नेपालमा हामी कसरी तर्क गर्छौं भन्ने विषयमा गहिरो संकट देखिन्छ।
सामाजिक सञ्जालदेखि टेलिभिजन बहस, राजनीतिक सभा र निजी संवादसम्म — असहमति देखिनासाथ छलफल प्रायः चरम रूप लिन्छ। फरक विचारलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा मानिँदैन; बरू त्यसलाई व्यक्तिगत अपमान, नैतिक असफलता वा अज्ञानताको प्रमाण ठानिन्छ।
संवादको सट्टा प्रतिरक्षा र शत्रुता हावी हुन्छ। परिणाम स्वरूप अर्थपूर्ण सार्वजनिक संवाद दिनप्रतिदिन दुर्लभ बन्दै गएको छ।
यस अवस्थालाई ऐतिहासिक सन्दर्भसँग तुलना गर्दा विरोधाभास स्पष्ट हुन्छ।
गुरूकुल परम्परामा बहस ज्ञान प्राप्तिको उच्च विधि मानिन्थ्यो। विद्यार्थी र विद्वानहरूबीच हुने शास्त्रार्थ तर्क, प्रमाण र बौद्धिक अनुशासनमा आधारित हुन्थे। बहसको उद्देश्य जित होइन, सत्यको नजिक पुग्नु थियो, र प्रश्न गर्नु बौद्धिक परिपक्वताको संकेत मानिन्थ्यो।
अष्टावक्र र राजा जनकको सभामा भएको शास्त्रार्थ यसको प्रसिद्ध उदाहरण हो, जहाँ अष्टावक्रको सम्मान उनको रूपका कारण होइन, तर्कको गहिराइका कारण भयो।
यस्तै, याज्ञवल्क्य, गार्गी र मैत्रेयीसँगका बहसहरूले गुरूकुलीय बहसहरू विचार र पारस्परिक सम्मानमा आधारित देखाउँछन्।
तर आजको सार्वजनिक संवाद यसको ठीक उल्टो दिशातर्फ गएको छ। बहस बिग्रिने सबभन्दा हानिकारक प्रवृत्तिमध्ये एउटा भनेको विचारमाथि होइन, व्यक्तिमाथि आक्रमण गर्नु हो।
तर्कशास्त्रमा यसलाई एड होमिनेम (ad hominem) भनिन्छ।
यसमा तर्कको गुण जाँच्नुको सट्टा तर्क गर्ने व्यक्तिको चरित्र, पहिचान वा राजनीतिक झुकावमाथि आक्रमण गरिन्छ। कसैलाई 'पक्षपाती', 'अज्ञानी' वा 'राष्ट्रविरोधी' को लेबल लगाएर तर्कलाई जबाफ नदिई खारेज गरिन्छ।
कुनै तर्क गलत हुन्छ भने त्यो तर्ककै कमजोरीका कारण हो, व्यक्तिका कारण होइन।
विडम्बना के छ भने, नेपाली समाजमा आफूलाई हिन्दु परम्पराको अनुयायी भन्ने धेरै भए पनि त्यही परम्पराभित्र विकसित गुरूकुलीय तर्क र बहस संस्कृतिलाई व्यवहारमा बेवास्ता गरिन्छ।
यही कारण तथ्य, तथ्यांक र वस्तुगत विश्लेषणमा आधारित लेख तथा विचारमाथि स्वस्थ बहस हुनुपर्ने ठाउँमा गालीगलौज हावी हुन्छ। यसको पीडित हामी धेरै भइसकेका छौं।
अझ चिन्ताजनक कुरा के हो भने, यी आक्रमणहरू प्रायः सतही सोचमा आधारित हुन्छन्।
शीर्षक मात्र हेरेर निष्कर्ष निकालिन्छ, सामग्री पढ्ने र बुझ्ने धैर्य हराउँदै गएको छ।
वस्तुनिष्ठता र वैज्ञानिक सोचको अभाव
यस संकटको केन्द्रमा वस्तुनिष्ठताको अभाव छ। तर्कहरू आत्मविश्वासका साथ प्रस्तुत गरिन्छन्, तर धेरैजसो प्रमाणले समर्थन गर्दैनन्। दाबीहरूलाई सत्यझैं व्यवहार गरिन्छ, र चुनौती दिँदा तथ्यको आधारमा होइन, भावना, दोहोर्याइ वा व्यक्तिगत आक्रमणमार्फत जोगाइन्छ।
मान्यताहरू परीक्षण गर्ने, परिकल्पनाहरू संशोधन गर्ने र अनिश्चितता स्वीकार गर्ने वैज्ञानिक सोच दैनिक संवादबाट झन्डै हराएको छ। कसैलाई प्रश्न गर्नु बौद्धिक संलग्नता होइन, अपमान ठानिन्छ। तर गलत हुन पाउने स्वतन्त्रता बिना कुनै पनि समाजले सिक्न सक्दैन।
