किशोरावस्थाले हावाहुरी जस्तै अनुशासनहीन भएर पहिलो पल्ट मेरो ढोका ढकढकाएको थियो। मानौँ एउटा अत्यन्त मिल्ने तर उपद्र्याहा साथीजस्तो। त्यसलाई राम्रोसँग चिन्न नपाउँदै त्यो अनायास अलप भएथ्यो मेरो काँधमा जिम्मेवारीको ठुलो भार भिराएर। वयस्क मान्छेहरूको विशाल भिडमा मलाई हुर्याएर पछारेको थियो। अनि केही खबर नगरी त्यो लुसुक्क विलुप्त भयो।
जीवनको डुंगामा यति पर आएर हेर्दा किशोरकालका भावना र घटनामा तर्क र अर्थ खोज्नु निरर्थक हुन्छ। आजको कसीमा त्यसलाई हेर्दा नितान्त सतही र मौसमी लाग्दो हो। कतिलाई ती दिनहरू सम्झेर हाँसो उठ्दो हो त कतिलाई ग्लानिभाव आउँदो हो। अरू जेसुकै भए पनि किशोरावस्थाको निश्छलता र निष्कपटतामा मलाई भने अलिकति पनि सन्देह छैन।
हाई-स्कुल पढ्दाताका म बसेको ठाउँ र आसपासबाट बिहान विद्यार्थी र कर्मचारीहरू चढ्ने गाडी प्रायः एउटै हुन्थ्यो। त्यसको कारण के भने त्यस भेगबाट मूल बजार छिर्ने गाडी सीमित हुन्थे। बिहानको गाडी केही गरी छुट्यो भने अर्को गाडी आउन दिउँसोसम्म कुर्नुपर्थ्यो। त्यसैले बिहान गाडीमा यात्रुहरूको भिड हुन्थ्यो। तिनको अनुहार परिचित हुन्थ्यो भलै प्रायसँग चिनजान थिएन।
त्यसरी मैले साधनालाई भेटेको हुँ। पहिलो चोटि भेट हुँदा साधना कस्ती थिई भनेर मलाई सम्झना छैन। ऊ केवल एउटै गाडीकी सहयात्री थिई जस्तो कि सुष्मा, विजय, सरकारी जागिरवाली महिला वा अरू दैनिक रूपमा चढ्ने अनुहारहरू। साधना मेरो लागि सामान्य केटी थिई। हाम्रो चिनजान थिएन त्यसैले बोलचाल हुने कुरा भएन।
तर दैनिक बिहान एउटै गाडीमा यात्रा गरिरहँदा मेरो मनको एउटा छेउमा अपनत्वको भाव पलाउन थाल्यो। त्यो कुनै हठात् वा नियोजित रूपमा उत्पन्न भएको भावना थिएन। एउटा त्यस्तो विन्दु आयो जब साधनाले गाडीमा उत्रे नउत्रेको म ख्याल गर्न थालेँ। केही गरी ऊ र म सँगैको सिटमा बस्न पुग्यौँ भने मेरो मनमा हर्षको सीमा हुन्नथ्यो। कुनै दिन ऊ आएकी छैन भनेँ दिनभर मलाई थकथक लाग्न थाल्यो। पत्तै नपाई म त्यो सामान्य केटी साधनासँग आकर्षित हुन थालेँ। सागरमा ज्वारभाटा उर्ले सरी मेरो हृदयमा भावनाका लहरहरू उर्लन थालेका थिए।। राति अबेलासम्म जागा रहेर म उर्दूका प्रेमका कविताहरू रट्दथेँ।
म छटपटाउन थालेँ कारणको खोजीमा। के कारणले मलाई साधना मन पर्न थाली? कुनै अप्सरा वा सुन्दरीको जस्तो उसको रूप थिएन। बोलचाल नभएको मान्छेको के कुराले मलाई तान्यो भनेर म गमिरहन्थेँ। उसको झलक पाउन भोलिको पर्खाइमा बसिरहन्थेँ। पर्खिनु जति कष्टप्रद कुरा दुनियाँमा केही छैन। आफ्ना कुराहरू उसलाई व्यक्त गर्न मसँग एक चिम्टी पनि साहस थिएन।
यदि साधनाको कायाप्रति मेरो आकर्षण थिएन भनेर मैले भनेँ भने त्यो झुट हुन्छ। उसको मिलेको जीउडाल थियो वसन्तमा ढकमक्क गुराँस फुलेजस्तो। आँखाहरू धीर र भलाद्मी थिए। जसै तिनमा चञ्चलता छाउँथ्यो, ती आँखा मात्र रहन्नथे। ती ज्योतिपुञ्ज बन्दथे। लुकीलुकी पल्याकपुलुक तिनलाई म हेर्दथेँ। र, मलाई प्रिय लाग्थ्यो उसको मुस्कान। त्यो चित्ताकर्षक मुस्कान, जसमा कुनै जालझेल थिएन।
