अचेल मेरा कृयाशील हातहरु
कलात्मक औँलाहरु
खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै
निधार निचोरेर प्रश्नहरुको खेती गर्न
तम्सिन्छन्,
थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु,
अलमलिन्छन् प्रश्नहरु
तिनै सिसाकलमका टुप्पाहरुमा,
कर्कलोको पातमा फुटेका
पानीका थोपा झैँ
प्याट्ट फुट्न खोज्छन्,
अनि अड्किन्छन् फेरि प्रश्नहरु
तिनै सिसाकलमका टुप्पाहरुमा।
अचम्म लाग्छ,
मेरा कविताका बहकावहरु छोडेर,
मेरा रंगमञ्चका रंगहरु मोडेर,
मेरा 'ऐश्वर्यका' शान्त लहरहरु छचल्काएर
मेरा यी सिसाकलमका टुप्पाहरु
प्रश्नको खेती गर्न जुर्मुरिन्छन्।
घोत्लिन्छु अनायासै,
खिरिल्याउन खोज्छु प्रश्नहरु,
आफ्नै प्रश्नहरु सिसाकलमका
टुप्पाहरुमा अड्काएर,
लिप्न खोज्छु अक्षरहरुमा
तिनै प्रश्नहरु,
यी विचरा सिसाकलमका टुप्पाहरुलाई के थाहा
प्रश्नको खेती गर्नु भनेको,
प्रश्नहरुको खेती गर्दा गर्दै
निधार निचोरिए त ठिकै छ,
मुटु निचोरियो भने,
अझ मुटु कलेजो नै निचोरियो भने।
सोच्छु सिसाकलमका टुप्पाहरु
दगुरी रहन्छन् जताततै,
टुँडाहरु अड्काउदै,
गरी रहन्छन् प्रश्नको खेती, र उठीरहन्छन्
बारम्बार तेर्स्याउदै तिखा प्रश्नहरु,
तिखा टुँडाहरु उध्याउँदै
र रोपी दिन्छन् सपाट बगरहरुमा
निधार ठोक्किएर झरेका शब्दका अनगिन्ती बीजहरु
यत्र तत्र सर्बत्र
प्रश्नहरुमा।
यिनै प्रश्नका खेतीहरुले
आविष्कारका धमाकाहरु जन्माउछन्,
आकाशका ताराहरु शयर गर्छन्,
तिलश्मी दुनियाँको निर्माण गर्छन्,
दर्शनका खुराकहरु
जीवन जगतका गल्छेडाहरुमा घुसाउँछन्
राजनीति जन्माउँछन्,
राजनीतिज्ञ जन्माउँछन्,
तिनै राजनितिज्ञहरु फेरि देश जन्माउँछन्,
शासक, शासन जन्माउँछन्,
र तिनका विरासतहरु जन्माउँछन्,
अनि फेरि प्रश्नको घाँटी अठ्याउन लालायित हुन्छन्,
प्रश्नहरु फेरि मुर्छित हुन्छन्,
कठघरामा उभ्याईन्छन्,
अनि
कारागारमा थुनिन्छन्,
मलाई ऐठन हुन्छ,
मानौँ
मलाई नै कारागारमा थुनिएको छ।
फेरि बुझ्दिनँ
प्रश्नहरु किन
प्रश्नहरुमै अल्झिन्छन्,
प्रश्नहरु किन,
कारागारमा थुनिन्छन्,
किन सम्बृद्धिका सपनाहरुमा रेटिन्छन्,
किन समानताका आवाजहरुमा रोकिन्छन्,
किन मानवताका मुटु भित्र पसी
त्यसको भल्ब नै बन्द गरिदिेन तम्सिन्छन्।
झसंग हुन्छु,
कुनै दिन प्रश्नहरु हराए भने,
सोच्छु प्रश्नहरु बिनाको जीवन र जगत कस्तो हुँदो हो,
प्रश्नहरु हराउनु भनेको जीवन नै हराएको होकी झैँ गरी
बहकिन खोज्छु,
फेरि अड्किन्छु
प्रश्नहरुनै जीवन होकी
जीवन नै प्रश्नहरु,
त्यसै त्यसै अगाडिका बाटाहरु
अन्धकार भएको देख्छु,
जिन्दगीहरु टक्क अडिएको देख्छु,
रहरहरु जतासुकै भड्किएको देख्छु,
बीच बजारमा,
बीच अन्धकारमा
प्रश्नहरुको अस्तित्वमा म
आफ्नो अस्तित्व खोजी रहन्छु
म आफ्नो अस्तित्वमा
प्रश्नहरुको अस्तित्व खोजी रहन्छु,
रातो दिन प्रश्नहरु मलाई गिज्याई रहन्छन्
आजकल प्रश्नहरुले मलाई
तर्साउन थालेका छन्
बिपनामा, सपनामा,
सायद प्रश्नहरु मबाट
अलग्गिन खोजी रहेछन्
सायद प्रश्नहरु मबाट
अलग्गिन खोजी रहेछन्।