संघीयता र समावेशीतासम्बन्धी बहसमा नीति र तथ्यमा आधारित छलफलको सट्टा असहमति जनाउनेहरूलाई 'विभाजनकारी', 'राष्ट्रविरोधी' वा 'कुनै विशेष समुदायप्रति घृणाले प्रेरित' भनेर लेबल लगाइन्छ।
व्यक्तिकरण र शत्रुतापूर्ण बहस संस्कृति
नेपाली सार्वजनिक संवादको एउटा मुख्य विशेषता यसको तीव्र व्यक्तिकरण हो। विचारहरूसँग जुझ्नुको सट्टा मानिसहरू व्यक्तिमाथि आक्रमण गर्छन्। राजनीतिक बहसहरू चरित्र हत्यामा झर्छन्, र सामाजिक सञ्जालका छलफलहरू लाज लगाउने तथा उपहास गर्ने माध्यम बन्छन्।
विचारहरूलाई तिनको गुणका आधारमा होइन, कसले राखेको हो भन्ने आधारमा—जात, लिंग, वर्ग वा राजनीतिक झुकावका आधारमा— मूल्यांकन गरिन्छ। बहस व्यक्तिगत भएपछि मूल विषय हराउँछ र अहंकार, अपमान तथा प्रभुत्वको प्रतिस्पर्धा मात्र बाँकी रहन्छ।
नीति सम्बन्धी प्रश्न उठ्नेबित्तिकै वक्तालाई 'फलानो पार्टीको मान्छे' वा 'विदेशी दलाल' भनेर आरोप लगाइनु, छलफललाई विषयबाट हटाएर चरित्रमाथि केन्द्रित गर्ने प्रवृत्तिको स्पष्ट उदाहरण हो।
पदानुक्रम र ऐतिहासिक जरो
यी प्रवृत्तिहरू नेपालको ऐतिहासिक सामाजिक संरचनामा गहिरो रूपमा जरा गाडेका छन्। हाम्रो समाज लामो समयदेखि पदानुक्रमित रहँदै आएको छ, जहाँ अधिकारलाई प्रश्न गर्नु हतोत्साहित गरिन्थ्यो।
शासक र नागरिक, जेष्ठ र युवा, शिक्षक र विद्यार्थीबीच संवाद सीमित थियो र सञ्चार माथिबाट तलतिर बग्थ्यो। आज पनि असहमति प्रायः अवज्ञासँग बराबरी गरिन्छ। सत्तामा रहेका व्यक्तिहरू आज्ञाकारिता अपेक्षा गर्छन्, भने सत्ता बाहिरका व्यक्तिहरू नसुन्निएको अनुभूति भएपछि क्रोधका साथ बोल्छन्।
यसले सार्वजनिक संवादलाई विषाक्त बनाउँछ। विद्यालयमा 'बहस नगर' भन्ने संस्कार हावी छ।
शिक्षा प्रणालीको असफलता
शिक्षाले यस ऐतिहासिक विरासत सुधार्न असफल भएको छ। हाम्रो विद्यालय शिक्षा प्रणालीले तर्कभन्दा कण्ठस्थ गर्ने प्रवृत्तिलाई र जिज्ञासाभन्दा आज्ञाकारितालाई प्राथमिकता दिन्छ। विद्यार्थीहरूलाई तर्क निर्माण गर्ने, प्रमाण मूल्यांकन गर्ने वा असहमति सम्मानपूर्वक व्यक्त गर्ने सीप विरलै सिकाइन्छ।
बहस, दर्शनशास्त्र र मिडिया साक्षरता अझै पनि गौण विषयमै सीमित छन्। त्यसैले वयस्क भएपछि हामीसँग गरिमायुक्त बहसका लागि आवश्यक सीपहरू हुँदैनन्। कक्षा कोठामा शिक्षकको भनाइलाई चुनौती दिनुलाई अझै असहमति होइन, अनुशासनहीनता ठानिन्छ।
सामाजिक सञ्जाल एक प्रवर्द्धकका रूपमा
सामाजिक सञ्जालले हाम्रा कमजोरीहरू अझ बढाइदिएको छ।
यसले पुराना द्वारपाल हटाएर सबैलाई बोल्ने मौका दियो, तर जिम्मेवारीको संस्कार विकास गर्न सकेन। यी प्लेटफर्महरूले आक्रोश, उपहास र अतिसरलीकरणलाई पुरस्कार दिन्छन्, जसका कारण चरम अभिव्यक्तिहरू सन्तुलित विचारभन्दा छिटो फैलिन्छन्।
