सन्दर्भः महिला हिंसा अन्त्य दिवस
सुन्दर रमाइलो सुदूरपश्चिममा पर्ने मेरो गाउँ।
सुन्दर अपि हिमालको काखमा पर्ने त्यो मेरो ठाउँ ।।
सुन्दर पवित्र त्यो खप्तडको काखमा बस्ने त्यो ठाउँ ।
सुन्दर प्रकृतिसँग ऋषिमुनी भुलाउने मेरो ठाउँ ।।
पवित्र महाकाली तटमा नै मेरो गाउँ रमाउँथ्यो ।
संसारसँग मिलेर सधैं मेरो गाउँ हाँस्ने गर्दथ्यो ।।
सबैमा मिलेर मेरो परिवार रमाउने गर्दथ्यो ।
दुःख, सुख गरेर खुशीमा मेरो परिवार चल्दथ्यो ।।
दस नङग्रा खियाइकन खुशी बनाउने मेरी आमा ।
बाबा पनि कम थिएनन् पैसा पठाउने दु:खमा ।।
जसोतसो खुशीमा घर चलेको थियो दु:ख सुखमा ।
रमाएकै थिएँ है साथीहरू बीच आमा कै काखमा ।।
भर्खर तेह्र वर्ष कि थिएँ रमाइलो थियो उमेर ।
खुशी थिएँ नि साथी बीच सबै सँगसँगै रमाएर ।।
वर्षात् ऋतुको महिना थियो है दिन पनि एघार ।
गृहकार्य गर्न गएकी थिएँ साथीको साथ पाएर ।।
थाहा कसरी होस् मलाई दुष्टहरू छन् त्यहाँ भनी ।
मानव भै मानवलाई चिथोर्छन् रे राक्षस सरी ।।
आयो दुष्ट पापी त्यो गर्यो है जो नगर्नु मलाई थियो ।
आयो राक्षस भै कुकर्म लुकाउन हत्या मेरो गर्यो ।।
हे मानव तिमी देवबाट कसरी राक्षस झैं बन्यौ ?
तिम्री आमा, छोरी, बहिनीसरी थिएँ किन त्यस्तो गर्यौ ??
नमार्नु थियो नि तिमीले कसरी रक्त पिपासु बन्यौ ?
मार्यौ गल्ती गर्यौ सबुत पनि मेट्ने प्रयास गर्यौ ।।
हेक्का होस् सबुत जति गरे पनि मेटिन्न भनिन्छ रे ।
हे सबुत नष्ट गर्नेहरू हो तिमी अझै ज्यूँदै छौ रे ।।
तिमीलाई थाहा छ अनि तिमी किन आज चुप छौ रे ।
पोल्छ तिमीलाई गल्ती गरे भनेर किन चुप छौ रे ।।
आज अखण्ड सुदूरपश्चिमका नाराहरू कहाँ छौ ?
पहिचान भनेर लड्ने हे न्यायप्रेमीजन कहाँ छौ ??
स्वायत्त राज्य भनेर लड्ने हे तराईवासी कहाँ छौ ?
गणतन्त्र भनेर नेपालै छाउने नेपाली कहाँ छौ ??
म चेली र सम्पूर्ण चेलीहरूमा अडिएको नेपाल ।
आधा संसार छाउने वा प्यारो जननीको यो नेपाल ।।
जुट है न्यायलाई मर्न नदेउ मेरो प्यारो नेपाल ।
न्याय पाउनुपर्छ है भन्ने हामी सबै जन नेपाल ।।