नेपालबाट दुई वटा हात्ती कतार पठाउने तयारी भइरहेको छ।
यसका लागि बुधबार कतार एयरवेजको जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ।
विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार चार्टर्ड उडान बिहान ११ बजे भैरहवामा अवतरण गर्ने तालिका थियो।
तर, विमानस्थलमा भिजिबिलिटी कम भएर अवतरण हुन सकेन। जहाज केही समय आकाशमै होल्ड भयो।
'भिजिविलिटी कम भएकाले जहाज बिहान अवतरण हुन सकेन। होल्डिङ फ्युल लो भएकाले जहाज कलकत्ता डाइभर्ट भयो,' उनले सेतोपाटीसँग भने, 'कलकत्ताबाट फ्युल राखेर जहाज फेरि भैरहवाका लागि उडिसकेको छ।'
अबको केही समयमा जहाज भैरहवामा अवतरण हुने सूचना अधिकारी रावतले जानकारी दिए।
उनका अनुसार मंगलबार बिहान चितवनबाट भैरहवा विमानस्थलमा हात्ती ल्याइएको हो। बुधबार सम्बन्धित निकायहरूले विमानस्थलमै हात्ती हस्तान्तरण गरेर पठाउन औपचारिक कार्यक्रम समेत राखिएको छ।
त्यसपछि बुधबार नै दुबै हात्ती कतार एयरवेजको कार्गोमार्फत् कतार जानेछन्।
नेपालले यी दुबै हात्ती कतार सरकारलाई उपहार स्परूप दिएको हो।
नेपाल सरकारले २०८१ कात्तिक २ गते मन्त्रिपरिषदको निर्णय गरेको थियो। सोही अनुसार कतार सरकारले हात्ती लैजानका लागि बुधबार कार्गो उडान गरेको हो।