वैशाखको महिना चारैतिर हरियाली सेरोफेरोमा न्याउलीको सुमधुर स्वर सुन्दा स्वर्गको अनुभूति हुन्छ। त्यसमाथि कामको चटारो जेठ, असार गर्दागर्दै खेतिपातीको काम सकियो। बिहान उठ्नु, चुलोचौको गर्नु दिउँसो, गोरु गोठालो जानू, साँझ फेरि चुलोचौको मेरो दिनचर्या नै भैसकेको थियो।
घरमा दुई साना भाइहरु र बिरामी ममी बाहेक अरु कोही नभएकोले म मात्रै सबैको सहारा थिएँ। चुलोचौको गर्नु, गोठालो जानू बाहेक अरु कुनै कामधन्दा नै थिएन लकडाउनको समयमा।
दिनचर्या व्यतित गर्दागर्दै साउन, भदौ, असोज पनि सकियो। दसैँ नजिकै आउदै थियो। सधैँका वर्षजसो घर लिपपोत र सजावटका काममा सबै घरका महिलाहरु व्यस्त देखिन्थे। आफ्नो घर त आफैले सजाउनु पर्ने, सधैँका वर्षजसो ममीले जस्तै मैले पनि लिपपोतको काम सिध्याएँ। दसैँ पनि आयो, सधैंजसो हामी पनि रमायौँ नै।
भाइहरु सानै थिए। साथीहरूसँग रमाइरहेका उनीहरु एकदमै निश्चल देखिन्थे। मानौँ उनीहरु कुनै महलका राजकुमार हुन् तर मेरो मन भने पटक्कै रमाइलो थिएन। आज घरमा बसेको आठ महिना हुन लाग्यो। सधैँभरी चुलोचौको र गोरु गोठालो गरेर मात्रै जीवन सम्भव थिएन। घरव्यवहार चलाउनु पर्ने र आफ्नो पढाइलाई पनि निरन्तरता दिनुपर्ने हुनाले म धनगढी फर्किनु अत्यन्तै आवश्यक थियो।
म धनगढी स्थित एक मोटरपार्ट कम्पनीमा कार्यरत थिएँ। लकडाउनका कारण गाउँ फर्केको म घरमा ममी बिरामी हुँदा काममा फर्किन सकेको थिइनँ। सामान्य ओखतीमुलो गर्दा ममीलाई अलि सन्चो भएकोले घरलाई साना भाइहरुको जिम्मामा छोडेर पुनः आफ्नो कर्यक्षेत्र तर्फ फर्किने निर्णय मैले गरेको थिएँ।
मेरो गाउँबाट धनगढी आउन ६ घन्टा पैदल यात्रापछि मत्रै बीपी नगरबाट बस भेट्न सकिन्छ। तर दसैँ-तिहारको समयमा यात्रुको अत्याधिक चाप हुने हुँदा केही मात्र जिप चल्ने गर्दछन्। दिन बिराएर चल्ने जिपहरुम यात्रुको अत्याधिक चाप हुने गर्दछ। कहिले काहीँ त यात्रुको आपसी झगडा पर्दा अब के गर्ने? भन्नेमा चालकहरु नै दोधारमा पर्ने गर्दछन्।
२०७७ साल कार्तिक ११ गते मैले पनि धनगढी आउनु पर्ने हुनाले १० गतेकै दिन अर्थात् विजया दशमीकै साँझ अत्तरियास्थित गुराँस सुपर यातायातको काउन्टरमा फोन गरेर गाडी आउने नआउने बारे बुझेँ। काउन्टरबाट जवाफ आयो 'सर, भोलि गडसेरा पुगेर फर्किने तीन वटा गाडी छन्।'
मैले उतिबेला नै जवाफ फर्काएँ 'सर मैले भोलि धनगढी जानुपर्ने छ, एउटा सिट मिलाइदिनु हुन्छ की?' काउन्टरबाट सहज उत्तर आयो 'भैहाल्छ नि सर, ढुक्क हुनुस्।'
रातिको एघार बजिसकेको हुनाले म विस्तारामा गएँ र सुतेँ। भोलिपल्ट बिहानै नित्यकर्म सकेर चिया नास्ता तयार पारेँ अनि भाइहरुलाई बिउँझाएर नास्ता खुवाएँ। आफू पनि खाएर ममीसँग बिदा लिएँ। तीन महिनापछि केही दिनको लागि गाउँ फर्किने आश्वासन दिएर म घरबाट निस्किएँ।
जिप पहिल्यै फोन गरेर रोकिराखेको थिएँ मैले। गाडी चालक र साहुसँग राम्रै चिनजान भएको हुनले सिटको लागि मलाई त्यति गाह्रो परेन। जिपले यात्रा सुरु गर्यो। त्यही बेला मेरो खल्तीमा मोबाइलको घण्टी बज्यो। मैले मोबाइल निकालेर हेरेँ, अपरिचित नम्बरबाट फोन आएको थियो।
'हेलो'
उताबाट लेडिज भोइस आयो 'सन्चै हुनुहुन्छ?'
