धेरै अघिको कुरा हो। त्यतिखेर म मरेको थिइनँ। त्यही दिनदेखि पर्खेका प्रदीप दाजु आजसम्म आइपुगेनन्।
कमानको डिस्पेन्सरीमा कम्पाउन्डरलाई सघाउँदै दबाइपानी गर्न सिकेपछि प्रदीप दाजुले सदर अस्पतालमा काम पाएका थिए रे। स्वास्थ्य विभागमा काम गरेर इमानदारीसाथ आफूलाई स्थापित गरेका थिए। जहान, छोराछोरी सबैको राम्रो बन्दोबस्त गरिदिए। छोरी बिहे गरेर अहिले दिल्लीमा सपरिवार सुखी छन्। छोरा पनि सुरूबुरू आफ्नो व्यापारधन्दा चलाइरहेकै छ।
प्रदीप दाजु पाँच वर्षदेखि सिकिस्त थिए, आफैं काम गर्ने अस्पतालको पुरुष वार्ड, क्याबिन नम्बर १७ मा। क्याबिन उनको घरजत्तिकै भइसकेको थियो। एउटै क्याबिनमा उपचार गर्दै यति लामो समय बस्नु मामुली कुरो होइन।
खाता, किताब, पत्रिका, टिभी, स्टोभ, भाँडावर्तन, फोटो एल्बम, हार्मोनियम, चौकी, टेबुल सबै थिए क्याबिनभित्र। बिमार भएर थलिनेबित्तिकै उनी सरकारी आवास फर्काइदिए। दिल्लीमा काम गर्ने छोरीको बिहे मेफेयर होटेलमै गरिदिए। आफू अस्पतालबाट छुट्टी लिएर बेहुलीका बाउका रूपमा सोझै होटेल पुगेर राति फर्किआए।
छोरो बजारमा साथीभाइसित मिलेर बस्थ्यो।
प्रदीप दाइले भाउजूलाई भोटेबस्ती माइत पठाइदिए सरसामानसितै। अलिअलि झिटिझ्याम्टी क्याबिनमै ल्याएका थिए। यसरी १५ प्रतिशत सरकारी घरभाडा तलबसित चोखै आउन थाल्यो। आफू अस्पतालकै कर्मचारी भएकाले क्याबिनको दरमा पनि छुट।
पहिलोपल्ट उनका साथीभाइ सबै गएका थिए अस्पतालमा दाजुलाई भेट्न। डाक्टरले राम्रोसित जाँच-परीक्षण पनि नगरी उनलाई 'रक्सी कम्ती खानू' भनेका थिए।
उनले 'हुन्छ' भनेजस्तो टाउको हल्लाए र बन्द भयो। र पनि हालत सुध्रिनुको साटो झन्झन् बिग्रिन थालेको थियो। केही महिनापछि अब दार्जिलिङमा नहुने रैछ भनेर नर्थ बेङ्गाल रिफर गरिएको थियो। त्यहाँ पुगेपछि झन् साह्रो भएका थिए प्रदीप दाजु। फर्केर आउँदैनन् सोचे सबैले।
मर्ने भए दार्जिलिङकै माटामा मरूँला भन्ने भावनाले जिताएर फर्कायो दाजुलाई। दार्जिलिङ अस्पतालमा फर्किएपछि उनी निकै फेरिए।
त्यो बेला रेलवेमा काम गर्ने उनका सहपाठी विरेन दाजु पनि बिमार भएर थल्लिए। एउटै खालको बिमार दुवैको- अधिक मद्यपान सेवन।
