रातको ९/१० बज्दै थियो, सिरानीमा रहेको फोन बज्यो। यसो हेरेँ नयाँ नम्बर थियो। फोन उठाएँ। उताबाट ‘हेल्लो हेल्लो! के छ, सन्चै हुनुहुन्छ?’आवाज आयो।
मैले आफू सन्चै भएको बताउँदै ‘हजुर को बोल्नु भो?’ सोधेँ।
‘म सुजिता बोलेको धादिङबाट हजुर,’ फेरि उनले भनिन्, ‘खान खानु भो?’
मैले ‘उम खाएँ’ भनेँ र उसलाई पनि खाए नखाकएको सोधेँ।
म एकछिन अलमलमा परेँ। उताबाट पनि कुनै प्रश्न आएन। हामी एकैछिन केही पनि बोलेनौँ। केही सेकेन्डपछि ‘हस् अहिलेलाई फोन राखेँ, हजुर राम्रोसँग सुत्नुस्’ भनिन्।
म भर्खरै १७ वर्ष पुगेर १८ लागेको, अनजान केटीको फोनले रातभरि निद्रा लागेन। भोलिपल्ट बिहानै एसएमएस आयो गुड मर्निङ भन्दै। मैले हिजोकै नम्बर देखेर हतार-हतार गुड मर्निङ भनेर रिप्लाई गरिहालेँ। उताबाट मिस कल आएपछि मैले रिप्लाई गरिहालेँ। हाम्रो कुरा हुन थाल्यो। मलाई पनि उनी सित कुरा गर्न मन लाग्न थाल्यो। हामी कुरा गर्न थाल्यौँ।
एकदिन उनैले ‘मलाई हजुर मन पर्छ, आई लभ यु’ भनेर एसएमएस गरिन्। मैले पनि ‘लभ यु टु’ भनेर पठाइदिएँ। त्यति बेला अहिलेको जस्तो मेसेन्जर, फेसबुक सर्वसुलभ थिएन। उनीसँग भेटघाट पनि थिएन। फोन फोनमै बोली सुनेर मन परापर भएको थियो। म भर्खर १० मा अनि उनी ९ मा पढ्दै छु भनेकी थिइन्। अल्लारे बेलाका हामी फोनमै कुरा गर्दा गर्दै एकअर्का बिना बाँच्न नसक्ने हुन थालिसकेका थियौँ।
यसो गर्दा गर्दै हाम्रो घर-परिवारसँग पनि कुरा हुन थाल्यो। उनको बुवा बितिसक्नु भएको थियो, ममीसँग कुरा हुन्थ्यो। हामी एकदम मिल्ने साथी हौँ, सँगै पढ्दै छौँ भनेर ढाँटेका थियौँ। वास्तवमै हाम्रो भेट भएको छैन भन्यो भने हामीलाई कुरा गर्न दिँदैनन् भनेर उसले नै यसो भनेकी थिइन्। उसको मोबाइल थिएन। ‘मैले ममीको बाट गरेको हो, बेलुका बेलुका फोन गर्नू’ भन्थिन्।
मैले उनको ममीलाई पनि ममी नै भनेर सम्बोधन गर्ने गरेको थिएँ। बेलुका भएपछि मैले फोन गर्थेँ ‘ममी सुजितालाई दिनु न’ भन्दै। ममीले पनि दिनुहुन्थ्यो। उसले ‘अहिले १० बजेपछि फोन गर्नु न सस्तो पर्छ, ममी पनि सुत्नुहुन्छ, फोन मँग राख्छु’ भन्थिन्।
राति १० बजेपछि बिहान ६ बजेसम्म एनटिसीमा त्यति बेला ५० पैसामा १ मिनेट कुरा गर्न मिल्थ्यो। हामी त्यसैको फाइदा लिन्थ्यौँ, रातको १ दुई बजेसम्म कुरा हुन्थ्यो। मर्ने बाँच्नेसम्मका कुरा करिब एक वर्षसम्म चल्यो। मेरो एसएलसीको परीक्षा सक्यो। हामी निरन्तर कुरा गर्दै थियौँ। नतिजा आउने बेला भयो। त्यति बेला उनको दिदीले मलाई फोन गरेर एक्कासि सिम्बल नम्बर देऊ भन्नू भयो। मैले हेरेर भन्छु भनेर सुजितालाई फोन गरेँ। उनले नदिनु भनेपछि मैले दिइनँ।
त्यसपछि उनको मलाई फोन आउन बन्द भयो। मैले कत्ति कोसिस गरेँ तर फोन लागेन। लागे पनि उनको ममीले अब फोन नगर्नु भन्नु हुन्थ्यो। मलाई छटपटी हुन्थ्यो। जसोतसो मैले आफ्नो चित्त बुझाउनु बाहेक केही थिएन। करिब एक महिनापछि उसले साथीको फोनबाट एक्कासि फोन गरिन्।
‘म सुजिता बोलेको, मलाई चिन्नु भो?’ भन्दै एक्कासि भक्कानिँदै ‘मलाई लिन आउनु, हामी बिहे गरौँ, म हजुर बिना बाँच्न सक्दिनँ, मेरो घरमा अर्कै सित बिहे गर्न आँटेका छन्’ भनिन्।
मैले केही भन्न सकिनँ। मैले ‘सानी तिमी चिन्ता नगर, म कुनै न कुनै उपाय लगाउला’ भनेर सान्त्वना दिएँ।
