हारेर भाग्दिनँ म
स्वाभिमानलाई धितो राखी
युद्ध मैदानबाट
म मरुँला बरु
आत्मसमर्पण गर्ने छैन
गर्ने छैन सम्झौता
आत्मसम्मान भत्कने गरी।
मलाई लाछी भन्नेहरू
आफै लाचार भइसके
जिन्दगीको दौडादौडीमा
दौड हारिसके
रोएर बाँच्छन् तिनीहरू
भावी योजना गुमाई
वर्तमानमै हराएका छन् तिनीहरू
सपनाको महल ढलेपछि।
म उज्यालो खोजिरहेछु
अन्धकारसँग प्रतिकार गर्दै
मलाई रैती ठान्नेहरू
दास मानसिकताले ग्रसित छन्
तिनीहरू ममाथि शासन गर्छन्
म पुस्तैनी शासित छु
मैले शासक ढाल्नलाई
हातहरू उठाइसकेँ
बोलीहरू फुटाइसकेँ
म विजयको झन्डा फहराउने छु
शासकहरूको पतनपछि।
मलाई खुला आकाश चाहिएको हो
म मुक्त जीवनका लागि
संघर्षमा होमिएको हो
मलाई नचुट निरङ्कुशताका लट्ठीहरूले
मलाई नबाँध दासत्वका दाम्लोहरूले
मेरो आयु ननाप तिमी
म तिम्रो आयु नाप्नेछु अब
तिमी रोइ बस्ने छौ
पासा पल्टिएपछि।
तिमीलाई कठघरामा उभ्याएर
सावाँ-ब्याज असुल्ने छु म
मसँग दानवता छैन
बाँच्न दिनेछु तिमीलाई म
तिमीलाई पश्चात्तापमा जलाई
अपराध महसुस गराउने छु म।
म भुइँमान्छेको गीत गाउँदै छु
तिमी राजा महाराजाको प्रशस्ति गाउँदै छौ
तिमी अन्धभक्त बनेको किन?
ख्वामितहरूको पाउ छोई
तिमीलाई हेक्का रहनु पर्ने
मालिकले तिमीलाई दाइँरहेको छ
तिमी आँखा चिम्लेर
हलो तानिरहेका छौ।