, धोबिघाट ललितपुर
बुवाका हातका ठेलाहरू
काँधका मैलाहरु
मलाई उत्प्रेरणा लाग्दछ जहिल्यै।।
बुबाका पसिनाका सुबासहरु
चिन्ताका धर्साहरु
मलाई मार्गदर्शन लाग्दछ जहिल्यै ।
बुबाको पाइतालाका डोभहरु
पिँडुलाका पिडाहरु
मलाई सत्मार्ग लाग्दछ जहिल्यै ।।
बुबाको आँखाका दुःखहरु
बाध्यताका सुस्केराहरु
मलाई शब्दकोष लाग्दछ जहिल्यै ।।
बुबाको आशाका सम्झनाहरु
मेरा लागि देख्नुभएका सपनाहरु
मलाई प्रेरणा लाग्दछ जहिल्यै ।
बुबाले लुकाउनुभएका पीडाहरु
दबाउनुभएका इच्छाहरु
मलाई सहानुभूति लाग्दछ जहिल्यै ।
बुबाले कुल्चनुभएका रहरहरु
ढाक्नुभएका बाध्यताहरु
मलाई सहनशिलता लाग्दछ जहिल्यै ।।
बुबाका बाध्यताका पहाडहरु
समर्पणका सागरहरु
मलाई पाठशाला लाग्दछ जहिल्यै ।।
हो ।
आमा धर्ती हुन्,
आमा जननी हुन्,
आमा सृष्टिकर्ता हुन्,
आमा संसार हुन्।
आमाको महानता र महिमा अतुलनीय छ ।
सँगै, बुबाका प्रयासहरुपनि कम छैनन्।
कदापी कम छँदै छैनन्।
समर्पण यी शब्दहरु प्यारो बुबालाई ।।
बुबालाई नै ! मात्र बुबालाई नै समर्पित गर्दै यी शब्दहरु
फेरि पनि भन्दैछु म ...
बुबा खास लाग्दछ जहिल्यै।
बुबा गर्विलो आश लाग्दछ जहिल्यै ।।
बुबा सत्प्रयास लाग्दछ जहिल्यै ।।
बुबा खास लाग्दछ जहिल्यै ।।।।
३१ श्रावण २०७५