त्यसपछि मलाई चिन्ता लाग्न थाल्यो। गाउँमै बस्थेँ, भर्खर एसएलसी मात्रै दिएको थिएँ। उसलाई लिन जान गाडीभाडा समेत थिएन। घरमा कसरी भन्ने भनेर चिन्ता लाग्यो। भोलिपल्ट फेरि उसले फोन गरिन्। ‘मलाई लिन आउने भए आइजो, नत्र म मर्छु’ भनेपछि म उसलाई लिन भनेर हिँडेँ।
मेरो घर नुवाकोट, त्यहाँबाट काठमाडौँ आएँ र धादिङको बस चढेर उसले बताए बमोजिम बाटो लागेँ। धादिङबेसीबाट बस बदलेर अर्को बस चढ्नु पर्ने रहेछ। म धादिङ पुग्न ढिलो भएकोले त्यो रात त्यही बसेँ। भोलिपल्ट बिहानै गाडी चढेर उनले भनेको स्कुलमै ओर्लिएँ। म ओर्लिएको एकछिनपछि उनी आइन् र म नै हो भनिन्।
हो, यति बेला मात्र हाम्रो देख भेट भयो। फोनमा बोलेकै भरमा विश्वास गरेर ऊ मसँग जान तयार भएको थिई र उसले पनि मलाई कालो गोरो जस्तो भए पनि हजुर मलाई स्वीकार छ भनेपछि म उसलाई लिन गएको थिएँ। त्यति बेला मलाई भगवानप्रति यति धेरै विश्वास भएको थियो कि ठ्याक्कै भगवानले नै हाम्रो जोडी बनाइदिएका हुन्। न फोटो, न भेट, बोलेकै भरमा यति राम्रो जोडी सायद कसैले कल्पनासम्म पनि गर्न सक्दैन।
हाम्रो प्रेम, मभन्दा उनी ३ वर्ष कान्छी, सानी पातली, हाइट मभन्दा अलिकति होची, ठ्याक्कै जोडी सुहाउँदी रहिछिन्। एकछिन स्कुलमा भएकोले स्कुलभन्दा बाहिर आएर मलाई भेटेको थिइन्। बेलुका भएकोले त्यति बेला नै उसले भगाउन सम्भावना थिएन।
‘आज म घर जान्छु, तपाईंलाई यता कसैले चिन्दैन, आज यतै बस्नु’ भनेको थिइन्। म पनि आयुर्वेदको औषधि बेच्ने मान्छे हो भनेर त्यतै बास बसेँ। उसले ‘म भोलि बिहानै ट्युसन पढ्न जान्छु भनेर आउँछु अनि हामी बिहानै भाग्नुपर्छ’ भनेकी थिइन्।
म रातभर उसलाई कुरेर बसेको थिएँ। भोलिपल्ट बिहानै उनी आइन् स्कुलकै पोसाकमा अनि हामी हतार-हतार काठमाडौँको बसमा चढ्यौँ। हामी आधा बाटो आएपछि उसको घरमा थाहा भएछ र खोजी हुन थाल्यो। उसको परिवारले प्रहरीमा खबर गरेका रहेछन्, मेरो छोरी बेच्न लान लाग्यो भनेर। प्रहरीले आधी बाटोमै हामीलाई समातेर जिल्ला प्रहरी कार्यालयमा लग्यो। उसले हामी एकअर्का बिना बाँच्न नसक्ने भएर बिहे गर्न भनी भगेको हौँ भनिन्।
मलाई हिरासतमा लिइहाल्यो, उसलाई छुट्टै राखेको थियो। उनको परिवारलाई बोलाएर राति नै उसलाई घर फिर्ता लगेका रहेछन्। मलाई चाहिँ दुई दिन हिरासतमै राखियो। बेलुका नै सुजिताको घरबाट आफन्त आइपुगेकोले उनलाई लगेको रहेछन्। पछि एक सिपाहीले ‘ओइ! तेरो बेहुलीलाई त लिएर गए’ भने।
त्यसपछि मलाई झन् औडाहा भयो। यति धेरै मन पराएको मान्छे, नदेखी नदेखी माया बसेको मान्छे जब देख-भेट भयो, जिन्दगीको सुरुवात हुँदै थियो तब बिचमै छुट्टिनु पर्यो। यदि छुटिनु नै थियो त भगवान् किन भेट गरायौ? रातभर भगवानलाई गाली गरिरहेँ।
भोलिपल्ट मेरो घरबाट मलाई खोज्दै आइपुग्नु भयो। मलाई हिरासतबाट छुटाउन प्रहरीले हप्काउँदै ‘अब खुरुक्क यहाँ हस्ताक्षर गर’ भनेपछि म हिरासत मुक्त भएर घर फर्किएँ। घर त फर्किए तर न मलाई दिन न रात, बेहोसीमै बित्यो। धेरै सम्पर्क गर्न खोजेँ तर सकिनँ।
लगभग १२ वर्ष भयो, अझै पनि उनी आउने आस लाग्छ। न फोनको घण्टी बज्ने पो हो कि, कुनै नयाँ नम्बरबाट आएको फोन उसको पो हो कि, फेरि पनि हेल्लो के छ खबर म तिम्रो सानी भन्छिन् कि भन्ने आसमा बसेको छु।