पहिलोपल्ट प्रदीप दाजुलाई हेर्न जाने टोलीमा विरेन दाजु पनि थिए। म पनि थिएँ। हुनत म उनीहरूको दँवाले होइन। सात-आठ वर्ष जुनियर हुँ। तर एउटै स्कुल पढेकाले भूतपूर्व छात्रहरूको संस्थामा हामी सबै सँगै। संस्थाको कोष संग्रहका लागि नाटक लिएर हङकङ जाने तयारी हुँदैथ्यो। त्यहाँ हाम्रै स्कुलका पूर्व छात्र धेरै रहेछन् र आर्थिक मद्दत गर्ने वचन दिएका थिए। अनि बोलाएका पनि थिए। हङकङमा सानै भए पनि समिति खोलिराख्ने भन्ने थियो र पासपोर्ट हुनेहरू चार-पाँचजना जाने तयारीमा थियौं, दार्जिलिङको एउटा नाटक लिएर।
तर घरि प्रदीप दाजु थलिने, घरि बिरेन दाजु बिमार हुने, भ्रमण तारिख बारम्बार सर्दै थियो। यत्तिकैमा म दोस्रोपल्ट पुगेँ प्रदीप दाजुको क्याबिनमा। संस्थाका कोषाध्यक्ष पनि हुनाले उनलाई एउटा चेकमा हस्ताक्षर गराउनु त थियो नै, हालखबर बुझ्न पनि जरूरी थियो।
क्याबिनमा दाजुका साथीहरू थुप्रै भेला भएका रहेछन्। कोही भुइँमा बसेका, कोही चौकीमा, कोही सोफामा त कोही दाजुसितै बिमारीको खाटमा।
'बिमारीजस्तो त थिँदै थिएन हिजोसम्म,' सबै भन्दैथे।
आज त आइया र आत्था भनिरहेका प्रदीप दाजुले मलाई देखेर कुरा बुझे र एउटा चेकको साटो पाँचवटामा सकीनसकी सही गरिदिए।
साथीहरू उनलाई सान्त्वना दिँदै थिए। दाजु सास रोक्दै बोल्दै थिए, 'मलाई केई हुँदैन हौ। हुने भए त अस्ति नर्थ बेङ्गालमै सक्किने थिएँ नि। नसुर्ताऊ न। बरू मलाई तल ठाकुर भैयाकोबाट एक क्वाटर ल्याइदेऊ।'
'अबुई...डाक्टरले स्ट्रिक्ट मनाइ गरेको छ। त्यो चैं हुँदैन है साथी...,' भनेर पार्टीतिर कुदिहिँड्ने सनमान दाजुले भनिसक्दा त्यो ऋतिक रोशनजस्तै देखिने तर मोटे अंकलले थपेका थिए, 'हो त यार, बेसी रक्सी रक्सी नगर है। ऐले चार दिन बाँच्ने पनि घटेर दुई दिन होला नि।'
खै सिरियस हुन् कि जिस्केका, दार्जिलिङका मान्छेहरू केही बुझिँदैन। प्रदीप दाजुले भर्खरै काटेर फेरि पलाउन खोज्दै गरेको इस्कुसको काँडाजस्तो दारी मुसार्दै 'होइन यसै मर्ने उसै मर्ने नि। अन्त दुई घुट्को खाएरै मरूँ भन्ने नि मेरो चैं।'
फेरि साथीहरूले विरेन दाजुको उदाहरण दिए, 'हेर त हिजोअस्ति राम्रै थियो। तिमीलाई हेर्न पनि त आएको होइन? ऐले त विरेन पनि तिमीजस्तै ऊ पल्लो वार्डमा तेर्सिरहेको छ अरे। त्याँ पनि निस्किनुपर्छ हौ साथीहरू। जाऊँ होला अब।'
साथीहरू बिदा लिन खोजे। मलाई पनि हेर्न मन लाग्यो र सँगै जाने सोचेर म अघिअघि बाहिरिएँ। विरेन दाजुको छोरो एक हुल साथीसित बाइकमा आएर स्वात्तै अस्पतालभित्र पसेको देखेँ। केही बेरमा ती युवा त सेतो कपडाले बेरेको विरेन दाजुको लाश लिएर पो बाहिरिए। एम्बुलेन्समा हुल्न थाले।
प्रदीप दाजुको क्याबिन पसेर अरू दाजुहरूलाई यो खबर गरिदिएँ। बाहिर निस्केर सबै जना छक्कै परे- लग्यो विरेन दाजुलाई रक्सीले।
