ऊ
यस्तो छ
ऊ उस्तो छ
उसका के कुरा गर्नु
उसलाई कोही
खुरुखुरु हिँडेको मन पर्दैन
उसलाई कोही
खुसीले मुसुक्क मुस्कुराएको मन पर्दैन
न त उसलाई मन पर्छ
कसैले प्रगतिको लिस्नु उक्लिएको
न त मन पर्छ
कसैले निर्धक्कसँग सास फेरेको
न त मन पराउँछ
अरूका आँगनमा खुसी फुलेको
तसर्थ
यस्तो देख्ने बित्तिकै
एन्जाइटीको बिरामी झैँ
उसको मगज चड्किन थाल्छ
उसको शरीर काँप्न थाल्छ
अनि गिराउन अरू कसैको सुखासन
सल्काउन युद्धको डढेलो
पठाइरहन्छ
उर्वशी र मेनकाहरू
जसले बाँडिरहन्छन् हरेक पल
राहतका प्याकेजसँगै
डेट एक्सपायर भएको
अधिनायकवाद
विखण्डनको तिहुन
अनि
युद्धका मसलाहरू।
जहिल्यै उसले
निलो आकाशमा
स्वच्छन्द छाडिरहन्छ बाजहरू
जसले
निर्धक्कसँग कावा मारिरहन्छन्
मिच्दै साँध र सिमाना
निमोठ्दै मानवताको घिच्रो
र
आफ्ना तिखा आँखाले
खोजिरहन्छन् पर-परसम्म
शान्तिले सास फेरिरहेका
परेवाका माउ अनि बचेराहरू
अनि
एकाएक रातारात झम्टिएर
मनाउँछन् रगतको होली
र
उन्मत्त भई मारिरहन्छन्
साम्राज्यवादको झुसिलो डकार।