म एकछिन चुप बसेँ। को हुन् उनी ठम्याउन गाह्रो पर्यो 'हजुर म सन्चै छु, कहाँबाट कसको आवाज सुन्दै छु म?'
मेरो प्रश्न सकिन नपाउदै जवाफ आयो 'ल कस्तो नचिन्नु भएको, म समिक्षा।'
एक्कासी म बोल्न थालेँ 'समिक्षा, तिमी? कता छौ? कताबाट भेट्यौ मेरो नम्बर?'
मैले त प्रश्नको वर्षा नै गरेछु। समिक्षाले उत्तर फर्काइन् 'म हजुरलाई सबै कुरा भेटमा नै भन्छु।'
उनले मलाई आफू डडेल्धुराबाट धनगढी जाँदै गरेको कुरा पनि भनिन्। मैले केही भन्न नपाउदै उनले फोन काटिसकेकी थिइन्। त्यसैले उनलाई एउटा मेसेज गरेँ, म पनि आज गाउँबाट धनगढी आउदै छु।
तुरुन्तै रिप्लाई आयो हो 'अहिले कहाँ पुग्नु भयो?' मैले रिप्लाई दिएँ 'भर्खर गडसेराबाट गाडी हिंड्यो।'
उक्त मेसेजमा मैले यो पनि भनेको थिएँ की मेरो फोनमा चार्ज र ब्यालेन्स कम छ, म बुडर पुगेपछि मोबाइल अन गर्छु र रिचार्ज गरेर फोन गर्छु। रिप्लाई आयो 'हस्'।
आफ्नो निरन्तर गतिमा जिप अगाडि बढीरहेकै थियो। मैले फोनको पावर अफ गरेर ब्यागमा राखेँ र सम्झिन थालेँ केही पुराना झलकहरु...
टाटा मोटरपार्ट्सको आधिकारिक डिलर सिप्रदीको पहलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा भेटेको थिएँ मैले समिक्षालाई। देख्नमा अत्यन्तै राम्री उनी बोलीचालीमा र व्यवहारमा पनि आँखामा राखे पनि नबिझाउने थिइन्।
त्यही दिन प्रोग्रामबाट एकछिन समय मिलाएर सामान्य भलाकुसारी गरेका थियौँ हामीले। कुरै कुरामा उनले आफू टाटा मोटर्सको सिस्टम म्यानेजर रहेको मलाई भनेकी थिइन्। मैले आफ्नो गलत परिचय दिएको थिएँ, अर्थात् आफू एक सफ्टवेयर इन्जिनियर भएको।
हुन त म एक वर्कशपको अकाउन्टेन्ट थिएँ। झुटको खेती गर्ने हाम्रो नेपाली प्रवृत्ति अनुसार आफूलाई उपल्लो ओहोदाको देखाउन पछि परिनँ म। अबेर भैसकेकाले त्यो दिन हामीले छुट्ने निधो गर्यौँ। तेस्रो दिन अर्थात् शनिबारको दिन भन्सारमा रहेको फिस रिसोर्टमा भेट्ने गरी त्यो दिन हामी छुट्यौँ।
आज शनिबार पूर्वयोजना अनुरुप फिस रिसोर्टमा भेट्ने गरी म रुमबाट निस्किएँ। आफूसँग बाइक थिएन। टेलिभिजन हेर्दाहेर्दै र चुनावका बेला प्रचारमा जादजाँदै म कुनै नेताभन्दा कम भैसकेको थिइनँ झुट बोल्नमा। मैले म्यानेजर सरलाई भनिहालेँ 'सर मलाई मामाघर जानु छ, मलाई कम्पनीको बाइक चहियो।'