***
प्रदीप दाजु अस्पतालमा भर्ती भएको एक वर्ष पुग्यो। हङकङ भ्रमणको तारिख पक्का भइसकेको थियो। योपालि जसरी भए पनि जानुपर्छ। तारिख घरिघरि बदली गर्नु हुँदैन भन्ने नै सभाले पारित गऱ्यो। कार्यकारी समितिको पनि म्याद पूरा भएछ। अनि उपचाररत भएकाले खजान्चीको पदबाट दाजुलाई मुक्त गराई रेहना मेडमलाई राखिने तय भएछ।
यसैले अस्पताल पुगेर कतिपय कागजपत्रमा प्रदीप दाजुको हस्ताक्षर लिने जिम्मा मलाई सुम्पियो संस्थाले। जुनियर भएकाले हो खासमा चैं मलाई यसरी दलेको।
तर उनीहरू भन्थे, 'यो भाइजस्तो खट्ने कार्यकर्ता चैं नि काङ्ग्रेसले पाउनु हो भने बिजेपी आउने थिएन नि।'
तर मलाई कहिलेकाहीँ स्कुटीमा तेल हालिदिन्थे र म कुदिबस्थेँ यताउति।
त्यो दिन प्रदीप दाजु निक्कै सिकिस्त थिए। घटेर बाँसको सिन्को भएका थिए। विरेन दाजुलाई रक्सीले लगेको कुरा सुनेर होला झन् झिनो भएका थिए। म पुग्दा स्याँस्याँ गर्दै भए पनि हस्ताक्षर गरिदिए।
दुई-चार जना भेला भएका साथीलाई अन्तिम सास फेरेजस्तै भनिरहेका थिए, 'औ साथी, सुटुक्कै ल्याइदेऊ न त्यो ठाकुरकोबाट। क्वाटर बेसी हुन्छ भने एक्कै ट्वाक भए पनि ल्याइदेऊ न। भर्ती भाको एक वर्ष पुगेकै खुसी सम्झे पनि हुन्छ। लु बरू वैतर्नी नै तरूँला त्यै पिएर।'
केही बेरमा भाउजूको रुवाबासी सुरू भयो। डाक्टर माहपात्र आएर, 'अब हुँदैन, एकपल्ट नर्थ बेङ्गाल कोशिस गर्ने?' भने।
भाउजूले बाहिर निस्केर मलाई बोलाइन् अनि रुँदै भनिन्, 'भाइ, तल गाउँमा गएर समाजको एक-दुई जना भाइहरूलाई पठाइदिनुहोस् न ल।'
भटटट गरेर स्कुटी सुरू गरेको मात्रै थिएँ क्याबिनभित्रबाट ऋतिकजस्तै देखिने त्यै अंकल आएर भने, 'भाइ, बजारै जान्छौ होइन? म पनि तलसम्म जान्छु नि।
उनी स्वाट्टै पछाडि चढे।
मैले, 'अंकल, यस्तो ओरालोमा दुई जना त सकिन्छ के हौ? त्यैमाथि तपाईं त भारी...,' भनेर स्कुटी अगाडि बढाएको दृश्यसम्म मलाई थाहा छ।
***
ठ्वाङ..ठ्वाङ..
अचानामाथि बन्चरो राखेर हम्मरले हिर्काएजस्तो आवाज आउँदा पो दुख्नु, चिलाउनु त होइन कताकता कसैले ढोका ढक्ढकाएको जस्तो लाग्यो। अचानो चाहिँ मेरो निधार रहेछ। पोस्टमार्टम हुँदै रहेछ। छेउमा प्लास्टिकले बेरेको अर्को मोटोमोटो लाश पनि लडिराखेको थियो, ऋतिक अंकलको रैछ।
माथि भएका सबै कुरा चाहिँ त्यतिखेरको कुरा हो जतिखेर म मरेको थिइनँ। हेलमेट लगाएको भए पनि मर्थेँ नै होला। कालदेउता हेलमेटसित के डराउँथे होला र?
