अचेल धेरै आरोप सुनिन्छ — हाम्रा स्कुलले 'संस्कार' सिकाउन सकेका छैनन्, केवल किताबी कीरा उत्पादन गरिरहेका छन्!
आजकल पालिकाहरूले पनि आफै पाठ्यक्रम बनाउन थालेका छन्। स्थानीय विषय भनेर आफ्ना रीतिथिति पढाउन खोज्दै छन्। यसले केही सुधारको संकेत गरेको छ।
तर कुरोको चुरोमा पुग्न अझै धेरै समय लाग्छ।
म विद्यालयमा पढ्ने बेलाभन्दा केही समयअघि मात्र 'नैतिक शिक्षा' भन्ने विषय हटाइएको थियो। पाठ्यक्रमबाट नैतिक शिक्षा हराएसँगै हाम्रा कक्षाकोठाबाट नैतिकताको पाठ पनि बिस्तारै हरायो।
लाइक, सेयर र सबस्क्राइबको यो समयमा हामीले विद्यार्थीलाई सगरमाथाको उचाइ कति हो भनेर घोकायौं। तर जीवनमा आइपर्ने समस्याको पहाड कसरी चढ्ने भनेर सिकाउन बिर्सियौं।
एकातिर हामीले असल मान्छे बन्न सिकाउने नैतिक शिक्षा हटायौं, अर्कातिर आज्ञाकारी देखिन सिकाउने १९ औं शताब्दीको औपनिवेशिक सोच बडो जतन गरेर राख्यौं।
त्यो सोच जहाँ अनुशासनको अर्थ 'चुप लाग्नु' र 'आज्ञा पालन गर्नु' हुन्छ। त्यो सोच, जसले अफिस १० बजे पुग्नैपर्छ, बरू कर्मचारी दिनभर हाइ काढेर बसून्, सिर्जनशील काम केही नगरून्, तर ५ बजेसम्म कुर्सी तताउनै पर्छ, नत्र हाकिम साबको गाली खाइन्छ भन्ने सिकाउँछ।
विद्यालयमा अनुशासनको नाममा अर्को रडाको छ — कपाल कति लामो हुनुपर्ने? कस्तो कट हुनुपर्ने? कति वटा चुल्ठी बाट्नुपर्ने? जुत्ताको तुना कसरी बाँध्ने?
मेरो प्रश्न यो नियम किन बनाएको भन्नेमा होइन। मेरो प्रश्न हाम्रो प्राथमिकतामा हो।
आदर्शका कुरा गर्दा हामी कक्षाकोठामा भगवान राम, महान वैज्ञानिक सर आइज्याक न्युटन, भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र कविशिरोमणि लेखनाथ पौड्यालका उदाहरण दिन्छौं।
तर एकछिन सोच्नुहोस् त! न्युटनको कपाल कहिल्यै मिलेको थियो? आइन्स्टाइनको कपाल देख्दा लाग्थ्यो उनले कहिल्यै काइँयो नै चलाएनन्। कविशिरोमणिको त्यो लामो कपाल र दाह्रीले उहाँको कवित्व रोकेको थियो र?
जब हाम्रा विद्यार्थीले तिनै महान् व्यक्तिहरूको जस्तो कपाल बनाउँछन् वा अलिकति फरक देखिन खोज्छन्, तब हाम्रो विद्यालय प्रशासनको टाउको दुख्छ। के दिमागको क्षमता कपालको लम्बाइले निर्धारण गर्छ? हामीले विद्यार्थीको सोच तिखार्ने कि उनीहरूको कपाल मिलेको छ कि छैन भनेर नापेर बस्ने?
अझ गहिरिएर हेर्ने हो भने यहाँ दोहोरो चरित्र अभिभावकको पनि देखिन्छ। एकातिर अभिभावक छोराछोरीले संस्कार सिकून्, ठूलालाई आदर गरून्, चाडपर्व मानून् भन्ने चाहन्छन्। अर्कातिर तिनै अभिभावक छोराछोरीले फरर अंग्रेजी बोलून् (चाहे त्यो अशुद्ध नै किन नहोस्) भन्ने चाहन्छन्। घरमा पाहुना आउँदा 'एउटा शार्दूलविक्रीडित छन्दको कविता सुनाइदेऊ' भनेको सुनिँदैन।
यही विरोधाभासबीच हाम्रो शिक्षा रूमलिएको छ। के हामीले साँच्चिकै नयाँ र आधुनिक शिक्षा दिनुपर्ने हो? दिन सकेका छौं? हाम्रा निजी विद्यालयहरू 'इन्टरनेसनल स्ट्यान्डर्ड' को दाबी गर्छन्, तर के टाइ र सुट लगाउँदैमा शिक्षा इन्टरनेसनल हुन्छ? के हाम्रो शिक्षाले मौलिकता सँगै लगेका छन्?