अलगोरिदमहरूले क्रोधलाई प्रवर्द्धन गर्छन् र गुमनामताले उत्तरदायित्व घटाउँछ, जसलाई केही नेताहरूले हतियार बनाउँछन्।
यस्तो वातावरणमा दुर्व्यवहार सामान्य हुन्छ र शिष्टता कमजोरी ठानिन्छ। मेयरले सार्वजनिक रूपमा अशिष्ट शब्द प्रयोग गर्नु र 'सिंहदरबार जलाउने' जस्ता उग्र नारा फैलिनु, आक्रोश र अतिवादलाई नेतृत्वको प्रतीकझैं महिमामण्डन गरिने प्रवृत्तिको स्पष्ट उदाहरण हो।
ज्ञान, बौद्धिक–विरोधी प्रवृत्ति र अभिजात्यवाद
नेपाली समाजमा ज्ञानलाई हेर्ने तरिकाले पनि बहसलाई गम्भीर रूपमा क्षति पुर्याएको छ।
बढी जान्नेहरू — विज्ञहरू, पेशेवर, अनुसन्धानकर्ता — लाई प्रायः अभिजात, जनताबाट टाढा वा घमण्डी भनेर खारेज गरिन्छ। विशेषतः उनीहरूको तथ्यले लोकप्रिय विश्वास वा राजनीतिक शक्तिलाई चुनौती दिँदा।
अर्कोतर्फ, कम जान्नेहरूलाई धैर्यपूर्वक संलग्न गरिनुको सट्टा उपहास गरिन्छ वा बेवास्ता गरिन्छ।
यसले एउटा विरोधाभास सिर्जना गर्छ — बुद्धिमत्ताप्रति आक्रोश, अज्ञानताप्रति उपहास र कसैप्रति पनि सम्मानको अभाव। बौद्धिक–विरोधी प्रवृत्ति र अभिजात्यवादले एकअर्कालाई सुदृढ बनाइरहेका छन्।
विशेषाधिकार र प्रभुत्वशाली कथनहरू
विशेषाधिकारले बहसलाई अझ विकृत बनाउँछ। नेपालको ऐतिहासिक शक्ति संरचनाले केही समूहहरू, विशेषतः खस आर्य र सहरी अभिजात वर्गलाई राजनीति, प्रशासन, सञ्चारमाध्यम र सार्वजनिक कथनहरूमा असमान प्रभाव दिएको छ।
यही प्रभुत्वले कसको आवाज सुनिन्छ र कसका पीडा गम्भीर रूपमा लिइन्छ भन्ने निर्धारण गर्छ। सीमान्तकृत समुदायहरूले प्रतिनिधित्व वा अन्यायबारे प्रश्न उठाउँदा तिनका तर्कहरू प्रायः गुणका आधारमा होइन, भावनात्मक, विभाजनकारी वा राष्ट्रविरोधी भनेर खारेज गरिन्छन्।
अनलाइन दुर्व्यवहारविरुद्ध बोल्ने गायकलाई मुद्दामाथि छलफल गर्नुको सट्टा 'ध्यान खिच्न खोजेको' वा 'सेलेब्रेटी कार्ड खेलेको' भनेर हेला गरिनु, यही प्रभुत्वशाली कथनको स्पष्ट उदाहरण हो।
ध्रुवीकरण र सामाजिक परिणामहरू
यसको प्रतिक्रियामा निराशाले कहिलेकाहीँ कार्यकर्ताहरूलाई चरम भाषातर्फ धकेल्छ, जसले रूढीकरणलाई बल दिन्छ र अभिजात वर्गलाई संवादबाट पन्छिन सहज बहाना प्रदान गर्छ।
यो चक्र निरन्तर चलिरहन्छ।
रक्षात्मक प्रवृत्तिले विशेषाधिकार जोगाउँछ, आक्रोशले टकराव बढाउँछ र संवाद ध्वस्त हुन्छ। वास्तविक समस्याहरू समाधानविहीन रहन्छन्, जबकि तर्कहरू झन् चर्का र ध्रुवीकृत बन्दै जान्छन्।
यसका परिणामहरू गम्भीर छन्।
ध्रुवीकरण गहिरिन्छ, आपसी विश्वास कमजोर हुन्छ र जटिल समस्याहरू नारा र 'ठप्पा' मा सीमित हुन्छन्। भावनात्मक लागतका कारण प्रतिभाशाली र विचारशील मानिसहरू सार्वजनिक संवादबाट पछि हट्छन्, जसले लोकतन्त्र कमजोर बनाउँछ।
एक प्रधानमन्त्रीले सरकारको आलोचना गर्ने नागरिक, पत्रकार र बुद्धिजीवीलाई 'अराजक' वा 'विकास विरोधी' भनेर चित्रित गर्दा बहस नीतिमा होइन, पक्ष–विपक्षको ध्रुवीकरणमा झरेको स्पष्ट देखियो।
विषाक्त संवादको नैतिक मूल्य