हाम्रो संस्थामा जुनियरहरू नहुँदा ठुला सदस्यलाई कति गाह्रो पर्छ होला है काम गर्न, भनेर सोच्न पनि सक्दिनँ किनकि म त मरिसकेँ। आत्मा मात्रै हुँ अब। न कसैसित बोल्न, न कसैसित संवेदना बाँड़्न, न कसैसित भौतिक कामकाज गर्न सक्छु। न मलाई कसैले देख्छ, न कसैले चिन्छ, न कसैले छाम्न सक्छ। बिर्सी पनि सके दार्जिलिङ लोकमा मलाई यी पाँच वर्षमा सबैले।
केही दिनअघिको कुरा, हुन त यहाँ दिन र रात पनि त हुँदैनर। कसरी भन्नु केही दिनअघि हो वा रात हो भनेर। समय छैन, घडी छैन, रुटिन छैन। यतिखेर सुत्नु, यतिखेर उठ्नु छैन। को सुत्ने? सुत्न त शरीर चाहिन्छ। यहाँ त शरीरै छैन कसैको। कसै पनि के भन्नु न आकार छ न प्रकार छ।
तर त्यतिखेर एउटा वायु छेवैबाट स्वात्तै बहेको थियो। त्यो चाहिँ पक्कै विरेन दाजुको थियो। हुनत सुगन्ध र दुर्गन्ध यहाँ हुँदैन तर किन हो त्यो वायुमा आफ्नो जातीयपन चाहिँ अनुभव भइरहेको थियो। प्रदीप दाजुलाई मनाही गर्थे रक्सी नखानू भनेर विरेन दाजु।
यहाँ माथिल्लो तलामा कसैको भेटघाट हुँदैन भन्छन्। तर तल्लो तलामा मिलेर बसेको छ भने कहिलेकाहिँ भेटिन्छ भन्ने चाहिँ एकदिन एनपी ग्राउन्डमा फुटबल हेर्न बस्दा दुई जना मान्छेले कुरा गरेको सुनेको थिएँ। त्यो दिन रेफ्री मातेर फुटबल ढिलो सुरू हुने भयो र मान्छेहरू कराउँदै थिए। तर यी दुईले कति ठूलो गुरुमन्त्र दिएछन् मलाई आजकल पो याद आउँछ त्यो कुरा।
हो उनीहरू भन्दै थिए, 'पृथ्वीलोकमा खुबै मिलेको छ भने माथि पनि भेट हुन्छ अरे।'
विरेन दाजु र म पनि त खुब मिलेका थियौं। एउटै संस्थाका सदस्य थियौं। ध्वनीमतले पारित गर्थ्यौं सबै कुरा। सभामा भनाबैरी भइहाले पनि बेलुकी होटेलमा पार्टी गर्दा सामूहिक रुपमा एउटै बोतलको सँड्क्याउँदै 'मिले सूर मेरा तुम्हारा' गाउँथ्यौं।
यसैले होला ह्वास्सै गन्हाएका थिए विरेन दाजु त्यो बेला मलाई।
***
चित्रगुप्तले मेरो 'रेजुमे' उसकै हत्केलामा हेरेपछि अलि पर बिराजमान यमराजलाई इसारा गरेर देब्रे हातको चार औंला देखाए। यमराजले एकपट्टिको आँखामाथिको कालो रेखा कुनै घरको चुच्चो छप्परजस्तै उचालेर जिब्रो बाहिर निकाले। एकछिनमा फेरि चित्रगुप्तले मलाई भने, 'बालक, घुम्न जाने?'