मलाई साधनाको सबभन्दा मन परेको भनेको सादगी थियो। उसको परिधान त्यस्तो विशेष थिएन। तर कति राम्रो सुहाउँथ्यो उसलाई। म शब्दमा यहाँ बयान गर्न सक्दिनँ। उसको भावभङ्गीमामा कृत्रिमताको सानो अंश पनि थिएन। उसले पाइला चाल्दा, हात चलाउँदा र अरूसँग बोल्दा म महसुस गर्दथेँ उसको कोमलता र करुणाको भाव। मानौँ ऊसँग तिनको अजस्र धारा छन्। किशोरावस्थाको त्यस उत्कण्ठाले म कल्पन्थेँ कि साधनाको त्यो कोमलता र करुणालाई महसुस गर्ने प्राधिकार केवल मसँग मात्र छ।
एक दिनको कुरा हो, साधना सधैँ झर्ने ठाउँभन्दा वरै झरी। झ्यालबाट म हेरिरहेको थिएँ। त्यतिकैमा विजय पनि झर्यो। केही पाइला पर हिँडेपछि साधनाले विजयको हात समाती जसरी प्रेममा परेकी कुनै नवयौवनाले आफ्नो प्रियतमको हात समाउँछे। मेरो आकाश खस्यो। सुष्मा ठट्यौलीमा अरू केटीहरूसँग भन्दै थिई, ‘एउटै गाडीमा चढ्दाचढ्दै साधनाको विजयसँग ट्रु लभ पर्यो।’ अरू आवाज मैले सुनिनँ। मेरो संसार अँध्यारो भयो। मुटु छियाछिया पर्यो।
जसै किशोरावस्था मलाई एक शब्द पनि सोध्दै नसोधी हरायो, मेरो काँधमा घरको जिम्मेवारी थपिन थाल्यो। त्यस बेला एउटा लहर थियो विदेश जाने। मैले चिनेका मेरो उमेर समूहका लगभग प्रायः सबै विदेश पुगिसकेका थिए। दुई/चार अक्षर पढेकाले बाहिर गएर शारीरिक परिश्रमवाला गर्नु पर्ने काम गर्न मेरो अभिमानले दिँदैनथ्यो। घरमा मैले वरको सिन्को पनि पर सारेको थिइनँ। तर त्यो परिवेश र लहरले मलाई पनि विदेश हुर्याएर छोड्यो। मैले युके र अस्ट्रेलियाको लागि कोसिस गरेँ। अनेक कारणले त्यो सम्भव भएन। अन्तिममा जापानको लागि तारतम्य मिल्यो। त्यहाँको हन्डर-ठक्करले मलाई साथीभाइ र आफन्त सबैजनाको मुखौटोपछाडि लुकेको वास्तविक अनुहार चिनायो।
डिसेम्बरको अन्तिम साता मेरो बिदा थियो। म बसेको ओसाका सहरबाट घुम्न भनेर टोकियोतिर लागेको थिएँ। मेरो हाकिम वातानाबे, जो मभन्दा दश वर्ष जति कान्छो थियो, चेतावनीका साथ इमेल लेखेको थियो कि बिदामा भए पनि ल्यापटप साथमा राख्नु र अह्राएको काम समयमै पूरा गर्नु।
जाडो बढेर थामिनसक्नु चिसो थियो। जुन रेस्टुरेन्टमा म कफी खान पुगेको थिएँ, त्यसका मालिक रोबिन जी एक जना सफल नेपाली युवा उद्यमी रहेछन्। कुनै समारोहको माहौल थियो। जो जति रेस्टुरेन्टमा आएका छन्, सबैजनासँग उनी बडो आत्मीय भावमा कुरा गरिरहेका थिए। मसँग पनि फरासिलो भएर छोटोमा आफ्नो विगतको संघर्ष र सफलताको कथा सुनाए। उनका पत्नी र दुइटी छोरीहरू रहेछन्। अरू तीन वटा होटेलहरू पनि उनको स्वामित्वमा थिए।
मैले कफी अर्डर गरेँ। वातानाबेको नयाँ इमेल आएको रहेछ। म मनमनै उसलाई गाली गर्दै फोन हेर्दै थिएँ। त्यतिकैमा रोबिन जी आफ्नी जीवनसंगिनीसहित प्रत्येक टेबुलमा संक्षिप्त शिष्टाचार गर्दै गए। परबाट हेर्दा उनकी पत्नीले जापानी पहिरनमा सजिएको देखेँ। त्यो नीलो रंगको कपडा थियो अनि सेतो बुट्टा भएको। त्यो केको बुट्टा भनेर टाढाबाट मैले ठम्याउन सकिनँ। जसै उनीहरू म भएको टेबुलमा आइपुगे मैले स्पष्टसँग देखेँ कि त्यो बुट्टा पैँयौँको फूलको थियो।
मैले पुलुक्क ती महिलालाई हेरेँ। उनको स्थूल जीउ थियो।
‘पहिलो चोटि हामीलाई सत्कारको मौका दिनुभएजस्तो लाग्यो। बसाइ कता छ?’
