एक राष्ट्रिय दैनिकमा काम गर्दा ताका एकजना ब्रिटिस नागरिकसँग भेट भयो। म मार्केटिङमा काम गर्दा विज्ञापन खोज्ने क्रममा उनीसँग भएको भेट करिब १ वर्ष जति निरन्तर सम्पर्क रह्यो, धेरै कुरा सिकायो।
पार्कर पेनले टाइप गरे जस्तै सुन्दर अक्षर लेख्ने, अंग्रेजी मात्र बोल्ने, बिहान उठेर नित्यपूजा गर्ने उनले भनेको कुरा साह्रै मर्मस्पर्शी थियो। उनी भन्दथे- ‘अल पिपुल आर लुकिङ फर द जब, हु आर इन जब दे आर अल्सो अनक्वालिफाइड एन्ड हु वान टु इन्टर इन द जब अल्सो अनक्वाइलिफाइड।’
उनको भनाइमा जागिर खाइरहेका र जागिर खान उद्धत रहेकाहरू दुवै अयोग्य छन्। उनको यो भनाइ आज सत्य साबित नभए पनि त्यो बेला सही थियो जस्तो लाग्छ। आजको पुस्ता चलाख छन्, ऊर्जाशील छन् तर एकात्मक, एकोहरो, अल्पदृष्टि छन्।
इमानदारिता पुरानो ज्याकेट हो, त्यो युग समाप्त भइसक्यो। अब त स्मार्ट कमाउ कमाएर देऊ, आफू बन, कम्पनी मालिक बनाऊ भन्ने नारा छ। तर हामी र हाम्रो संस्कार त्यस विपरीत छ; इमानदार बन, ज्ञानी बन भन्ने छ। साँच्चै भन्नुपर्दा आजको दिनमा इमानदार र ज्ञानी मानिस कसैलाई चाहिएको छैन।
धेरै जना मानिससँग उठबस गरियो जागिरको सिलसिलामा तर इमानदारी भन्ने विषय पुरानो सिद्धान्त रहेछ। अब त्यो सिद्धान्त काम छैन।
अस्ति एउटा सरकारी अस्पतालमा गएको। त्यस बखत फार्मेसीमा लामो लाइन थियो। दबाइ लिन पालो कुर्दै थिएँ, आधा घण्टादेखि कहिले कुन झ्याल कहिले कुन झ्याल पठाउँदै थिए। मेरो अगाडि एकजना अधबैँसे महिला हुनुहुन्थ्यो। उहाँले दबाइ किन्ने क्रममा ठुलो नोट दिनुभयो। कर्मचारीले खुद्रा छैन चानचुन पैसा ल्याएर मात्र औषधि लैजानुस् भने।
महिलाले भन्नुभयो, ‘खुद्रा तपाईँहरूले राख्नुपर्छ मैले होइन। मेरो बुढी आमा बेडमा हुनुहुन्छ, ढिला भइसक्यो उपचार गर्न मलाई औषधि दिनुहोस्, पैसा फिर्ता दिनुहोस् अनि मात्र अर्को ग्राहकसँग कारोबार गर्नुहोस् नत्र म यहाँ मेरो काम नसकाएसम्म अरूलाई बेच्न दिन्नँ। टाइप पनि एक घण्टा लगाएर गर्नुहुन्छ। नपुगे अरू मान्छे थप्नुस्। सेवा राम्रो दिनुस्। यस्तो गर्न पाउनुहुन्न।’
त्यसपछि कर्मचारीले पैसा फिर्ता गरे दबाइ दिएर। सबै लाइनमा रहेका मानिस हेरिरहे। ती महिलाको व्यवहारबाट सबैको हड्डी हाँसे जस्तो लाग्दथ्यो। मानौँ सबै लाइनमा रहेका मानिसहरू फार्मेसीको कर्मचारीबाट पीडित थिए।
जागिर खान सबैलाई बाध्यता जस्तै छ। भाउ बेसाहा महँगाइ छ। आम्दानी कम छ, काम नगरे खान लाउन मुस्किल छ। त्यो भए पनि काम गर्ने कर्मचारी र कामदार भएपछि आफूले जिम्मा लिने, कामको कमसेकम हेक्का, जिम्मा, अनुभव, ज्ञान र दक्षता हुनुपर्छ। यो नहुँदा जागिरको रहर मात्र गरेर पुग्दैन सेवाग्राहीलाई समस्या हुन्छ।
सरकारी मात्र होइन, निजीमा समेत ढिलासुस्ती छ। उपभोक्ताप्रति चासो छैन। उपभोक्ता धेरै भएर हो कि अर्थशास्त्री सेजको नियमअनुसार बस्तु सेवाले आफ्नो बजार बिक्री आफै बनाउँछ, यो कारण पनि हुन सक्छ। जहाँ जानुस् उपभोक्तालाई हैरानी छ, हेपाइ छ।
उपभोक्तामा कमजोरी छ, सायद आँखा चिम्लेर विश्वास गर्ने, आफ्नो अधिकारमा सचेत नहुनेलाई हुने त पेलाइ-हेपाइ नै हो। उपभोक्ताहरू बोल्दैनन् बरु उपभोक्ताकर्मी बोल्छन् तर आफ्नो लागि स्वार्थ सिद्धि गर्न नाम उपभोक्ताको बेच्दछन्, उपभोक्ता पीडामा छन्।
हरेक दिनजसो घरबाट निस्केपछि सहचालकदेखि हाकिमसम्म, गार्डदेखि पसलेसम्म सबै जना सबैतिर उपभोक्तालाई कहीँ न कहीँ, केही न केही रूपमा अन्याय छ। सरकारी अफिसमा मूलतः धेरै समस्या छ।
स्मार्ट कसरी बन्ने?
के हो स्मार्ट बन्ने कला?
सबैलाई लाग्छ स्मार्ट बन्छु इमानदार भन्ने कुरा काम गर्दा सिस्टममा रहेपछि इमानदार आफै हुन्छ। मेसिनले गल्ती गर्दैन न त पक्षपोषण पक्षपात गर्दछ। यस कारण सबै डिजिटलाइज भन्दछन्, यसैलाई मानिसहरू अधिक विश्वास गर्दछन्।
अन्त्यमा इमानदारिताभन्दा आजको दिनमा मानिसहरू जबाफदेहिता, जिम्मेवारी, पारदर्शिता चाहन्छन्। इमानदारिता आफैसँग राख्नुस्, आफूप्रति स्वयम आफै इमानदार बन्नुस्, यो नै स्मार्ट कला हो। स्मार्ट भन्नाले कम बोल्ने, अरूको वास्ता नगर्ने, चाहिने विषयमा मात्र अडिने, कुनै एक विषयमा मात्र दक्ष बन्ने नै स्मार्ट हो सायद। आखिर स्मार्ट बन्नुस्, इमानदारी गर्नुस्, जे बन्नुस् युगानुकूल चल्नुस्, यो नै स्मार्ट हो। उमेरले मान्छे स्मार्ट हुने होइन, तरकिब बुद्धि तथा सजगताले मानिस स्मार्ट बन्दछ। जागिर खाने सोच साथ आफूलाई गतिशील बनाउनुहोस् तब स्मार्ट बन्न सक्नुहुन्छ।