छक्कै परेर मैले 'कता सर?' भनेर सोधेँ।
'तल' भन्दै मुनि देखाएपछि मैले 'सर, घुम्नु मात्रै कि पर्मानेन्ट?' भनेर सोध्ने आँट गरेको सुनेर सुनको गद्दीमा बिराजमान यमराज यति भयंकर पाराले गडगडाएर हाँसे, त्यो हाँसो कसैले पनि सुनेन। अर्कै खालको ध्वनी रहेछ, जोडले कराउने तर कसैले नसुन्ने। सानामा खेल्दा कसैले कानमा चिच्याउँदा केही सुनिँदैन थियो टिनिनिनिनी कान बज्नबाहेक, त्यसको याद आयो मलाई। अल्ट्रासोनिक साउन्ड अरे।
हाँस्दैहाँस्दै यमराजले खै के इसारा गरे, चित्रगुप्तले नै बुझे होला– एक हातले हुन्छ-हुन्छ भनेजस्तो अर्को हातले पर्दैन-पर्दैन भनेजस्तो संकेत थियो। चित्रगुप्तले फेरि हत्केलामा के थियो कुन्नि त्यो यन्त्र हेर्दै भने, 'यमलोकमा पस्ने दैलो मात्रै छ, निस्किने छैन। तलाईं त मनुख्खे, यमदेवले मौका पो दिँदैछन् त घुमेर आउने, के गर्ने छिट्टो भन्?'
चित्रगुप्त र यमराजबीचको गोप्यवार्ता बुझिनँ। एकैचोटि आकाशवाणी भयो- 'विजय माल्या खै?'
ठूलो गर्जनसाथ यमराजको मुखबाट यो आवाज आयो। तर अघिको हाँसोको ध्वनीभन्दा यसको डेसिबेल धेरै कम्ति थियो। मलाई होइन रहेछ दिल्ली पुलिसको कमिसनरको पनि अन्तर्वार्ता चल्दै रहेछ। त्यो आवाज अर्कोतिर रहेछ।
मलाई तल जान मन लागेन। हडताल चलिरहेका बेला के गर्नु गएर? हडताल पनि पक्का छैन कहिलेसम्म हो? घरि घरभित्र, घरि घरबाहिर भन्छ। घरि सामूहिक, घरि जंगल पस्नू भन्छ। कहिले च्याप्टर क्लोज, कहिले भोट हुनुपर्छ भन्छ।
चित्रगुप्तलाई 'गोर्खाल्यान्ड भएपछि जाँदा हुँदैन?' भनेको पूरा रिसाए।
'रम्फुको रेल चढ्नेगरी जान्छु नि त' भन्दा चाहिँ अलिअलि हाँसे है। उता यमराज पनि फेसबुकमा कमेन्ट पढ्दै हाँस्नमा व्यस्त थिए। तर मेरो अनुरोध सुनेर चित्र सरले 'हुँदैन' नै भनिरहे। अन्त्यमा एकपल्ट फेरि भनेँ, 'बुलेट ट्रेन चलेपछि जान्छु नि।'
'थत्, ऐले यमदेवले सुने भने तेरो नि बिग्रेको मिसिनले सिटी स्क्यान गरेजस्तो हालत होला नि। भन् जाने हो कि होइन? तीन दिनको लागि जान पाउँछस्। त्यसपछि फेरि फर्केर आउनुपर्छ। स्वेच्छाले आइनस् भने ऊ यमदेव आफैं आएर तँसँगै अझै एक जना उठाउँछन् बुढाले।'
'सर, एउटा सूचना दिनुहोस् न, त्यसपछि म पक्का गर्छु जाने कि नजाने,' चित्रगुप्तलाई भनेँ, 'सर, तलबाट नि प्रदीप दाजु चैं याँ कैले आयो रेकर्ड हेरिदिनुहोस् न। मेरो एकदमै मिल्ने दाजु हो। मरिसकेकै थियो। डाक्टरले पनि नसकेको। एसो हेरिदिनुहोस् न प्लिज।'