मेरो प्रस्तावलाई सरले सहजै स्वीकार्दै भन्नुभयो 'हुन्छ बाबु विस्तारै जानु, तिम्रो लाइसेन्स छैन अलि विचार गरेर चलाउनु, समयमै फर्किनु।'
मैले सरसँग ४ बजेसम्म आफू कम्पनीमा फर्किने भन्दै निस्किएँ। समिक्षा अघि नै आईसकेकी रहिछन्। मलाई देख्नासाथ मुस्कुराउदै हाइ भन्ने इशारामा हात हल्लाइन्। म बाइक पार्किङ गरेर नजिकै गएँ। हामी एक टेबुलमा बस्यौँ। वेटरलाई दुइटा लेमन टि अर्डर गरेँ।
हाम्रो बीचमा सामान्य गफगाफपछि मैले सिलसिला मिलाउदै आफू कुनै इन्जिनियर नभएर एक वर्कशपको अकाउन्टेन्ट रहेको उनलाई भनेँ। मनमा अनेक अनेक तर्कवितर्क आईरहेकै थिए। समिक्षाले हाँस्दै भनिन् 'खुसी लाग्यो आफ्नो वास्तविकता भन्नु भएकोमा, हुन त झुट धेरै दिन टिक्दैन तैपनि...'
अलिक व्यंग्य गर्दै फेरि भनिन्, 'अझै केही भन्न बाँकी त छैन नि?' म के नै भन्थेँ, चुपचाप त्यसै बसिरहेँ।
मौनतालाई अन्त्य गर्न खोज्दै उनले बोटिङ गर्ने प्रस्ताव राखिन्। मैले सहज स्वीकार्दै भनेँ 'हुन्छ'। हामीले लाइफ ज्याकेट लगायौँ। म बोट तर्फ बढ्दै गर्दा उनले मलाई रोकिन् र भनिन् 'बोटिङ म गर्छु, हजुर पछाडि बस्नुपर्छ।' आफूले कहिल्यै बोटिङ नगरेको ढुंगो खोज्दा देउता मिलेझैँ भयो मलाई।
बोटिङ गर्दागर्दै समिक्षाले मलाई सोधिन् 'हजुर कुन पार्टीलाई सपोर्ट गर्नुहुन्छ?'
मैले केही बुझ्न सकिनँ र सोधेँ, 'के भन्न खोजेको समिक्षा तिमीले?'
व्यंग्यात्मक शैलीमा हाँस्दै जवफ फर्काइन् उनले 'झुट् बोल्नमा खप्पिस हुनुहुँदो रहेछ त्यसैले।' फेरि थपिन् 'अँ साच्चै हाम्रो ओलि बा र हजुरको झुट बोल्ने कम्पिटिसन भयो भने कस्ले जित्छ होला?'
मैले पनि जवाफ फर्काइहालेँ 'बकुल्लाले।'
तालको बीचमा बोट रोकेर निकैबेर हाँसेपछि समिक्षाले जवाफ् फर्काइन् 'बकुल्लाले चाहिँ कसरी नि?'
'बोल्नमा यति खप्पिस बकुल्लाको अघि म र ओलि बा के नै हौँ र?'
भयो सकिन्न हजुरसँग भन्दै फेरि प्रश्न गरिन् 'अब पहाड कहिले जानुहुन्छ नि?'
'अब दश दिनपछि' मैले सहज उत्तर फर्काएँ।
'आज १५ गते, २५ गते जन्छु' र थपेँ 'तिमी नि जाने भए दुइटा टिकट बूक गर्छु?'
