कथा
धनमाया खाना खाएर पिँढीमा एक्लै टोलाएर बसेकी छे। उसका आँखा बिझाएर खपिनसक्नु छ, ज्यानमा कुनै ऊर्जा छैन। हिजो राति पनि १ बजे नै बिउँझिई। कोरोना भाइरसका कारण ज्वरोले छोरो इन्तुन चिन्तुको अवस्थामा पुगेको डरलाग्दो सपना देख्दादेख्दै ऊ झस्केर उठिछ। त्यसपछि के के सोच्दा सोच्दै पूरा रात छटपटीमै बित्यो उसको। दुई महिनादेखि ऊ राम्ररी निदाउनै सकेकी थिइन।
निदाओस् पनि कसरी! आफ्ना प्राण प्याराको पखेरु अरबको मरूभूमिमा उडेको खबर दुई महिनाअघि पाएपछि उसको शिरमाथि आकाश बज्रेको छ। उसले टेक्ने धर्ती भासिएको छ। तै पनि सारा पीडा अनि दु:खलाई मनभित्रै दबाउन अनि अरूका सामू आफूलाई 'नर्मल' देखाउनुको विकल्प उसले देखेकी छैन।
अन्तिम पटक मुख हेर्न त के पतिको लास स्वदेश झिकाएर काजकिरिया समेत गर्न पाइन। प्रयास नगरेकी त कहाँ हो र, उसको शव ल्याउँदा लाग्ने खर्च र हुने झन्झट थाहा पाउँदा ऊ त्यसै गल्न बाध्य भई। वरिपरि चुलबुल गर्ने आठ वर्षको छोरो मोन्कु (मोहन कुमारलाई उसले माया गरेर बोलाउने नाउँ) बाहेक हारगुहार गर्नलाई उसका कोही भएनन्।
जन्मेको २ वर्ष नहुँदै बितेका उनका बुवाको अनुहार उनको मस्तिष्कमा बस्नै पाएन। केही वर्षमा आमा पनि बेपत्ता भइन्। कहाँ गइन् कसैले भन्नै सकेन।
दिदी र दाजुहरूले नै उसका पखेटा हालिदिएका थिए। १६ वर्ष नपुग्दै आफूभन्दा एक वर्ष जेठो सानेको मायाजालमा परी। एक दिन झिसमिसेमै घरका कसैलाई सुइँको नदिई सानेसँगै टाप कसेदेखि माइती फर्केर गएकी छैन।
न माइतीले नै उसको खोजखबर गरे। उसको संसार भन्नु साने नै थियो। आफ्नो वर्तमान र भविष्य उसैलाई सुम्पेर ऊ सानेको पछि लागेर काठमाडौं आएकी थिई।
केही समय अन्यत्रै डेरामा बसे। ज्यालादारी गरेर जीविका चलाए। तीन वर्षअघि मनोहरा खोला किनारको सुकुम्बासी बस्तीको छेउमा आएर सानो भुइँ छाप्रो हालेपछि उनलाई त्यहीँ छोडेर उनका खसम मजदूरी गर्न कतार हानिए।
जिन्दगीको सम्पूर्ण सहारा मानेर पछि लागेको त्यही मान्छेले सधैंलाई छोडेर गएपछि धनमायालाई एक निमेष यो धर्तीमा बाँच्ने रहर छैन। तै पनि छोराको मायाले उसलाई मर्न दिएको छैन।
ऊ छोरालाई नजिकैको प्राथमिक स्कुल पठाएर दिनभरि घर निर्माणको काममा मजदूरी गर्दैआएको छे। लोग्नेले चाडबाड बाहेक अरू बेला पैसा पठाउँदैनथे। पुरानो ऋण तिरेर अलि अलि जोगाउँदै काँठतिर भए पनि घडेरी किन्ने योजना उसलाई सुनाएका थिए। सानेले देखाएको त्यो आशा उसको अवसानसँगै दूर क्षितिजमा विलिन भएको छ।
सुकुम्बासी बस्तीमा टाउको लुकाउन पाए पनि कुन दिन उठिबास हुन्छ भन्नेमा सधैं त्राहिमाम भएर बस्नु परेको छ। पहिले पनि ३-४ पटक डोजर ल्याएर छाप्रा भत्काउन नखोजेका होइनन्, तर बस्तीकाले लालाबालासहित डोजरकै चक्कामुनि बसेर आन्दोलन गरेपछि प्रशासनले छोडिदिएको हो।
वरपर कोही भने नाम मात्रैका सुकुम्बासीहरू छन्। कसै कसैले त पक्की घर नै ठड्याएका पनि छन्। त्यही देखाउँदै टिभीले ''सुकुम्बासीको नाउँमा हुकुमबासीको रजाइँ'' भन्दै समाचार बजाउँछ कहिलेकाहीँ। त्यो हेरेपछि उनलाई नरमाइलो लाग्छ। अब फेरि डोजर आउने भो भन्ने कुराले उनको मनमा चिन्ता थपिदिन्छ।
