‘वुड अल द प्यासेन्जर्स ट्राभलिङ टु हङकङ अन फ्लाइट एफ.आर. ३४२१ प्लिज ह्याभ योर बोर्डिङ पास एन्ड पासपोर्ट रेडी फर बोर्डिङ फ्लाइट एफ.आर. ३४२१ नाउ बोर्डिङ एट द गेट २१’
अनुप हतार हतार गेट २१ मा पुग्छ।
दुई महिनाको बिदा सकाएर नेपालबाट जापान फर्कंदै थियो। उसको अनुहारमा कुनै चमक नै थिएन। उसको ध्यान त केबल एयरपोर्ट बाहिरसम्म छोड्न आएका आमा र दिदीहरूका मात्र थियो। एयरपोर्टभित्र पस्न लाग्दा धेरै रोएको पनि थियो अनुप आमाहरूको अगाडि तर के गर्नु जानु त उसलाई थियो नै।
नेपालबाट हङकङ र हङकङबाट टोकियो उसको फ्लाइट सेडुअल थियो। अनुप चाँडोचाँडो गरेर आफू चढ्ने प्लेन नजिकै पुग्छ र अन्तिम पटक धर्ती मातालाई प्रमाण गरेर प्लेनभित्र छिर्छ। बोर्डिङ पासमा लेखिए अनुसारको सिटमा गएर बस्छ। ऊ बस्नु अगाडि नै उसको ‘रो’मा तीन जना प्यासेन्जर बसिराखेका हुन्छन्।
झट्ट हेर्दा तीन जेनेरेसनका व्यक्तिहरू अनुपको रोमा थिए। नेपालबाट हङकङसम्मका लागि सहयात्री। उसँगै एउटी त्यस्तै चौबीस पच्चीसकी जापनिज महिला उनको छेउमा सायद उनकी सानी दुई–तीन वर्षकी छोरी र सत्तरी–पचहत्तर वर्षका उनको बुबा हुनुपर्छ। उनीहरू तीनै जनाले अनुपलाई देख्नेबित्तिकै टाउको निहुराएर अभिवादन गरे। यो कुरामा चाहिँ जापनिजहरूलाई सम्मान गर्नैपर्छ कि जस्तै रिस उठे तापनि आफ्नो शिष्टाचार गर्न कहिल्यै भुल्दैनन्। चाहे जतिसुकैको उमेरका किन नहोस्।
अनुप यो कुरामा खुसी भयो कि टोकियोसम्म चाहिँ जापनिजहरू नै साथी हुने भए भनेर। बिस्तारै प्लेनले टेक अफ गर्ने सुरसार गर्न थाल्यो। सबै प्यासेन्जरले आआफ्ना सिटबेल्ट बाँध्न थाले। अब बिस्तारै प्लेनले धावनमार्ग छोड्दै काठमाडौँको एक चक्कर लगाउन थाल्यो। अनुप अझै उसको फेमिलीलाई नै सम्झँदै थियो।
‘एक्सक्युजमी माथिबाट मेरो सानो ब्याग झिकिदिनुहुन्छ कि?’ उनले प्रस्ट नेपालीमा बोलेको सुन्दा अचम्म लाग्छ अनुपलाई।
‘भइहाल्छ नि।’ भनेर सिटबाट उठेर माथिबाट झोला निकालेर दिन्छ।
‘धन्यवाद।’ भनेर मिठो स्माइल गर्छिन्।
उनको मिठो बोली र मुस्कानले झनै प्रभावित भयो अनुप। प्लेनमा दिइएको खाना खाएपछि कोही सुत्नतिर लाग्छन् कोही कानमा एयरफोन घुसारेर आफूलाई मन पर्ने मुभी हेर्न थाल्छन्। उनकी सानी नानी र बुबा निदाई सक्न लागेका थिए।
‘एस्क्युज मि क्यान आइ ह्याभ ए ग्लास अफ वाइन प्लिज !’ भनेर क्रियुसँग माग्छिन् उनी।