'खै के सारो दुक्ख दिएको हौ। प्रदीप चैं, के प्रदीप नि अब? त्यस्तो नाम त त्यतातिर थुप्रो छ ई..गएको पाँच सालमा त आएको छैन। वर्णानुक्रममा प्रदीप गुरुङ, प्रदीप लोहागुण, प्रदीप पाखरिन, प्रदीप शेर्पा त पालो लहरमा छ। कुन प्रदीप खोजेको तैंले?' भन्दै हत्केलामा जे थियो त्यै कोट्याउँदै भने चित्रगुप्तले।
'हैन सर, यो त कालेबुङ जिल्लाको हो सबै, मलाई दार्जिलिङको चाहिएको।'
'तेरो नजिक भएका दार्जिलिङकैहरू त पैला बी.सी. भन्ने आएछ, त्यसपछि आर. के. भन्ने एक जना छ, एस.एम. छ, आर.एस. भन्ने महिला पनि आएको रैछ। सबै त एब्रिभिएसनमा लेखेको छ। कसरी चिन्छस्? खै छोड। जाने भए कन्फर्म गर् छिट्टो, याँ अपडेट गर्नुपर्छ। कैलेदेखि हो तेरो सुनवाई चलेको। बल्ल आज फाइल खुल्यो,' भन्दै उनी हत्केला नै हेर्न थाले।
***
तीन दिनका लागि दार्जिलिङमा प्रवेश लिनेबित्तिकै सबभन्दा पहिला सरकारी अस्पतालको मेल वार्डको क्याबिन नम्बर १७ मा गएँ। त्यहाँ प्रदीप दाजुको स्थायी नेमप्लेट थियो, अहिले त अर्कैको नाम झुन्डिएको रहेछ।
यसको मतलब त्यो दिन म सँगसँगै नै मरेछन् कि क्या हो दाजु पनि! त्यो ऋतिक अनुहारको मोटे अंकल मेरो स्कुटीमा नझुन्डिएको भए त म पनि सित्तैमा नमर्ने नि। अब प्रदीप दाजुको घर जाऊँ भने पनि क्वाटर त समर्पण गरिसकेका छन्। ससुराली भोटेबस्तीतिर हो जस्तो लाग्छ, याद भएन। भाउजूको नामै थाहा छैन।
अस्पतालका बडाबाबुलाई सोध्नुपऱ्यो भनेर गएँ। टेबुलमै घोप्टो परेर निदाइरहेका रहेछन्।
'सर, आजभन्दा चार-पाँच वर्षअघि मेल वार्डको क्याबिन नम्बर १७ मा प्रदीप दाजु थियो नि। यै अस्पतालका ल्याब असिस्टेन्ट प्रदीप दाजु। उसको डेथ सर्टिफिकेट हेरिदिनुहोस् न,' भन्दै झक्झक्याएको त टसको मस हुँदैन ऊ त। न मैले बोलेको सुन्छ।
त्यतिखेर पो याद आयो चित्रगुप्तले भनेको कुरा, 'न तँलाई कसैले देख्नेछ, न कसैले सुन्नेछ दार्जिलिङमा।'
नियास्रो भएर निस्कन लागेथेँ कम्प्युटरको स्क्रिन सेभर हल्लिँदै गरेको देखेँ र मेरो पालो चौकीमा बसेर माई डक्युमेन्ट्समा रेकर्ड्स लेखेको एक्सेल फोल्डर खोलेको त सालैपछिको डेथ सर्टिफिकेटहरू रहेछन्।
फाइन्डमा गएर पी.आर.ए.डी. टाइप गर्दा-नगर्दा प्रधान मात्रै हाइलाइट हुन्छ। फेरि बल्लबल्ल नाम मिल्छ, उमेर मेल खाँदैन। बरू प्रदीप दाजुका साथी विरेन चन्द, रोशन कुमार, सनमान, रेहना सुल्तान सबै रहेछन्, पासपोर्ट फोटोमा हाँसिरहेका। त्यो ऋतिक जस्तो मोटे अकंलको नाम पनि थाहा पाएँ- रोशन कुमार।
