अचेल
नाङ्गा अक्षरहरू
मलाई साउती गर्छन्
एकाबिहानै
बिस्तराहरूमा,
रातको गन्ध नसेलाउँदै
आइपुग्छन् सखारै
नाङ्गा अक्षरहरू,
आँखाका झिसमिसे
तरङ्गहरूमा,
लोभ्याउँदै
मेरा
अर्धचेतन आँखाहरू,
देखाउँदै
तिनका बहुरुपी डालहरू,
छचल्काउँदै
तिनका बैसालु बहाबहरू,
तम्सिन्छन्
नाङ्गा अक्षरहरू
चुम्बन गर्न मेरा
नग्न प्रहरहरू,
एकाबिहानै
बिस्तराहरूमा ।
सोच्छु,
म नाङ्गिनु
र
अक्षरहरू
नाङ्गिनुमा
के फरक
रहेछ,
सम्झन्छु,
भर्खरै नाङ्गिएको रात
र सम्झन्छु
भर्खरै नाङ्गिएको बात,
नाङ्गा अक्षरहरू मलाई
साउती गर्छन्,
म लजाउँ
या नलजाऊँ,
द्विविधामा पर्छु,
नाङ्गा अक्षरहरू
अलमलिदा हुन्
म अलमलिएको देखेर,
नाङ्गा अक्षरहरू छोप्न खोज्छु,
अर्कातिर चिप्लन्छन्, फुत्किन्छन्,
फेरि समात्न खोज्छु
झन छरिन्छन् छरपष्ट,
एकाबिहानै
बिस्तराहरूमा ।
तिनका नग्नताले मलाई
तानिरहन्छ या त
तिनका
बहुरङ्गी चालहरूले
फेरि अलमलिन्छु,
सोच्दछु,
मेरो शरीर
काँप्न खोज्छ आवेशमा,
सायद,
सायद नाङ्गिनुमा
मेरो अस्तित्वको
अर्थ देख्छन् आँखाहरू,
तर फेरि डराउँछु
भित्रभित्रै
नाङ्गा अक्षरहरूसँग,
किन,
किन, तिनिहरू खितखिताउँछन्
घरीघरी,
छोप्न खोज्छु
नाङ्गा अक्षरहरू
फेरि फुत्किन्छन्
कति सजिलै
मेरा वलिष्ठ पञ्जाहरूबाट,
तेत्रा तेत्रा
अजंगका चिजहरू
अठ्याउन सक्ने मेरो
तागत,
यी बबुरा अक्षरहरूसँग
स्खलित हुन खोज्छ,
सम्हालिन्छु
जावा नाङ्गा अक्षरहरू
मेरो महत्तामाथि नै
प्रश्न तेर्स्याउँछन्
एकाबिहानै
बिस्तराहरूमा!
घामको लालिमा
ठोकिन्छ आँखाहरूमा,
झनै अध्यारो भए झैं लाग्छ बिहानी
मलमलका बिछ्यौनाहरूमा,
फेरि
छरपस्ट छरिन्छन्
नाङ्गा अक्षरहरू,
ताण्डव देखाउँदै
अट्टहास गर्छन्,
मेरो आँखै अगाडि अक्षरहरू
मान्छे भएको बहाना गर्छन्,
अक्षरहरू तरबार भएछन् कि क्या हो
चारैतिर भित्ताहरूमा,
मेरो पलङ नै हल्लाए झैं लाग्छ
मेरो घर नै डगमगाए झैं लाग्छ
मलाई नै झम्टिन खोजिरहेछन्,
लुछ्न खोजे झैं गर्छन्
मेरा अलिसान सपनाहरू,
तिखा नङ्ग्राहरू उध्याउँदै,
मलाई नै आक्रमण गर्ने तम्सिरहेछन्
नाङ्गा अक्षरहरू,
हठात,
निकाल्छु बन्दुक
र
ताक्छु तिनै अक्षरहरू,
गर्ल्याम्म ढल्छन भित्ताहरू
तर
ढल्दैनन् अक्षरहरू
ढल्छन् त केवल
मेरा अमुक, निर्जीव पर्खालहरू
मेरा बहुमुल्य सङ्गमरमरहरू
श्याण्डलियरहरू,
म पुरिन्छु
त्यही डंगुरमा,
नाङ्गा अक्षरहरू
मेरै टाउको माथि उफ्रिन्छन्,
म थिचिन्छु,
किचिन्छु,
त्यही भग्नावषेशमा
नाचिरहन्छन्
नाङ्गा अक्षरहरू
निरन्तर
एकाबिहानै
बिस्तराहरूमा।