के नेपाल मात्र यस्तो देश हो जहाँ यो प्रश्न सोधिन्छ?
पक्कै होइन, तर हामीजस्तो विकासोन्मुख देशमा यो प्रश्न अझ पेचिलो बनेको छ।
खासमा शिक्षा कस्तो हुनुपर्छ? यसको उत्तर दिने क्षमता मसँग छैन।
तर शिक्षा बुझेका मान्छेहरूको कुरा सुन्दा र संसारभरिको अभ्यास हेर्दा, सबैको सोच प्रसिद्ध शिक्षाविद सर केन रबिन्सनको आख्यान आसपासमा घुमेको देखिन्छ।
उनको एउटा प्रसिद्ध भनाइ छ — विद्यालयहरूले सिर्जनशीलताको हत्या गर्छन्…शिक्षामा सिर्जनशीलता र साहित्यलाई सँगसँगै लानुपर्छ। हाम्रा विद्यार्थीहरूले 'घोक्न' होइन, 'सोच्न' जान्नुपर्छ, त्यो नै हामीले दिने शिक्षा हो।
यसमा हाम्रो देशको शिक्षा कहाँ छ? हाम्रा सामुदायिक विद्यालय हाम्रो देशकै राजनीतिक र प्रशासनिक अवस्थाको प्रतिबिम्ब जस्तो लाग्छ।
केही सामुदायिक विद्यालय साह्रै राम्रा छन्, उदाहरणीय छन्। केही प्रधानाध्यापक र शिक्षकले रातदिन नभनी प्रयास गर्दै छन्। पालिकाहरू सीमित स्रोत र साधनका बीच थोरै काममा अनि धेरै कुरामा मरीमेटेर शिक्षा सुधार्न लागेका छन्।
तर समग्रमा हाम्रो शिक्षा अल्मलिएको छ, ठ्याक्कै हाम्रो देश जस्तो। यो देश 'नयाँ नेपाल' बनाउन लागेको कति भयो? न देश सोचेजस्तो बन्यो, न हाम्रो शिक्षा।
यो सबमा हामीले अब के गर्ने भन्ने उत्तर खोज्दैछौं होला। त्यो 'हामी' मा म पनि पर्छु, किनकि मलाई त्यस्तो छुमन्तरवाला उत्तर थाहा छैन।
तर के नगर्ने भन्नेबारे चाहिँ केही उपाय छन्।
मेरो अनुभवमा, हामी थोरै शिक्षा बुझेका भनौदाहरू र नीति–नियम बनाउने ठाउँमा भएकाहरूले अब आफ्नो चस्मा बदल्नुपर्छ।
पत्रकार विजय पाण्डेले भनेझैं, हामीले अब 'ठिस्लेषण' (सतही टिप्पणी) गर्ने होइन, गहिरो 'विश्लेषण' गर्न थालौं।
अनि हाम्रो बहसमा 'आलुचनात्मक' चेत होइन, 'आलोचनात्मक' चेतको विकास गर्ने प्रयास गरौं।
जबसम्म हामी 'ठिस्लेषण' मै रम्छौं, तबसम्म 'हाम्रा स्कुलले संस्कार सिकाउन सकेका छैनन्, केवल किताबी कीरा उत्पादन गरिरहेका छन्' भन्ने टिप्पणी सुनिरहनुपर्छ।
सुधार तब हुन्छ, जब हाम्रो प्रश्न 'मेरो बच्चाले जाँचमा कति नम्बर ल्यायो' होइन, 'मेरो बच्चाले आज नयाँ के प्रश्न सोध्यो' भन्ने हुन्छ।
हाम्रो शिक्षा प्रणालीले विद्यार्थीको 'सिर्जनशीलता' लाई किन 'अपराध' जस्तो व्यवहार गर्छ, किन फरक सोच्ने विद्यार्थीलाई 'कमजोर' भनिन्छ भन्ने चिन्तन हुन्छ।
नभए हामीले हाम्रा विद्यालयमा भोलिको कर्णधार होइन, केवल तोकिएको भूमिका निर्वाह गर्ने 'अभिनेता' उत्पादन गरिरहेका हुनेछौं। विद्यार्थीलाई 'मान्छे बन्न' होइन, 'नाटक गर्न' सिकाइरहेका हुनेछौं।
(लेखक हाल संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालयमा शिक्षा नीति तथा नेतृत्व विषयमा विद्यावारिधि अध्ययन गर्दैछन्। उनी विगत १५ वर्षदेखि नेपाली शिक्षा क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्।)