त्यहाँ डेस्कटपमा अर्को फोल्डर भेटेँ – रिटायर्ड स्टाफ भन्ने। त्यो कोट्याएर हेर्दा फोटोसितै देखेर पो प्रदीप दाजुको सरकारी नाम त पी. के. बस्नेत रहेछ। स्वैच्छिक सेवावकाश लिएको भनेर देखाइएको रहेछ। यति सूचना हेर्दै थिएँ बडाबाबु करायो, 'श्याम भाइ, मेल आयो होला कम्प्युटरमा चेक गर त।'
त्यसपछि श्याम आएर मैमाथि थचक्कै बसेर जिमेल कोट्याउँदै, 'कसले लथालिंगै पाऱ्यो हौ फाइलहरू? भुतले चलायो क्या दिउँसै?' भन्दैथ्यो म त्यहाँबाट निस्केँ।
अन्तिम दिन थियो दार्जिलिङमा मेरो अब। पी. के. बस्नेत उर्फ प्रदीप दाजुसित माथि नै भेट हुनेछ भन्ने अब विश्वस्त भएँ किनभने नाम पूरा थाहा पाइसकेँ। चित्रगुप्तलाई एकपल्ट फेरि अनुरोध गरेर बस्नेत भएको पी. के. खोज्न लगाउँछु त्यसपछि त थाहा हुन्छ नि कहिले मरेछन् र कसरी मरेछन्।
मलाई यति नै जान्नु थियो – जिज्ञासा मात्रै। जानेर पनि गर्नु त केही थिएन। जिज्ञासाभन्दा पनि सन्तुष्टि नि।
सुपर मार्केटको भित्तामा ठूलो पोस्टर टाँगिएको रहेछ। राम्रोसित हेर्छु त प्रदीप दाजुको फोटो पो छ। कालो रेब्यान चस्मा लगाएर मुसुक्कै हाँसिरहेको। सायद मरिसकेपछि श्रद्धाञ्जली कार्यक्रम भएको थियो होला भन्ने सोच्दै पोस्टर पढ़्छु जिमखाना हलमा जुन २४, २५ र २६ तारिख तीन दिनव्यापी सेमिनार रहेछ- मादक पदार्थ र लागुपदार्थ सेवनविरुद्ध जागरुकताका लागि।
पानी परेर च्यात्तिन लागेको होर्डिङमा रिसोर्स पर्सनको नाम त ठूलो अक्षरमा प्रदीप बस्नेत लेखेको छ। धारावाहिक प्रवचन दिने क्रममा आज अन्तिम दिन रहेछ। मूल वक्ता प्रदीप बस्नेत, जसमा उनले आफ्नो जीवनमा आएको अपत्यारिलो मोडबारे सबैलाई बताउने रहेछन्।
पुगेँ। मञ्चमा टाइपिन माइक्रोफोन लगाएका प्रदीप दाजु अघिदेखि बोल्दै रहेछन्। गएर घ्वाप्पै अँगालो मार्ने मन त लाग्यो तर असम्भव।
उनले बोलेको सबै कुरा म देख्न थालेँ-
स्कुटीको घटना एकपट्टि, अर्कोपट्टि प्रदीप दाजुको अवस्था देखेर भाउजू ग्वाँग्वाँ रुन थालिन्। यताउतिबाट सबैजना भेला भए। हाम्रा शरीरलाई पुलिसले घेरेकै बेला प्रदीप दाजुलाई मेडिकल झार्ने तयारी भयो। झटपट गरेर एम्बुलेन्समा तल झारेपछि तीन दिन राख्दा पनि बीसको उन्नाईस छैन, एक्काईस पनि छैन। मेडिकलमा पनि नभएर भेल्लोर पुऱ्याए यसपालि। नभनेको पनि तीन-चार लाख सकियो तर जस्ताको त्यस्तै फर्किए। फेरि सदर अस्पतालकै १७ नम्बर।
घरकालाई घाँडो हुन थालेका थिए प्रदीप दाजु। न मरिजाने न गरिखाने। कति दिन गर्ने स्याहार-सुसार? कतिपल्ट मेडिकल दौडाउनु? बरू घुप्लुक्कै भइहाल्यो भने छोराको 'डाइ इन हार्नेस' हुने, आमालाई पनि भारी बिसाएजत्तिकै हुने भन्ने सोच आइसकेको रहेछ सबैको।
