर आकाशबाट जमिन हेर्दा देखिने दृश्यले सोनाम लामा मोहित भए। उनलाई डर पनि लाग्यो। डर छल्न छिनछिनमा आकाशतिर हेरे।
‘पाराग्लाइडिङबाट तल हेर्दा डर लाग्यो। माथि हेरेर आफूलाई भुलाएँ,’ उनले भने, ‘आकाशबाट फेवाताल, शान्ति स्तुप, घरहरू र पहाडको दृश्य एकदम राम्रो लाग्यो।’
पोखराको तोरीपानीबाट मंगलबार पाराग्लाइडिङमा उडेका सोनाम चिल घुमेझैँ आकाशमा २५ मिनेट घुमे। धर्तीको सौन्दर्य अनुभव गरे। आह्लादित भए।
अमेरिकाको न्यूयोर्क बस्ने सोनाम गत साता नेपाल आएका थिए। यही मौकामा पाराग्लाइडिङमा उड्न पोखरा हानिए। परिवारसहित पोखरा आए पनि पाराग्लाइडिङमा एक्लै उडे।
‘जीवनमा पहिलो पटक पाराग्लाइडिङ गर्दा एकदम साहसिक अनुभव भयो,’ उनले अनुभव सुनाए।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/1.jpg)
मंगलबार पोखरामा पाराग्लाइडिङ उडानको अनुभव लिनेमा सोनामसहित ६५ जना थिए। यिनमा केही विदेशी र अधिकांश नेपाली थिए।
पहिलो कोभिड लकडाउनपछिको सिजनमा दैनिक १ हाजार २ सय जनासम्मलाई पाराग्लाइडिङ गराएका व्यवसायी दैनिक सयभन्दा कमलाई उडाउन पर्दा पीरमा छन्।
पाराग्लाइडिङ पाइलट विमल पहारीका अनुसार कोभिडअघि पनि सिजनमा पाराग्लाइडिङ गर्ने पर्यटक धेरै आउँथे। व्यवसाय फस्टाएको थियो। अहिले पर्यटन क्षेत्रमा आएको मन्दीले पोखराको पाराग्लाइडिङ धरापमा परेको छ।
पर्यटनमा आएको मन्दीभन्दा बढी पाराग्लाइडिङमा सरकारले लागु गरेका कडा नियम र प्रतिबन्धले असर पारेको उनको बुझाइ छ। उनकाअनुसार तालमाथि सिधा उड्न नपाइने नियम व्यावहारिक छैन।
सराङकोटबाट उडेर हिमाल र फेवाताल हेर्दै तालकै छेउमा ओर्लंदाको जस्तो मनोरम दृश्य अहिले तोरीपानीबाट पामेफाँट ओर्लंदा देखिँदैन। हिमालको दृश्य भने पहिलेजस्तै देखिन्छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट उड्ने पाराग्लाइडिङ तोरीपानीतिर सरेको हो। फेवातालछेउ चंखपुरमा अवतरण गर्न रोकेर हर्पनखोला किनार पामेफाँटमा सारिएको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/3.jpg)
विमान उडान र अवतरणमा असर पर्ने निष्कर्षसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सराङकोटबाट पाराग्लाइडिङ उडान बन्द गरेको छ।
‘सराङकोटबाट उडेर चंखपुर झरेजस्तो दृश्य देखिँदैन। सजिलो पनि छैन,’ पहारी भन्छन्, ‘एयरपोर्ट चलाउने भनेर सराङकोटमा बन्द गराइदिए। पाराग्लाइडिङका लागि सराङकोटको जस्तो वातावरण तोरीपानीमा छैन।’
सराङकोटबाट उडान हुँदा पूरा सहरले पाराग्लाइडिङको दृश्य देख्न सक्थ्यो। सराङकोटमाथि हिमाललाई पृष्ठभूमिमा पारेर पुतलीका हुलजस्तै पाराग्लाइडिङ उडिरहेका देखिन्थे। अहिले उडान भइरहेको तोरीपानीबाट त्यस्तो दृश्य देख्न नसकिने पाइलट पहारीले बताए।
उनले पोखरामा पाराग्लाइडिङ खुम्चिनुको अर्को कारण सरकारले लगाएको प्रतिबन्धलाई मानेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान पाराग्लाइडिङ क्रममा नेपाल आर्मी क्लबका खेलाडी निसिम थापाको निधन भएको थियो। सराङकोटबाट उड्नेबित्तिकै पाराग्लाइड राम्ररी नखुलेर उनी भुइँमा बजारिएका थिए। त्यसपछि सरकारले पाराग्लाइडिङको सोलो (एकल) उडानमा प्रतिबन्ध लगाएको छ।