सम्पत्तिको नाउँमा धनमायाको छाप्रोमा थोत्रो एउटा ट्याङ्का, छोराको स्कुले आकाशे सर्ट र नीलो पाइन्ट, जडौरी दुई चार जोर छोराका र आफ्ना लुगा, खाना पकाउने र खाने केही भाँडाकुँडा, एउटा सुकुल, पल्लासमेत च्यातिइसकेको सिरक डस्ना छन्।
घरमा अलि किम्ति सामान भनेका लोग्नेले एक वर्षअघि बिदामा आउँदा ल्याएका दुइटा ब्लाङ्केट र २१ इन्चको टिभी छ। आफ्नै घर बनाएपछि ओढ्नुपर्छ भनेर उसले ब्ल्याङ्केट जोगाएर राखेकी छ।
अनि कुरा गर्न पाइन्छ भनेर लोग्नेले नै फेसबुक जोड्देको एउटा मोबाइल पनि उसँग छ। त्यो पनि दुई चार मिनेट कुरा गर्दैमा पैसाको सत्यानाश भएर हैरान पाउँथी। त्यै पनि अब त फोनमा कुरा गर्ने नै उसको को छ र।
नगरपालिकाले जोडिदिएको सार्वजनिक धारोमा हप्ता दिनमा बल्ल दुई घण्टा पानी आउँछ। त्यो पनि कतिपल्ट पालो नै नआइकन फर्किनु परेको छ। मनोहरा खोलाको पानी नजिक गइनसक्नु दुर्गन्धित छ तै पनि आपतै पर्दा किनारामा बालुवामा खाल्डो पारी रसाएको पानी घैंटोमा उघाएर ल्याउँछे। लोग्नेले ओभरटाइम परेको बेलामा त उत्साहित हुँदै जारको पानी किनेर खानु, छोरोलाई हैजाले भेट्ला भन्थे। अब त त्यसो भन्ने मान्छेले पनि धर्ती छोडे। धनमाया लामो सुस्केरा हाल्छे।
नजिकैको मनोहराले पिउने पानी पो दिँदैन। बाढी आएका बखत उसको भएका थोत्रा भाँडाकुँडा र लत्ता कपडा नै भेल पसेर कति चोटि बगाएको छ। तिनै सामानको फेरि जोहो गर्न उसले तीन महिना हाड घोट्नु पर्छ।
विश्वभरि कोरोनाको महामारी फैलेको खबर टिभीमा सुने पनि यसबारे उसले धेरै बुझेकी छैन। देशमा सबैतिर बन्द छ भन्ने मात्र सुनेकी छे। ठेकेदारले लकडाउन छ काममा नआउनु भनेर महिना दिनअघि नै खबर गरे पनि फेरि कहिले बोलाउने टुंगो नहुँदा उसलाई चुलो बाल्न समस्या पर्न थालिसकेको छ। मनमा चिन्ताका अनेकौं बादल मडारिइरहेका छन्।
छोरो बिरामी हुँदा ओर्दा ओखती किन्न बचाएर राखेको थोरै ज्याला उसले एक हप्ताअघि नै दुई चार दिन पुग्ने चामल र दाल तरकारी किनेर सकिसकेकी छे।
रित्ता भाँडाकुँडा बाहेक अब त घरमा खानेकुरा खासै बाँकी छैन। थोरै जोगिएको चामलबाट जाउलो पकाएर आमा छोराले आधा पेट खाँदै केही दिनदेखि धान्दै आएका छन्।
राहत बाँड्न आउँछन् रे भन्ने सुन्न थालेको त धेरै भइसक्यो तर पनि अहिलेसम्म कोही नाकमुख देखाउन आएको छैन। सहरका कुनै कुनै ठाउँमा राहत बाँड्न थालेको टिभीमा नदेखेकी होइन तर त्यहाँसम्म जान पुलिसले दिँदैन।
दुई आमा छोराको ज्यान रोगले भन्दा पनि भोकले पो जाने हो कि भन्ने डरले उसको मनमा डेरा जमाएको छ। कसैगरी ज्यान गयो भने बल्ल पो हाम्रो पनि समाचार बन्ला कि ! अनि ठूल्ठूलो स्वरमा समाचारले भन्ला— मनोहरा सुकुम्बासी बस्तीमा आमा छोराको मृत्यु ! दुवैको मृत्यु कोरोनाका कारण भएको आशंका ! वरिपरिका बासिन्दा त्रसित !
