बुबाको सास चल्न छाड्दा गाउँको वारिपारि शून्य थियो। बिहान–बेलुका छातीमा हावा राखेर बाँचिरहेकी आमाले छोरा फर्किन्छ भनेर झट्ट झ्याल खोलेकी थिइन्। तर त्यो झ्यालबाट जहाज देखिएको थिएन। न त कतै तिनको पाइला, जसले बुबाको मलामी दिनुको साटो म्यासेन्जरमा ‘आरआईपी’ लेखेका थिए।
छोरा विदेशमा— अमेरिका, जापान, कतार... बुढेसकालको सहारा भनेकै फोनको घण्टी! बुबा जानुभयो, पसिना र पीडाको भारी बोकेर। आमाले आँसुको सिन्दूर लगाइन्। तर छोरा फर्किएनन्! भने- भिसा लाग्दै थियो, टिकट महँगो भयो, छुट्टी मिलेन...!
गाउँको आँगन सुनसान छ।
सिँढीको तेस्रो भर्याङमै बुबा पछिल्लो पटक लडेका थिए। त्यहाँ आज कालो झ्याउ परेको छ। तर काठमाडौँको चिया पसलमा त्यही छोरा भन्छ, ‘भोट त हाल्न जानुपर्छ नि यार! फेरि नेताहरू बदल्नुपर्छ!’
बुबा आमाको अनुहार हेर्न नफर्केका ती सन्तान, अहिले भोट हाल्न फर्कन्छु भन्दैछन्।
घामले पोलेको गाउँमा जहाँ आमाले अहिलेसम्म पनि राति झ्याल तिर हेरेर भन्छिन्- ‘बुढाले भन्या थिए, एक दिन आउँछ मेरो छोरो मलामी दिन तर त्यो मलामी होइन, मतको दिन मात्रै फर्कन्छ रे!’
विदेशबाट फर्किने नाममा मात्रै आएका छन् उनीहरू, बुबाको चिहानमाथि एक मुठी माटो राख्नसमेत भ्याएका छैनन्। तर ‘लोकतन्त्र बाँचोस्’ भन्दै फोटो खिचेर फेसबुकमा राख्छन्।
‘गाउँ फर्केर भोट हालियो!’ के उनीहरूले देख्छन् गाउँको पुरानो तुलसीको मठ जहाँ बुबाले सानोतिनो पूजामा पनि भनिदिनु हुन्थ्यो- ‘छोराछोरीको काखमा बाँचौँ।’
अहिले त्यो मठ भत्किएको छ जसरी बूढाबूढीको सपना भत्कियो, सन्तानसँग बाँच्ने! भोट हाल्न फर्कने पाइला चाँडो चले पनि दागबत्ती दिन मन गह्रौँ बनाउँछ भन्ने बुझेनन् उनीहरूले, बाबुको बास्ना छैन। आमाको ओढनी गाउँलेहरूले बिछ्याएका छन्।
तर परदेशबाट फर्केका छोराछोरीले मतपेटीमा खसाल्ने चिठी त राख्छन्। ‘माफ गर आमा!’ भनेर चिठी कहिल्यै राख्दैनन्।
विदेशी भूमिबाट आँट्ने छोरा, सहरमा पनि छ! बुबा कुप्रो ओढेर चिसो पलङमा थरथर काँपिरहनु भएको थियो, आमा त ढोका ढकढक्याएर भन्नुहुन्थ्यो- ‘दिउँला नि यो पटक दागबत्ती तिमी नै देऊ, छोरा...’ तर सहरमा व्यस्त छोरा आएनन्।
बुबा गए, आमा गइन्, गाउँको आँगन सुकेको छ, चुल्हो चिसो छ। तर मतपेटिका बोकेर चुनाव चाहिँ आउँदै छ!
अब गाउँभरि चर्चा छ- ‘यो पटक त फर्कन्छन् रे! भोट हाल्न त आउँछन् रे!’
हो, त्यही छोरा जसले बाबुको अन्तिम मलामी उधारोमा पठाए। त्यही छोरी जसले आमाको मुख हेर्ने दिन पनि ‘ड्युटी छ’ भनेर टारे।
अहिलेलाई नातेदारलाई फोन गर्दैछन्- ‘गाउँ जानुपर्ला नि है! चुनावमा भोट त हाल्नुपर्यो!’
गाउँलेहरू कुर्सी राखेर बाटो हेर्छन्। सन्तान हेर्ने नजर होइन, मत हाल्न फर्केका छोराछोरीको ‘गति’ हेर्ने नजर हो त्यो।
कुन दिन ती छोराछोरी साक्षात् बुबाको चिहान छेउ गएर भनुन्, ‘माफी देऊ बुबा, तिमीलाई मलामी दिन सकिनँ तर म यो चुनावमा फर्किएको छु– भोट हाल्न!’
श्राद्धमा फर्केनन्, संस्कारमा फर्केनन् तर मतदाताको नामावली अपडेट हुँदा मनै–मन गडबडिन्छ।
‘नाम त अझै छ गाउँमा!’
के यही नामको सहारामा मात्रै फर्किन्छन् त सन्तान? वास्तवमा गाउँलेका मन अझै यति सहज छैनन्। आमाको अनुहार भुलेको छ तर नेताको भाषण युट्युबमै हेरेको छ!
त्यही मान्छे अब गाउँ आउँछ- भोट माग्न होइन, भोट हाल्न। तर साँचो भोट त त्यो हो जहाँ बुबा आमाले आँखा चिम्लँदै सन्तानको मुख हेर्न पाउँथे। सहरको गन्धले छोपिएको छ गाउँको माटो, बुबाको हाँसो र आमाको डाक आद्र स्वर बनी आइरहेछ।
‘हे छोरा, तिमीले दागबत्ती नदिएको चित्त दुखेको थिएन तर भोटका लागि फर्केका पाइला हेर्दा, मन पोल्छ नि!’
सायद यो पटक मतपेटीले मात्रै होइन, आँखा रसाउने मतले पनि हिसाब गर्नेछ। दागबत्ती बिना बाँचिरहेछ गाउँको मन तर भोट बिना अब चल्ने छैन तिमीहरूका भाषण।
साँचो प्रश्न त यही हो- ‘दागबत्ती दिनसम्म नफर्केका सन्तान, भोट फेर्न मात्रै फर्किए भने त्यो गाउँले आमाबुबाको हृदय फेरि पोल्दैन र?’