नवौं राष्ट्रिय खेलकुदमा पाराग्लाइडिङ खेलाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यानसँग अनुमति लिएको थिएन। पाराग्लाइडको आवश्यक जाँच र हावाको चापसमेत ख्याल गरेको थिएन।
राखेपले गरेको प्राविधिक त्रुटि र दुर्घटना देखाएर क्यानले पाराग्लाइडिङको एकल उडानमा लगाएको प्रतिबन्धले विदेशी खेलाडीको आकर्षण घटेको पहारीको भनाइ छ।
एकल उडान बन्द भएपछि नेपाली पाराग्लाइडिङ खेलाडीले अभ्यास गर्न पनि पाएका छैनन्। नेपाली खेलाडीले पाराग्लाइडिङतर्फ अन्तर्राष्ट्रिय प्रतियोगतामा भाग लिएर धेरैपटक पदक जितेका छन्।
आगामी महिना भारतमा हुने छनौट खेलमा सहभागी हुने तयारी गरेका खेलाडी विशाल जलारीले एकल उडान बन्द भएकाले आफूले अभ्यास गर्न नपाएको बताए।
‘एक महिनापछि भारतमा गेम खेल्न जानु छ, सोलो उडानको अभ्यास गर्न पाएको छैन,’ उनी भन्छन्, ‘सरकारले खेलाडीलाई आवश्यक सामग्री र प्रशिक्षण दिनुका सट्टा आफैँ सबै सामग्री जुटाएर प्रतियोगितामा जान्छु भन्दा पनि अभ्यास गर्न दिएन।’
उनकाअनुसार पाराग्लाइडिङतर्फ नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा सामग्री र प्रशिक्षणमा सरकारले कहिल्यै सहयोग गरेको छैन। भन्छन्, ‘पदक जितेर आएपछि सरकारले फोटो खिच्ने मात्र हो। अरू केही पनि दिँदैन।’
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/7.jpg)
एकल उडानमा प्रतिबन्ध लगाउनुअघि स्विट्जरल्यान्ड, जापान, फ्रान्सलगायत अनेक देशबाट खेलाडी आउँथे। सराङकोटबाट एकल उडान भरेर चंखपुरमा अवतरण गर्थे। विदेशी खेलाडीहरू सबै सामग्री आफैं लिएर आउँथे।
‘दैनिक २ सयभन्दा बढी विदेशी खेलाडीले आएर सोलो उडान गर्थे। पोखराका होटल र रेस्टुरेन्टलाई पनि फाइदा पुग्थ्यो,’ जलारीले भने, ‘नेपालमा पाराग्लाइडिङ गर्न आउने खेलाडी अचेल भारत र पाकिस्तानतिर लागेका छन्।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सुरक्षाका कारण पाराग्लाइडिङको एकल उडान रोकेको बताए।
‘पाराग्लाइडिङमा नियन्त्रणका लागि कुनै उपकरण हुँदैन। सुरक्षालाई ध्यान दिएर सोलो उडान रोकेका हौं,’ उनले भने, ‘पटक–पटक दुर्घटना भइसकेको छ। तत्काल सोलो उडान खुलाउने योजना छैन।’ अहिले पाराग्लाइडिङमा सुरक्षाको पर्याप्त बन्दोबस्त भएको पहारीको दाबी छ।
उनी भन्छन्, ‘पाराग्लाइडिङ उडान भर्ने ठाउँ तोरीपानीमा हावाको चाप हेरेर पाइलटलाई निर्देशन दिन कर्मचारी छन्। उडान गरिरहेका पाइलटले रेडियो सेट बोक्न अनिवार्य गरिएको छ।’
आकाशमा उडान गरिरहेको पाइलटलाई हावाको चाप हेरेर दिशा परिवर्तन गर्न र तत्काल अवतरण गर्न सक्ने गरी प्रविधि जोडिएको पाइलट पहारीले बताए।
एकल पाइलट ओमित गुरुङका अनुसार पाराग्लाइडिङ साहसिक खेल भएकाले यसमा सधैं जोखिम रहन्छ। ‘पाराग्लाइडिङमा इन्जिन जोडिएको पखेटा हुँदैन, हावाको वहावका आधारमा आकाशमा उड्ने हो,’ उनी भन्छन्, ‘सरकारले पनि बुझ्नुपर्छ, यो साहसिक खेल हो। उपलब्ध भएसम्मको सुरक्षा बन्दोबस्त गरेर उडान गर्न दिनुपर्छ।’