‘ओसाका,’ मैले छोटो उत्तर दिएँ र पहिलो चोटि उनको अनुहारमा राम्रोसँग मेरो नजर पर्यो। ती आँखाहरू कतै देखेको महसुस भयो। धेरै अघि कुनै सिनेमामा वा कुनै पुस्तकमा छापिएको तस्बिरमा देखेको आँखाजस्तै। केही निमेष पनि नबित्दै मलाई झल्याँस्स भयो कि यी तिनै आँखाहरू हुन्, जसलाई सम्झेर मैले किशोरकालमा कविताका पङ्क्तिहरू रचेथेँ।
मैले सोच्दासोच्दै उनीहरू ‘ल इन्ज्वोइ गर्नुहोला’ भन्दै अर्को टेबुलतर्फ लागे।
यसरी जीवनको अनपेक्षित मोडमा अचानक मैले साधनालाई फेरि भेटेँ। अँध्यारोमा मिलिक्क बिजुली चम्किएर एक क्षणको लागि उज्यालो बनाएर फेरि बिलाएजस्तै। करिब पन्ध्र वर्ष जति पछि। सिंगो युग बितिसकेको थियो। मेरो मानसपटलको सन्दुकमा उसका स्मृतिहरूलाई दबाएर ताल्चा लगाएर थुनिदिएको थिएँ। यतिका वर्षपछि त्यो ताल्चा तोडियो। त्यस सन्दुकका स्मृतिहरू असरल्ल भए। तिनीहरू पहिले जतिकै ताजा र स्निग्ध मैले पाएँ।
कस्तो बदलाव आएको! कहाँ मैले चिनेको किशोरकालकी साधना अनि कहाँ यो सम्पन्न व्यापारीकी अर्धाङ्गिनी साधना। म कसरी मनलाई सम्झाऔँ कि यो प्रौढतातिर लम्केकी महिला मेरी त्यही एकातर्फ प्रेमकी नायिका हो। समयले उसको कायामा चिन्नै मुस्किल पर्ने परिवर्तन ल्याउँदा पनि उसको सादगीलाई फेर्न सकेको रहेनछ। म साधनालाई सोध्न चाहन्थेँ कि यतिका वर्षमा कति चोटि मेरो झझल्को आयो, कति चोटि मलाई सपनामा देख्यौ! तर यथार्थ तीतो थियो। साधनाको लागि जसरी किशोरकालमा म अरूजस्तै सामान्य र अनजान केटो थिएँ, अहिले पनि अरूसरह आम मानिस थिएँ!
मलाई त्यहाँ बस्न मन लागेन। म रेस्टुरेन्टबाट फटाफट निस्किहालेँ।
बाहिर बाटोभरि मानिसको भिड थियो। संसारकै सबैभन्दा धेरै मानिसहरू बस्ने सहर थियो त्यो। किशोरकिशोरीहरू अंगालोमा बाँधिएर हिँडिरहेका थिए। त्यत्रो अथाह मानव सागरमा म एक्लो थिएँ। फगत एक्लो।
त्यसपछि म कहिल्यै पनि फर्केर टोकियो गइनँ।