अनुपलाई पनि के चाहियो र। ऊ पनि हात उठाएर मगाउँछ उसको लागि पनि।
‘तपाईं त नेपाली कस्तो राम्रो बोल्नु हुँदो रहेछ। कसरी सिक्नु भयो नेपाली? नेपाल घुम्नलाई आउनु भएको?’ भनेर प्रश्न गर्छ अनुप।
‘म जाइकामा जब गर्छु। म नेपाल बसेको सात–अठ वर्ष भयो। नेपाल तथा यहाँको मान्छेदेखि साह्रै प्रभावित भएको छु। तपाईंले तारिफ गरेजस्तो त बोल्न सक्दिनँ तर अलिअलि काम चलाउ मात्र हो।’ भनेर फेरि मुस्कुराउँछिन्।
‘अनि तपाईं कहाँसम्म पुग्न लाग्नुभयो नि?’ उनले अनुपलाई प्रश्न गर्छिन्।
‘म विगत छ वर्षदेखि जापानमा पढ्दै छु। यो मेरो अन्तिम वर्ष हो। अबचाहिँ केही गर्ने विचारमा छु। अहिले कलेजको छुट्टि भएकोले नेपाल आएको थिएँ।’ उत्तर दिन्छ अनुप।
‘त्यसले त अघि तपाईं फेमिलीसँग छुट्टिन लाग्दा रूनु भएको थियो। मैलेदेखि राखेको थिएँ तपाईंहरूलाई।’ भनेर भावुक हुन्छिन्।
‘निहोन दोकोनी सुनदेरूनो (कहाँ बस्ने हो जापानमा?’ वाइन पिउँदै प्रश्न गर्छिन्।
‘तोक्यो नो सिनजुकु (टोकियोको सिनजुकुमा)।’ उत्तर दिन्छ।
यो पाँच घन्टाको यात्रामा उनीहरू बिस्तारै घुलमिल हुँदै जान्छन्। उनले धेरै कुरा नेपाल र नेपाल संस्कृतिको बारेमा अनुपसँग सोध्दै र बीचबीचमा अनुपकै बारेमा पनि जिज्ञासा लिँदै जान्छिन्। अनुपले पनि यो बीचमा उनको बारेमा बुझ्दै जान्छ।
मायदा उनको नाम। एक्काइस वर्षकी हुँदा हाइस्कुल सकाएर कुनै संस्था मार्फत् नेपाल आएकी रहिछिन्। त्यस बेलाको नेपाल मोहले गर्दा जाइकामा आबद्ध भएर विगत सात वर्षदेखि त्यसैमा रहेर नेपामा बस्दै आएकी रहिछिन्। उनको सिटसँगै बसेका पुरूष उनको पिता नभएर उनका पति रहेछन्। उनीभन्दा पैँतीस वर्ष जेठो। यही कामको सिलसिलामा चार वर्ष अगाडि भेट भएर प्रेम हुँदै दुई वर्ष अगाडि विवाह गरेका रहेछन्। उनीसँगै भएकी सानी छोरी उनीहरूले जन्म दिएका नभएर ओखलढुंगा छँदा कसैले जन्म दिएर त्यसै बाटो छेउमा मिल्काएर गएका रहेछन्। जसलाई कानुनी रूपमा गोध लिएका रहेछन्।
‘होन्तोनी, सुबारासी कोतो दायो (सारै राम्रो काम।)’ भनेर उनलाई धन्यवाद दिन्छु।
‘आरिगातो (धन्यवाद)।’ भनेर मिठो मुस्कान छोड्छिन्।
‘वोनाका सुइता (भोक लाग्यो)।’ भन्दै सानी उनको छोरीले निद्राबाट ब्युँझेर भन्न थाल्छिन्।
‘नान्खा ताबेता बाख्खरी ज्या नाइनो (भर्खरै मात्र खाएको होइन?)?’ सानी छोरीलाई सम्झाउँछिन्।