हाँस्दै भनिन्, 'हुन्छ मेरो लागि बूक गरिएको टिकट डडेलधुराको बागबजारसम्म हुन पर्छ।'
मैले नि भनिहालेँ 'आफ्नो घर जाने मान्छेलाई टिकट चै अरुले बूक गरिदिनु पर्ने, हेर मन्छे कति कन्जुस हुँदा रैछन्।'
'भयो बाबा भयो, म आफै लिउँला' लाज र हाँसोका बीच समिक्षाले जवाफ फर्काइन्।
उनी केही भन्न खोज्दै थिइन्, मैले प्रसंग मोडिदिएँ 'जाऔँ समिक्षा, म चार बजे कम्पनी पुगिसक्न पर्छ।'
हामी बोटबाट निस्क्यौँ, एकछिन बस्यौँ र मैले छुट्ने कुरा गरेँ। जाँदाजाँदै अब पहाडबाट फर्केपछि भेट्ने भन्दै म छुट्टिएँ।
साँझ हामीबीच दिउँसोको रमाइलोका बारेमा सामान्य कुरा भए। पहाडबाट छिट्टै फर्किनु अनि हामी टाढाको टुरमा जानुपर्छ उनले भनिन्। हुन्छ भन्ने जवफ मैले फर्काएँ। राति अबेर भैसकेको हुनाले हामीले एक-अर्कालाई शुभरात्री भन्यौँ र छुट्टियौँ।
प्राय:जसो मसँग तीन वटा नम्बर हुन गर्दथे, एउटा कम्पनीको नम्बर, अर्को आफ्ना विशेष मान्छेहरुसँग कुराकानी गर्ने नम्बर र तेस्रो बाहिरी साथीहरुको लागि।
अर्को दिन बिहानै म कम्पनीको कामले बाइक लिएर अत्तरिया तर्फ हिडेँ। जोडसँग पानी आउदै थियो, कल्भर्ट क्रस गर्ने क्रममा मेरो खल्तीबाट मोबाइल नालामा खस्यो। रातभरीको पानीले उर्लिरहेको नालामा मेरो मोबाइल समुन्द्रमा ढुंगा खसेझैँ भयो।
खोज्न सम्भव नभएपछि म अगाडि बढेँ। अत्तारियाको काम सिद्ध्याएर म १२ बाजे मात्रै धनगढी फर्किएँ। शनिबारको दिन थियो, खाना खाएर नुहाइधुवाइ गरेँ। एकछिनपछि समिक्षालाई कल गर्न भनी मोबाइल निकालेँ तर मेरो मोबाइल जुनमा समिक्षाको नम्बर थियो अनि जुन मेरो नम्बर समिक्षासँग थियो, त्यो त बिहानै बगिसकेको थियो।
अर्को मोबाइलमा नम्बर नै राखेको थिइनँ। ल्यापटप निकालेँ, वाइफाई अन गरेँ। त्यसपछि फेसबुकमा समिक्षालाई सर्च गरेँ तर मलाई त उनको पूरा नामसम्म थाहा थिएन। समिक्षा नामबाट मात्रै मैले भेट्टाउन सकिनँ। टाटा मोटर्सका धेरै जना स्टाफ साथीहरु फ्रेन्ड थिए मसँग।
प्रत्यक्ष रुपमा मैले सोध्न नसके पनि सबैजनाको फ्रेन्ड लिस्टमा समिक्षालाई सर्च गरेँ तर कुनैमा पनि भेटिनँ। केही दिनसम्म मन बेचैन रह्यो, सम्झी रहन्थेँ म उनलाई। पछि आफूलाई सम्हालेँ। गल्ति मेरै थियो, न त मैले आफ्नो पर्सनल नम्बर दिएँ न त पूरा नाम नै सोधेँ।
आज सात महिनापछि सम्पर्क हुँदा म उनलाई भेट्न आतुर थिएँ। अब मैले बुडरको प्रतिक्षा गर्नु सिवाय अरु कुनै बिकल्प थिएन। फोनमा न त ब्यालेन्स थियो न त चार्ज नै।
गाडी आफ्नै गतिमा निरन्तर गडसेरा, बडीगाड, मुलाईचको खान, हुँदै जोरायल प्रवेश गर्यो। एकछिन रोकेपछि चनकट्टे, रावतकट्टे, धन्नास, सिलामबाग हुँदै बांजीलेकको उकालीमा चढ्यो।
