कविता
जब झमझम असार वर्षन्थ्यो
रम्घालीहरू झर्थे गराहरूमा
बाउसो लिएर हलो लिएर
तास्थे सम्याउँथे आलीकान्लाहरू
प्रत्येक असारसँगै ताछिएका आलीहरू
एकपाइलो नअटाउने गरी साँघुरिन्थे
ऊ मुसुक्क मुस्कुराउँथ्यो
साँघुरा आलीहरूमा
हिलाम्मे गराहरूमा
सीमा छुट्टयाउन अभ्यस्त
साँघुरा आलीहरू
अझै पनि त्यस्तै होलान्
उसका पाइलाका पदचाप
उस्तै होलान्, दुरूस्तै होलान्
ऊ हिँड्थ्यो आफ्नै बाटोमा
ओहोरदोहोर गर्न नसकेर
कहिले लड्थ्यो आफ्नै माटोमा
जब म पल्टाउँथें मेरो देशको नक्सा
स्पष्ट देखिन्थे
रम्घाका साँघुरा आलीहरू
म सोच्थें मेरो रम्घा
एउटा युग जन्माएर
जीवन्त छ स्पष्ट छ
समय बदलिए पछि
मैले भानुसँगै ‘होमर’ पढें
‘किट्स’ र ‘शेली’ पढें
‘होमर’ सँगै मैले विश्व भूगोल पढें
प्रत्येक वर्ष रम्घाका आलीहरू जस्तै
ताछिएका, भत्काइएका
सुस्ता र दशगजा
कालापानी, लिपुलेक र लिम्पियाधुरा
मैले असारसँगै अविरल बगिरहने
अतिक्रमणको मारमा
उदासिएका आँखा पढें
बोल्न खोज्दाखोज्दै दबाइएका
अवरूद्ध भाखा पढें
समयजस्तै रम्घा पछि
मैले सुस्ता र दशगजा पढें
कालापानी, लिपुलेक र लिम्पियाधुरा पढें
दाङको कोइलावास पढें
धेरै पढिसकेँ
उनीहरू न्यायको पराकाष्ठा तोडेर
अगाडि बढिसके
त्यसैले उठ! जाग!
किसानहरू, खेतालाहरू
उठ! जाग! नेपालीहरू
पहरादिनुपर्छ, सहारा दिनुपर्छ
बचाउनुपर्छ हाम्रो आस्था
हाम्रो स्वाभिमान्
उठाउनुपर्छ हिमालजस्तै
अटल, उच्च
स्वतन्त्र र सार्वभौम
स्वतन्त्र र सार्वभौम।।