गत साता सोमबार नेप्से परिसूचकले 'म्याट होल्ड बुलिस प्रवृत्ति' (लगभग उस्तै) आकृति बनायो।
यो आकृतिमा पहिलो दिन लामो सेतो मैनबत्ती बनेको हुन्छ भने त्यसपछिका केही दिन लगातार सानो मैनबत्ती आकृती बनेको हुन्छ।
तर पहिलो दिनको लामो मैनबत्तीको सुरू विन्दुभन्दा तल नेप्से झरेन।
छैटौं दिन भने नेप्से उच्चले बढेर फेरि सेतो मैनबत्ती आकृति बनायो। र, पहिलो दिनको अन्तिम बिन्दुभन्दा माथि नै पुगेर बजार बन्द भयो।
पहिलो दिन २६३३ मा बजार बन्द भएकामा छैटौं दिन भने २६३९ मा बन्द भयो।
बजारले बुलिस प्रवृत्ति नै समात्न सक्ने यसले संकेत गर्छ।
यो आकृति हुबहु म्याट होल्ड बुलिस प्रवृत्ति भने बन्न सकेन। पाँचौं दिनमा बन्नुपर्ने लामो सेतो मैनबत्ती आकृति छैटौं दिनमा बनेको थियो।
त्यसयता फेरि लगभग उस्तै प्रवृत्ति बन्न खोजिएको देखिन्छ। तर पाँच दिनमा बन्नुपर्ने यस्तो आकृति केही फरक देखिएको छ। यसैले यही प्रवृत्ति देखिने सम्भावना भनेर घटेको छ।
त्यसो भए के हुन्छ त?
नेप्सेले केही समयदेखि २६५० विन्दुमा दरिलो प्रतिरोध पाइरहेको छ। गत भदौ २३ गतेयता मात्रै नेप्सेले चार पटक यो विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। तर यो तह पार गर्न सकिरहेको छैन।
अहिले नेप्से निश्चित बिन्दुमा रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा देखिएको छ।

'प्राविधिक विश्लेषण गर्दा अहिले बजारले शक्ति सञ्चय गरिरहेको छ,' प्राविधिक विश्लेषक अजित खनाल भन्छन्, 'अबको पर्खाइ बजार ब्रेक आउट भएर माथि जान्छ कि ब्रेक डाउन भएर तल आउँछ भन्ने हो।'
ब्रेक आउट भएमा बजार केही समय माथि जानेछ भने ब्रेक डाउन भएमा केही समय ओरालो लाग्नेछ। यसपछि आगामी प्रवृत्ती स्पष्ट हुनेछ।
बजारलाई अहिले सकारात्मक प्रभाव पर्ने घटनाहरू नै धेरै छन्। निक्षेपको ब्याजदर न्यून रहनु, कर्जाको ब्याजदर समेत कम रहेको र बैंकिङ क्षेत्रमा पर्याप्त लगानी योग्य रकम हुनु हो।
त्यस्तै, पछिल्लो समय फागुनमा हुने आसन्न निर्वाचनको वातावरण बनिरहेकाले पनि बजारलाई टेवा नै पुग्ने देखिन्छ।
तर पनि लगानीकर्तामा आत्मविश्वास बढ्न नसक्नु, अर्थतन्त्र अपेक्षित दरमा चलायमान हुन नसक्नु, धेरै कम्पनीहरूले लाभांश दिइसकेकाले अब अर्को वर्ष नभई लाभांश प्राप्त नहुने भएकाले पनि बजारले अपेक्षित सकारात्मक गति लिन सकेको छैन।