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले पाराग्लाइडिङ व्यवसाय धरापमा पर्ने गरी विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको बताए।
‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनै सकेन तर पाराग्लाइडिङ व्यवसायलाई असर पार्यो,’ उनले भने, ‘विमानस्थल पनि चलोस्, पाराग्लाइडिङ पनि चलोस् भनेर हामीले हाम्रो व्यवसाय अन्यत्र सार्नुपर्यो।’
पाराग्लाइडिङ व्यवसाय संकटमा परेपछि यसबाट सबभन्दा धेरै मार पाइलटले बेहोर्नुपरेको पाइलट क्लबका सचिव हरि गिरीको भनाइ छ।
‘पाराग्लाइडिङ पाइलटको तालिम लिन र आवश्यक सामग्री खरिद गर्न २० देखि २५ लाख रूपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘एक वर्ष लगाएर तालिम लिँदा किनेको ग्लाइड तालिम उत्तीर्ण भएपछि काम लाग्दैन। व्यावसायिक रूपमा चलाउन नयाँ ग्लाइड किन्नुपर्छ।’
नेपालमा अहिले एउटा टेन्डम (पाइलट र यात्रु बस्न मिल्ने) ग्लाइडको मूल्य ४ लाख २० हजार रूपैयाँ पुगेको छ। युरो मुद्राको मूल्य बढेसँगै पाराग्लाइडिङका सबै सामग्रीको मूल्य बढेको उनको भनाइ छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/5.jpg)
पाराग्लाइडिङ गर्दा लगाउने हेल्मेटलाई कम्तिमा १८ हजार रूपैयाँ पर्छ। यतिका महँगा सामग्री बढीमा दुई वर्ष मात्र टिक्छन्।
हवाई खेलकुद संस्थाका अनुसार पोखरामा ६२ वटा पाराग्लाइडिङ कम्पनी दर्ता छन्। तीमध्ये ५० वटा मात्र चलेको अध्यक्ष भट्टराईले बताए। अन्यले नवीकरण पनि गराएका छैनन्।
भट्टराईका अनुसार पोखरामा पाराग्लाइडिङ क्षेत्रमा मात्र झन्डै दुई अर्ब रूपैयाँ लगानी भएको छ। यति धेरै लगानी रहेको साहसिक पर्यटन व्यवसाय अघि बढाउन सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ।
हाल पोखरामा टेन्डम र सोलो गरी २५० जना पाइलट छन्। कोभिडको समयमा पनि दैनिक तीन वटासम्म उडान गरेका पाइलट अहिले सातामा मुश्किलले दुईवटा उडान गर्दैछन्।
व्यवसाय चल्न नसक्दा पाइलट विस्थापित हुने अवस्था आएको छ।
पाराग्लाइडिङ व्यवसायलाई भविष्य बनाउन चाहेका ५० जना युवा हाल तालिम सकेर परीक्षाको तयारीमा छन्। व्यवसायको अवस्था यही रहे उनीहरूको भविष्य र लगानी पनि खेर जाने पहारीको भनाइ छ।
पोखराका पाराग्लाइडिङ कम्पनीहरूले प्रतिउडान आम्दानीको ६० प्रतिशत पाइलटलाई दिन्छन्। कम्पनीले पाइलट राखेको भए पनि प्रशिक्षण दिँदैन, उडानका लागि ग्लाइड पनि दिँदैन। ‘कम्पनीले नयाँ ग्लाइड किन्दैन, पाइलटले नै किन्नुपर्छ,’ पहारी भन्छन्, ‘कम्पनीले काम मात्र दिन्छ, बाँकी सबै बन्दोबस्त पाइलटले नै मिलाउनुपर्छ।’
पोखरामा सिजनमा पनि पाराग्लाइडिङ व्यवसाय चल्न नसकेपछि पाइलटहरू विदेश पलायन हुँदैछन्। यस वर्ष मात्र २० जना पाइलटले काम छाडेको पहारीले बताए। उनी भन्छन्, ‘यसको असर पोखराको पर्यटन व्यवसायमा मात्रै होइन, सरकारलाई पनि पर्छ।’
यी पनि पढ्नुहोस्: