कविता
घामका असंख्यक विकिरणले
अनवरत कामले
बुढा देखिएका
रोगी भएका
मेरा बा आमाको आयू लम्बाउने दबाई खोज्न
मेरा रहरहरू आफैं भित्र दबाई ,
म परदेश आएको हुँ
हो साहेब !
मलाई माफ गर्नुस्,
म कुनै कुर्सीको लागि कोसी सम्झौता गर्न
परदेश आएको होइन।
बिहे पछि मात्र परसरेकी
मेरी उनले प्याड किन्न नसक्दा
जब उनले पुरानो धोतीको सप्को काटेर प्याड बनाउँदै
सुत्न अर्कै कोठामा गइन्
त्यसपछि म परदेश आएको हुँ।
सानी सानी
मेरी छोरी
जब
ताते ताते गर्दै
तोते बोली बोल्दै
स्कुल जान्छु भन्दै
रित्तो झोला बोकेर हिँडिन्
हो, त्यही दिन
त्यही झोला भर्न
एउटा जेब्रा झोला भिरेर
छोरीको स्कुलको फी तिर्न
सात समुन्द्र तरेर
म परदेश आएको हुँ ।।।
स्याउलाको गारो भत्केर सुत्नै गाह्रो भएपछि
रातभरको छट्पटीले उठ्नै गाह्रो भएपछि
बाको
आमाको
उनको
अनि छोरीको भोको पेट भर्न
साथी भाइ सँग चिया खाँदा कहिले नखुल्ने
मेरा पाइन्टको गोजी खोल्न परदेश आएको हुँ ।।
हो साहेब,
अहिले पनि
पहिले पनि
जहिले पनि मैले,
मेरो परिवारको सास किन्न
रगत र पसिना बेचिरहन्छु ।।।
गर्मीले रसाएका सडकका अलकत्रा देख्दा
अलपत्र घरले रसाई रहने आमाका आँखा सम्झन्छु
बेला–कुबेला आँटीमा बसेर
सुल्पा साबी र कक्कडको धुँवाले कुइरीमण्डल पार्ने
बा को घाँटी सम्झन्छु
छोरीको झोला सम्झिन्छु
लाग्छ मेरी उनको अनुहार पनि
यताको कालोपत्रे जस्तै कालो भएर पग्लिरहेको होला
त्यताको कालोपत्रे त कालोपत्र नहुँदै काल भइ सक्छ ।।।
गोर्खे
बहादुर
कान्छा नामले परिचित म
टालेका कपडा र जोडा हराएका चप्पल लगाएर
रातदिन – दिनरात
गल्ली गल्लीमा
सिट्टी फुक्दै
लाठी बजाउँदै
बुट बजार्दै
दर्वान कुल्ली चौकीदारी गर्दै
रगतलाई पसिनाई रहन्छु
जसरी तसरी जम्मा पारेको पसिना
म
परिवार र सरकारलाई बराबर राख्छु
तर विडम्बना
मेरो पसिनाले चलेको परिवारले मेरो सास माग्छ
मेरो पसिनाले चलेको सरकारले मेरो लास माग्छ।
साहेब मलाई माफ गर्नुस्,
खाली पेट र खाली खुट्टा देखाएर
अध्यादेश ल्याउन म परदेश आएको होइन ।।
सत्ताको मैमत्तामा मदहोस भएका साहेबहरू
लकडाउनलाई लम्बाइ रहेका छन्
मानौं कि यो बबलगम हो।
लुक्लादेखि लम्की लम्किन बाध्य पारी रहेका छन्
मानौं कि यो माओको लङमार्च हो ।
हो, नेपाली साहेब,
सत्ताको तर मार्न
जीवन कि स्वतन्त्रता भन्दै
जनताको स्वतन्त्रता मारिरहेका छन् ।।।
बालुवाटारमा गौरीका सिंहलाई म नि स्वीमर हुँ भन्ने ले
लिपुलेकमा गएर म नि नेपाली हुँ भन्छन् कि नाइ ?
लिपुलेक नेपालको हो, भन्छन् कि नाइ ?
ए साँच्चि
लोकेन्द्र बोहरालाई फेरि महाकालीमा पौडिन भन्छन् कि के भन्छन् ?
अनि म प्रदेशीलाई नेपाली भन्छ्न् कि के भन्छन ?