दुर्भाग्य, हामीभन्दा अगाडि गएको जिपको पट्टा भाँचिएछ। एकतर्फी साँघुरो बाटोमा ओभरटेक गरेर जान सम्भव थिएन। आधा घण्टा रोकिएपछि सबैले मिलेर वैकल्पिक बाटो बनाउने निधो गर्यौं। हामी मध्ये दुई जना बुडरबाट कोदालो र सब्बल ल्याउन हिडे, अरु सबै मिलेर ढुंगा थुपार्ने काममा लाग्यौं।
लगभग डेढ घण्टाको निरन्तर प्रयासपछि जिप निस्कने बाटो तयार भयो। त्यहाँबाट जिप निस्किसकेपछि रिठ्ठा, छतिवन हुँदै बुडर पुग्यो। बुडरमा सबै जना खाना खान थाले। मैले एउटा पावर बैँक र एउटा चार्जर लिएँ। मोबाइल चार्ज हुन्जेल जिप स्टार्ट भैसकेको थियो।
म पनि जिपमा बसेँ र समिक्षालाई फोन लगाएँ। एक घन्टी पूरा नहुँदै फोन रिसिभ भयो। मैले पहिलेकै शैलीमा भनिहालेँ 'हेर त मेरै फोनको पर्खाइमा रहिछे।'
हाँस्दै समिक्षाले भनिन् 'हो त, मैले अघि कति पटक फोन ट्राई गरेँ तर स्विच अफ आयो।'
मैले आफ्नो मोबाइलमा चार्ज नभएको हुँदा स्विच अफ राख्नुपरेको जानकारी दिइसकेपछि हाम्रो सामान्य गफगाफको सिलसिला अगाडि बढ्यो। हाम्रो गफगाफ चलिरहेकै थियो।
गाडी आफ्नै गतिमा अगाडि बढिरहेकै थियो। लगभग आधा घन्टाको संवादपछि समिक्षाले आफूहरु भासुभिर नजिक पुगेको र भिडिओ बनाउने कुरा गरिन्। मैले हुन्छ भन्दै फोन राखेँ। फोन राख्दा राख्दै उनले भनिन् 'म खानीडाँडा पुगेपछि फोन गर्छु हस्।'
जिप निरन्तर गतिमा अगाडि बढ्दै सहजपुर, भासुभिर, खानीडाँडा, गोदावरी हुँदै अत्तरिया पुग्यो तर समिक्षाको फोन आएन। म जिपबाट उत्रेँ, अटोरिक्सामा आफ्नो सामान राखेँ र धनगढी तर्फ हिँडेँ। राजापुर निर अटोरिक्सा रोक्न लगाएँ र म आफ्नो रुम तिर लागेँ। सामान कोठामा राखिसकेपछि फ्रेस हुन बाथरुम पसेर नुहाएँ।
साँझ भैसकेको थियो, मन नलगाई नलगाई खान पकाएर खाएँ पनि। घरि घरि मेरा आँखा फोन तर्फ हेरिरहेका हुन्थे तर समिक्षाको फोन आएन। त्यसपछि मैले आफै फोन ट्राइ गरेँ तर स्विच अफ आयो। के भयो होला? म केही सोच्न सक्ने अवस्थामा थिइनँ। खाना खाइवरी भाँडाकुँडा माझिसकेपछि विस्तारामा पल्टिएँ।
टिभी खोलेँ, सधैँ कार्टुन मात्रै हेर्ने म आज समाचार हेर्न थालेँ। एकाएक देखेँ, भासुमा बस पल्टेछ। गाडी नम्बर त्यही थियो जुन समिक्षाले भनेकी थिइन्। हेर्दै थिएँ बस पल्टिदाको दृश्य, देखेँ अगाडिबाट तीव्र गतिमा आईरहेको टिप्परलाई साइड दिने क्रममा बसको पछाडिको पांग्रा धस्रेर बस पल्टिन पुगेको रहेछ।
दिनैजसो सुनिने टिप्परको ठक्करबाट हुने दुर्घटना जस्तै आज त्यो बस पनि टिप्पर आतंककै शिकार हुन पुग्यो। यहाँ न त टिप्परको लागि कुनै नियम छ न त सडकको लागि नै। मनोमानी रुपबाट चल्ने टिप्परहरु ले गर्दा कयौँ मान्छेहरु मृत्युको मुखमा पुगेका छन्।
समिक्षा तिमी मसँग नरहे पनि तिमीसँगको त्यो न्यानो साथ र माया मसँग रहिरहने छ। तिम्रा सपना अधुरै रहेपनि तिमी जस्तै अरु कसैले यस्तो घटनाको शिकार हुन नपरोस्। तिम्रो आत्माले शान्ति पाओस् समिक्षा, हार्दिक श्रद्धाञ्जली!