यसको एउटा गहिरो नैतिक मूल्य पनि छ।
हामी कसरी तर्क गर्छौ| भन्ने कुराले मानव जीवनप्रतिको हाम्रो मूल्यबोध देखाउँछ। जब तर्क अपमानको हतियार बन्छ, अरूलाई अमानवीय रूपमा हेर्न सिकाइन्छ।
समयसँगै क्रुरता सामान्य बन्छ, सहानुभूति कमजोर हुन्छ र समाजले सामूहिक रूपमा काम गर्ने क्षमता गुमाउँछ।
निरन्तर मौखिक द्वन्द्वमा फसेको देशले न त ऐक्यबद्धता निर्माण गर्न सक्छ, न त साझा उद्देश्य। सामाजिक सञ्जालमा असहमतिकै कारण खुलेआम गाली र धम्की प्रयोग हुनु, बहसले नैतिक सीमाहरू कसरी मेट्दै गएको स्पष्ट संकेत हो।
गरिमायुक्त बहस संस्कृतितर्फ
यो प्रवृत्ति उल्ट्याउनु सजिलो छैन, तर अत्यावश्यक छ। नेपाललाई यस्तो सांस्कृतिक रूपान्तरण चाहिएको छ जसले आवाजको तीव्रता र विषाक्तताभन्दा गरिमा, तथ्य र संवादलाई प्राथमिकता दिन्छ। यस्तो परिवर्तन सामूहिक प्रयास बिना सम्भव हुँदैन।
गुरूकुल परम्पराका मूल सिद्धान्तहरू — प्रश्नलाई स्वागत गर्ने, तर्कलाई प्रमाणले जाँच्ने र कमजोर तर्क परेमा धारणा संशोधन गर्ने —आज पनि मार्गदर्शक हुन सक्छन्।
दीर्घकालीन परिवर्तनको नेतृत्व शिक्षाले गर्नुपर्छ। विद्यालय र विश्वविद्यालयहरूले आलोचनात्मक सोच, बहस र मिडिया साक्षरतालाई केन्द्रीय विषय बनाउनुपर्छ।
युवापुस्तालाई क्रोध बिना तर्क गर्न, ध्यानपूर्वक सुन्न र प्रमाण बदलिँदा धारणा संशोधन गर्न सिकाउनुपर्छ। यस दिशामा काम गरिरहेका बहस सम्बन्धी पहलहरू लोकतान्त्रिक बानी निर्माण गरिरहेका छन् र समर्थनयोग्य छन्।
नेतृत्वकर्ताहरूले पनि मानक तय गर्नुपर्छ। राजनीतिक र सामुदायिक नेताहरूले असहमतिको अवस्थामा पनि शिष्टता देखाउनुपर्छ। सार्वजनिक रूपमा लेख्ने वा बोल्ने नेताहरू र सेलेब्रेटीहरूले आफ्ना अनुयायीहरूबाट अनुकरण गरिन्छ भन्ने बुझ्न आवश्यक छ। अपमानबिना नीतिगत बहस देखिँदा सामाजिक मान्यता बदलिन सक्छ, विशेष गरी महिला र सीमान्तकृत समूह लक्षित दुर्व्यवहारविरूद्ध बोल्दा।
मिडिया र डिजिटल प्लेटफर्महरूले आफूले प्रवर्द्धन गर्ने भाषाशैलीको जिम्मेवारी लिनुपर्छ। मिडियाले आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ, पत्रकारहरूले तमासाभन्दा तथ्यलाई प्राथमिकता दिनुपर्छ। र, प्लेटफर्महरूले नेपाली भाषामा प्रभावकारी संयमनमा लगानी गर्नुपर्छ।
लक्ष्य सेन्सरसिप होइन, खुला संवाद जोगाउनु हो।
अन्ततः नागरिकहरूले नागरिक परिपक्वता अभ्यास गर्नुपर्छ — असहमति हुँदा पनि अर्कोलाई शत्रु नठान्ने, अफवाह अघि सार्नुअघि सोच्ने र प्रमाण खोज्ने बानी विकास गर्ने। नेपालले अपमान र चरमतालाई पुरस्कृत गर्ने समाज बन्ने कि तर्कसंगत, गरिमायुक्त बहसमार्फत समस्या समाधान गर्ने समाज बन्ने भन्ने छनोट गर्न सक्छ।
पहिलो बाटो सजिलो छ; दोस्रो कठिन तर आवश्यक छ र अगाडि लैजाने एक मात्र बाटो यही हो।
(लेखक डा. निर्मल कँडेल स्विट्जरल्यान्डको जेनेभामा कार्यरत मेडिकल इपिडेमियोलोजिस्ट र मानवशास्त्री हुन्।)
एक्सः @kandelnirmal