कालो कुकुर र त्यसका छाउरा कराएको आवाजले एकछिनलाई उसको एकाग्रता भंग गरिदिन्छ। छाप्रा अगाडि नै आएर ती कुइँकुइँ रोएको विरक्तलाग्दो आवाजले उसलाई बेचैन बनाएको छ।
धनमायाको कोमल मनले भन्छ, ''विचरा हामी आमा छोरा झैं यिनको पनि पापी पेटले खाना मागिरहेको होला ।''
स्कुल बजार सबै बन्द भएकाले वरिपरिका केटाकेटी जम्मा भएर लकडाउनको पर्वाह नगरी बाहिर खेल्न निस्केका छन्। हुन त त्यहाँ लकडाउन पालना गराउने प्रहरी, प्रशासन नै कहाँ पुग्छ र । मोन्कुका केही साथीभाइ आ-आफ्ना अभिभावकले किनिदिएका खेलौना र मिठाइ देखाएर उसलाई लोभ्याउँछन्। तर ऊ आमालाई यो चाहियो, त्यो चाहियो भन्दैन।
उसका खेलौना भन्नु नै काठका टुक्रा, खोलाबाट खोजेर ल्याएका आकार मिलेका मट्यांग्रा, आफैंले बनाएका कागजको डुंगा र हवाइ जहाज छन्। त्यति हुँदा पनि ऊ आफूलाई सम्पन्न ठान्छ। आमालाई देखाउँछ र तीसँग खेलेर समय कटाउँछ।
बेलाबेलामा भोक लाग्दा छिमेकीसँग पैंचो मागेर ल्याएको च्यूरा आमाले बट्टामा राखिदिएकी छिन्। निल्न गाह्रो भए पानी पिउन भनेकी छिन्। आमाले काम पाएका बखत त ऊ चाउचाउ र बिस्कुट खान पाउँथ्यो।
उसका बाले कक्षामा पहिलो भयो भने अब आउँदा एउटा घडी र खेलौना गाडी ल्याइदिन्छु भनेका थिए तर ती सामान नआउने भयो भन्ने उसले थाहा पाइसकेको छ। त्यसले उसलाई केही दुखित बनाए पनि बाले छोडेर गएकोमा उसलाई मतलब छैन। अर्थात् बा अब घर आउँदैनन् भन्ने नै उसले बुझेको छैन। आमाले घरिघरि आँसु झारेको देख्दा भने उसलाई झर्को लाग्न थालेको छ ।
हुनेखानेका छोराछोरीकहाँ जस्तो मनोरञ्जन र शिक्षा लिने अनेक आधुनिक साधन मोन्कुसँग छैन। नयाँ शैक्षिक सत्र सुरू नभएकोले किताब पनि पाइसकेको छैन। जाँच दिएर बसेको ऊ कहिले नयाँ कक्षामा जान पाइएला भनेर व्यग्र प्रतीक्षामा छ।
'यसपालि नि सप्पैलाई जित्छु आमा' भनेको छ उसले। पढाइ राम्रो भएकोले सर र मिसहरूबाट धेरै माया र स्याब्बासी पाएको छ। कापी पेन्सिल कहिल्यै किनिदिनु पर्दैन। आफैंले पाएका पुरस्कार र उपहारले नै टारेको छ अहिलेसम्म।
छोराको त्यही उपलब्धि धनमायाका सारा पीडामा दल्ने मल्हम भएको छ । उसले सपना देखेकी छ, अब आफ्नो सासमात्र अड्याएर भए पनि छोरालाई दह्रो गरी खुट्टा टेकाउने। खासमा भन्नुपर्दा ऊ पढेकै स्कूलको हेडमास्टर भएको हेर्ने उसको धोको छ ।
बाटोतिर खेलिरहेको छोरो भोकले अँध्यारो मुख लाउँदै आमा छेऊ आइपुग्छ। ऊ हत्तपत्त एक जग पानी र पातलिएको साबुनको टुक्रा ल्याएर छोरालाई मिचीमिची हात धुन लगाउँछे । हात नधोएमा कोरोनाले भेट्छ भन्ने उसले हिजोआज खुबै सुनेकी छे । अपराधी भाइरसले आफ्नो सपना निमोठ्ने हो कि भन्ने आशंका मात्रले पनि उसको मनमा आँधी ल्याइदिन्छ।