अुनप ती आमाछोरीको वार्तालाप हेरी र सुनिरहन्छ। नेपालको कुन गाउँमा कसको कोखबाट जन्म लिएर पनि आज सात समुद्र पारी विदेशीलाई आमा भनेर भनेको देख्दा अनुपलाई फेरि एक पटक भाग्यको खेला हो भनेर सोच्न बाध्य तुल्याएको छ।
पाइलटको एनाउन्स अनुसार अबको केही मिनेटमै प्लेन हङकङ एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा थियो।
हङकङ एयरपोर्टभित्र सबै चेकजाँच सकिएपछि उनीहरू एयरपोर्टभित्र रहेको स्टारबक्समा गएर केही खान थाल्छन्। अनुप घरमा ऊ सकुशल हङकङ पुगेको कुरा मेसेज गरेर भन्छ।
उनीहरूले तीन घन्टा त्यही एयरपोर्टमा बिताउनु पर्ने थियो। अब बिस्तारै खाईवरी उनीहरू त्यहीँभित्र रहेको ड्युटी फ्रि सपभित्र घुम्न थाल्छन्। केही समयमा नै अनुप र मायदाको सानी छोरी हिसानो च्यान घुलमिल हुन्छन्। अनुपले हिसानो च्यानलाई लिएर यताउति डुल्न थाल्छ। नेपालबाट हङकङ आउँदासम्म एउटा के कुरामा उसको ध्यान बढी गएको थियो भने मायदा र उनको श्रीमान्बीच बोलचाल ज्यादै कम हुन्थ्यो। जति पनि बोलेका थिए, त्यसमा एक प्रकारको रूखो बोली प्रस्ट झल्किन्थ्यो। हामीहरू घुमिरहँदा पनि उनको श्रीमान् एउटा मेचमा गएर आफ्नो काममा नै बिजी थिए। मायदा र उनका छोरी के गरी राखेका छन् उनलाई केही मतलब नै थिएन।
हङकङमा ठुलो पानी परी राखेको हामीले एयरपोर्टभित्रैबाट प्रस्ट देखिराखेका थियौँ। अनुपलाई सानैदेखि पानी परेको र पानी परेको बेला रूझ्न रमाइलो लाग्नाले पनि ऊ त्यही पानी परेको हेर्दै बसिराखेको थियो।
‘वोआमे दाने (ठुलो पानी प¥यो)।’ भन्दै अनुपसँगको सिटमा आएर मायदा बस्छिन्।
‘सोदाने (त्यही त)।’ अनुप अझै बाहिरको दृश्य हेर्दै हुन्छ।
‘पानी परेको बेला पानीमा रूझ्दै रूँदा कसैले थाहा पाउँदैन नि थाहा छ?’, उनी अनुपसँग नै बोलिरहेकी थिइन्।
उनले यो कुरा भन्नु। उनको र श्रीमान्को त्यति संवाद भएको नदेख्नु र मुख्य कुरा उनको र उनको श्रीमान्को उमेरमा ठुलो अन्तर देख्नुबाट नै अनुपले यो अनुमान लगाउँछ कि दुई जनाबीच पक्कै पनि केही मतभेद छ भनेर। तर पनि उनले उनीहरूको पर्सनल कुरामा चासो लिनु त्यति उचित ठानेन र मायदाको कुरा सुनिरह्यौँ मात्र।
त्यत्तिकैमा अनाउन्समेन्ट हुन्छ, ‘गुड आफटर्नुन। दिस इज एन अनाउन्समेन्ट फर दि प्यासेन्जर ट्राभलिङ अन दि १२ः२५ फ्लाइज इ.जेड. ४२८९ टु टोकियो। दिस इज डि–लेड बि टेन आवर्स बिकज अफ व्याड वेदर।’
