कविता
भूगोलभित्रका खण्डित यथार्थहरू
बादलको आकारजस्तै अमूर्त बनी
नि:शन्देह बगिरहेछन्
मेचीदेखि र कालीहरूमा
जहाँ भेटिन्छन्
अनगिन्ती लहरका अप्रत्याशित प्रश्नहरू
हरेक नाका अनि सीमा बिन्दुहरूमा ।।
हृदयको अतल गहिराइमा सुशुप्त
श्रद्धा र अर्चनाले फहरिरहेको
मेरो देशको झण्डा
वीरहरूको निशानी हो
शान्ति र एकताको प्रतीक हो
खुसीको साझा फूलबारी हो
स्वाभिमानको बेजोड श्रृंगार हो ।।
विद्रोहको ज्वारभाटासँगै
सगरमाथाको चुचुरो पुग्न खोज्नेहरू
अग्ला साँघुरा पहाडहरूभित्रै
सुगन्धित हरियो वनमा
सुनखरी र लालुपातेको
शितल छहारी खोज्दैछन्
पंख फिजाई उड्ने
सिंगो आकाश खोज्दैछन्
बाह्रै महिना मूल फुट्ने
फेदीखोलामा प्यास मेट्दै खोज्दैछन्
मस्त लम्पसार छन् चिसो बतासमा
मानौं स्वर्गको लालित्यले
मेरो देश पोतिएको छ।
त्यसैले त अभाव डकार्दै
नियाल्दैछन्, खोतल्दैछन्
मेरो देशमा
सम्भावनाका धर्साहरू ।।
हराएको शताब्दीको निहुँमा
धमिलिँदै उजेलिँदै गरिरहेको
विचारको पैंठेजोरी
कहिले लिम्पियाधुरा
त कहिले सुस्ता खोस्ने निहुँमा निमग्न छ
र त
कजाउँदैछन् निमुखा
कोर्दै नयाँ बाटो
चाल्दै नयाँ पाइला
निखन्दै छन् सुस्त-सुस्त
खोस्दैछन् हाम्री जननी
हाम्री आमा ।।
अक्षरदेखि अक्षरसम्मको लामो यात्रालाई अर्थ्याएर
नवीन क्रान्तिको खोजीमा
सुरिला जोसिला युवा दस्ता जब
हिमाल पहाडबाट ओर्लेर तराईमा मिसिनेछन्
जसको हातमा
न त हँसिया हतौडा हुनेछ
न त बम बारुद नै हुनेछन्
अनि त्यही आवाज
रक्षा कवजरूपी सिंगो कलमले
विचारको कुरूक्षेत्रमा परेट खेल्नेछन्
जोगाउन इतिहासका पन्नाहरू ।।