चार वर्ष यसरी नै बित्यो। पैसा सब स्वाहा। भेल्लोरको दर्शन सातपल्ट भयो। साथीहरू कोही सेतो रक्सीले, कोही तीनपानेले उँभो गए। दिल्लीमा छोरी दुईजिउकी भई। सुत्केरी स्याहार्न पाउँदैन भनेर आमालाई बोलाउँदा भाउजू दाजुलाई छोडेर जान नसक्ने। छोराको भरमा बाउलाई छोड्न नसकिने। उसको पनि भर्खरै व्यापार सुरू भएको- धुलाबारीबाट चिनियाँ जुत्ता ल्याएर बेच्ने।
ओछ्यानमै दिसा गर्ने अवस्थामा पुगिसकेका प्रदीप दाजुले अन्तिमपल्ट भाउजू र छोरालाई बोलाए अस्पतालमा।
छोरातिर हेरेर रुँदै भने, 'हेर्, मलाई थाहा छ मेरो बिमारीले गर्दा सबैले दुःख पाइरहेको छौ। मलाई पनि बाँच्नु मन छैन तर खै त कालले पनि लाँदैन। रक्सी खानेहरू त छिट्टो मर्छ भन्छ। साथीहरू सब मरिसक्यो। मलाई हर्लिक्स लिएर हेर्न आउनेहरू आज कोही पनि जिउँदो छैन। म पनि मर्न चाहन्छु। तिमीहरूको बिजोग हेर्न चाहन्नँ। मलाई थाहा छ तिमीहरूलाई म घाँडो भइसकेको छु। म मरेँ भने तैंले बदली काम पनि पाउँछस्।'
भन्दाभन्दै प्रदीप दाजु घिटघिट हुन थाले। नर्सहरू आए, डाक्टर आए।
'मलाई मारिदेऊ डाक्टर, मलाई पोइजन दिएर मारिदेऊ। हैन भने मलाई दुई पेग खानु देऊ। म आफैं आरामले मर्नेछु,' भन्दै दाजु रोए, कराए, चिच्याए।
अस्पतालमा भर्ती गरेदेखि दाजुले दुई थोपा भए पनि रक्सी खाने भनेर सबैलाई हात जोडेको। आज चाहिँ खान दिने निश्चय गरे आमाछोराले। त्यो बिख खाएपछि नै मर्छन् होला बरू आत्मातृप्त होस् त भनेर ठाकुर भैयाकैबाट लिएर आयो छोराले। सबैको सामु चम्चीले पिलाइदियो। सकीनसकी भित्तामा ढाड अडेस्याएर भए पनि दाजुले चार-पाँच घुट्को पिए।
त्यसपछि सबैलाई रुवाउँदै सधैंका लागि लामो निद्रामा सुतेका प्रदीप दाजु भोलिपल्ट बिहान जागेर उठेपछि आफैं शौचालय गएको दृश्य देख्दा रुङ्न बसेको छोरो दङ्गै पऱ्यो।
अर्को दिन जगिङ, अर्को दिन हिमालय दर्पण पढ्ने, अजनीशको भजन सुन्ने, गर्दैगर्दै हार्मोनियममा कैलाश खेरको सुफी गीत गाउने भए। तीन-चार सातापछि त छुट्टी पाएर ससुरालीमा आराम गर्न पुगे। कामबाट स्वेच्छाले अवकाश ग्रहण गरे। अलिअलि पाएको पैसाले छोराका लागि आफ्नै दोकान खोलिदिए।
दाजुले मद्यपान सेवनविरुद्ध दिएको सारगर्भित वक्तव्य सुनिसकेपछि फर्किएँ म पनि।
यो धेरै अघिको कुरा हो। त्यतिखेर म मरेकै थिइनँ। उनका कुरा सुनेर फर्केको दिनदेखि मैले पर्खेका प्रदीप दाजु आजसम्म आइपुगेनन्।
(लेखक छेत्री तोपखाना, कालेबुङका हुन्। उनी सरकारी जागिरका क्रममा केही समययता एन्टप हिल, मुम्बई बस्दैछन्। उनका दुई पुस्तकाकार कृति र असंख्य फुटकर रचना प्रकाशित छन्।)