मौसमको खराबीले दश घन्टा प्लेन ढिलो हुने कारण पेसेन्जरहरूलाई एयरलाइनको तर्फबाट होटल प्रोभाइड गरिएअनुसार सबै जना होटलतिर लाग्छन्।
‘योखात्ता ! च्योत्तो दाके मो ... (राम्रो भयो। केही क्षण भए पनि ...)।’ भनेर मुस्कुराउँछिन्।
‘नानदे सोननानी उरिसि नानो (किन यति खुसी नि?)’ प्रश्न गर्छ अनुप।
‘तिमीसँग केही समय भए पनि सँगै बिताउन पाउने भएकाले नि। किन तिमी खुसी छैनौ र?’ उनी एकरत्ती नचलमलाई बोलिन्।
एयरपोर्ट नजिकैको होटलमा सबै यात्रुहरूलाई व्यवस्था मिलाइएको थियो।
‘म फ्रेस भएर लबिमै आउँछु। तिमी पनि त्यहीँ आउनु।’ भनेर उनीहरू छोरीलाई रूमतिर लिएर जान्छिन्।
अनुप उनीहरू गएको हेरिरहन्छ र उसको मनमा अनेकौँ प्रश्नहरू एक एक गरेर आउन थाल्छ। थाहा छैन किन हो मायदा जो बाहिर देखिन्छिन् तर भित्र पूरै भिन्न छिन् भन्ने अनुपलाई लाग्न थालेको छ र मायदाप्रति ऊ बढी प्रभावित हुँदै गइराखेको छ।
‘कस्तो एक्लै एक्लै पिइराखेको हो?’ उनले भन्दा अनुप झस्किन्छ।
‘तपाईं हराउनुभयो। त्यसैले एक्लै पिउँदै थिए तर मन र दिमागमा तपाईं नै हुनुहुन्थ्यो नि।’ जिस्केर भनिदिन्छ अनुपले।
‘होन्तोनी (साँच्चिकै हो?)’ भन्दै अनुपसँगैको बारको चेयरमा बस्छिन्।
‘हिजोसम्म म तिम्रो देशमा र तिमी मेरो देशमा थियौ। आज हामी यसरी भेटेर एउटै बारमा बसेर आआफ्ना कुरा गर्दे बस्नु पनि एउटा संयोग हुन गयो। समयले मानिसहरूलाई कहाँ र कसरी भेटाउँछ त्यो कसैलाई थाहा नहुने रहेछ। तर किन हो तिमीसँगको छोटो भेटमा पनि धेरै खुसी भएको छु। थाहा छैन तिमीमा त्यस्तो के छ अनुप !’ बियर पिउँदै मायदाले भनिन्।
उनलाई राम्रोसँग देखेको र हेरेको अहिल्यै थियो अनुपले।
‘आजभन्दा चार वर्ष अगाडि मेरो श्रीमान्लाई तिम्रै देश नेपालमा भेटेको थिएँ। ऊ मभन्दा सिनियर थियो। कामको सिलसिलामा नेपालका विभिन्न गाउँमा हामी पुग्न पथ्र्यो। उसको व्यवहारदेखि म साह्रै प्रभावित हुन थालेको थिएँ। मभन्दा उमेरले पाको छ भन्ने थाहा त थियो तर मलाई यो लाग्थ्यो कि जब मन मिल्छ अनि त्यसमा उमेरले केही फरक पार्दैन भन्ने। जस अनुरूप हामी सँगै बस्न थाल्यो र दुई वर्ष अगाडि विवाह पनि ग¥यौँ। विवाह भएको केही समयसम्म त ऊ ठिक थियो। तर जब म ऊसँगै छुट्टिमा जापान आएको थिएँ। अनि बिस्तारै उसको सबै बानी व्यवहार थाहा पाउँदै गएँ। उसको मभन्दा अगाडि दुईटा विवाह भएर डिभोर्स भइसकेको रहेछ। जसबाट तीन जना बच्चाहरू रहेछन्। मसँग विवाह गरेपछि पनि उसको अरू महिलाहरूसँग सम्बन्ध कायम नै रहिरह्यो। मैले यसको विरोध गरेमा रक्सी खाएर मलाई नै हातपात गथ्र्यो। पछिपछि मलाई के लाग्न थाल्यो भने हाम्रो उमेरको अन्तरसँगै हाम्रा सोचाई विचारमा पनि धेरै अन्तर छन्।’ उनका सुन्दर आँखा रातो पार्दै बियर पिउन थाल्छिन्।
‘ममा के कमी छ र मेरो श्रीमान् बाहिर अरू महिलासँग रात बिताउन जान्छ होला?’ अनुहार अँध्यारो पार्दै प्रश्न गर्छिन् अनुपलाई।
अब अनुपले उत्तर दियोस् त के जसले गर्दा मायदालाई सान्त्वना मिलोस्।
‘थाहा छ अनुप, यो हिसानो च्यान नभएको भए म उल्लै सुसाइट गरी सक्थे।’ ग्लासमा बचेको बियर एकै घुड्कोमा पिउँछिन्।
‘मायदा लाइफ भनेकै फुल अफ स्ट्रगल हो। भोलि अवश्य राम्रो हुन्छ। तिमीलाई बियर बढी पनि भइसक्यो। सायद निद्राले पनि होला। जाउ एकछिन रेस्ट गर। अबको चार घण्टापछि एयरपोर्टमै भेटौँला।’ भन्दै अनुप जान खोज्छ।
‘गुड इभिनिङ सर, तपाईंलाई जस्ट रिमाइन्ड गराउन कल गरेको छु। तपाईंको एयरपोर्ट रिपोर्टिङ टाइम अबको एक घण्टामा छ।’ होटेल को रिसेप्सनबाट कल आउँछ।
अनुप उठ्न खोज्दा मायदा उसको छातीमा टाउको राखेर सुतिराखेको पाउँछ।
‘मायदा चाँडो गर होटेलबाट कल आइसक्यो। डु फास्ट फेरि तिम्रो श्रीमान्ले थाहा पाउला।’ अनुप मायदाको लुगाहरू बटुलेर फ्रेस हुनलाई भन्छ र ऊ आफै आफ्ना लुगा लगाउन थाल्छ।
एयरपोर्टमा सबै चेकजाँच सकिएपछि अब टोकियोको लागि उनीहरू एयरपोर्टमै कुन थाल्छन्।
‘म धेरै खुसी छु अनुप। धेरै वर्षपछि म यसरी आफुलाई हलुका फिल गरिराखेकी छु। यो सब मात्र तिम्रो कारणले सम्भव भएको छ।’ मायदा टाउको झुकाएर भन्छिन्।
टोकियो जाने सबै पेसेन्जेरहरू गेट नं. ज्ञद्ध मा लाइन लाग्न थाल्छन्।
‘अनुप तिमीले हिजो मैले भनेको कुरामा के विचार ग¥यौ? हामीसँग समय थोरै छ।’ उनी अनुपको आँखामा हेर्दै सोध्छिन्।
‘दिस इज द फाइनल बोर्डिङ कल फर प्यासेन्जर मिस्टर अनुप, मिसेस मायदा एन्ड हर डटर हिसानो फ्लाइङ टु टोकियो अन फ्लाइट इ.जेड. ४२८९। फोर फ्लाइट इज रेडी टु लिभ प्लिज गो टु गेट १४ इमिडियट्ली। द डोर अफ द प्लेन विल क्लोज इन ५ मिनट्स। फाइनल बोर्डिङ कल फर प्यासेन्जर मिस्टर....’ भनेर एनाउन्स भइरहन्छ।
अनुप मायदाको हात समातेर मायदाको छोरीलाई बोकेर टोकियो उडेको प्लेन भ्श् द्धद्दडढ लाई एयरपोर्टभित्रैबाट हेरिरहन्छन्।