धादिङका पोषण रिजाल संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहर गएको दुई वर्षभन्दा बढी भयो।
उनी त्यहाँ घरजग्गा सम्बन्धी कारोबार गर्ने भारतीय रियल–इस्टेट कम्पनी 'लाइका रियाल्टी' मा पोर्टफोलियो म्यानेजरका रूपमा कार्यरत छन्। उनले यो कम्पनीमा काम थालेको नौ महिना भयो।
उनको मुख्य जिम्मेवारी लगानीका सम्भाव्य क्षेत्र अध्ययन गर्नु, घरजग्गा किनबेच गराउनु, भाडामा लगाउनु र बजार प्रवृत्तिको विश्लेषण गर्नु हो। ग्राहकसँग जोडिन उनले सामाजिक सञ्जाललाई प्रमुख माध्यम बनाएका छन्।
'किनबेच गर्ने, भाडामा लगाउने घरजग्गाबारे सामाजिक सञ्जालमा भिडिओ बनाउँछु। धेरैजसो भिडिओ टिकटकमा हाल्छु। ग्राहक त्यहीँ जोडिन्छन्,' पोषणले भने, 'सामाजिक सञ्जालले सहज भएको छ।'
कम्पनीले उनलाई निश्चित तलबका साथै कारोबारका आधारमा कमिसन दिन्छ।
पोषणको स्थायी घर धादिङ हो। तर परिवार काठमाडौं बस्थ्यो। आर्थिक अवस्था राम्रो भएकाले उनलाई खासै मुस्किल भएन।
शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक दोस्रो वर्ष पढ्दै गर्दा उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा तालिम लिन पुगे। फुड एन्ड बेभरेज सम्बन्धी ९ महिनाको तालिम लिए। त्यसमध्ये ६ महिना नाथममा व्यावहारिक कुरा सिकाइन्थ्यो भने बाँकी तीन महिना होटलमा इन्टर्नसिप गर्नुपर्थ्यो।
'त्यही क्रममा इन्टर्नसिप गर्न म हायात होटल पुगेँ। तीन महिनापछि रोजगारीको प्रस्ताव आयो,' उनले भने, 'म पछि हटिनँ। सुरूमा महिनाको पन्ध्र सय रूपैयाँ तलब थियो। खाना, खाजा होटलमै पाइन्थ्यो। आउने–जाने सुविधा पनि होटलले नै दिएको थियो।'
त्यहाँ काम गरेको ६ महिना भएको थियो, उनले पत्रिकामा मलेसियास्थित वाइटिएल ग्रुप अफ कम्पनीजले कर्मचारी मागेको विज्ञापन देखे। यो कम्पनीले विभिन्न देशमा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। त्यसमध्ये उनले मलेसियाको पांगोर लाउट रिसोर्टमा आवेदन दिए।
पोषणका अनुसार ती कम्पनीका प्रतिनिधि अन्तर्वार्ता लिन यहीँ आएका थिए। उनी अन्तर्वार्तामा पास भए। कम्पनीसँग तीन वर्षको काम सम्झौता भयो। कम्पनीले नै निःशुल्क भिसा र टिकट उपलब्ध गराइदियो। खाने, बस्ने सुविधासहित आठ सय रिंगेट तलब थियो।
उनी सन् २००५ अक्टोबरमा मलेसिया उडे।

'विदेश जाने सपना थियो, पूरा हुँदा म खुसी भएँ,' उनले भने।
उनी रिसोर्टमा वेटरका रूपमा गएका थिए। आफू काममा मेहनती भएकाले केही समयमै पद र तलब दुवै बढेको उनले बताए। काम पनि चित्त बुझ्दो थियो। त्यसैले उनले समय थपेर काम गरिरहे। नेपाल आउजाउ गरिरहन्थे। यहीबीच बिहे पनि गरे।
उनले त्यही कम्पनीका तीन–चार वटा फरक फरक तारे होटल र रिसोर्टहरूमा काम गरे।
'बढुवा हुँदा तलब पनि बढ्थ्यो। वेटर भएर गएको म, क्याप्टेन, सुपरभाइजर हुँदै असिस्टेन्ट म्यानेजरसम्म भएँ,' उनले भने, 'जागिर छाड्ने बेला तलब ३५ सय रिंगेट पुगेको थियो।'
उनले त्यहाँ नौ वर्ष काम गरे। त्यसपछि भने नेपालमै काम गर्ने सोचे। आउनेबित्तिकै बत्तिसपुतलीस्थित 'बाजेको सेकुवा' मा अपरेसन म्यानेजरको काम पाए।
त्यहाँ सात महिना काम गरेपछि पोषणलाई आफै केही गर्न मन भयो। उनले सातदोबाटो र पुलचोकमा बाजेको सेकुवाकै फ्रेन्चाइज खोले।
व्यवसाय राम्रै चल्दै थियो, २०७२ सालमा भूकम्प आयो। केही समय व्यवसाय बन्द भयो। सहज हुन नपाउँदै भारतको नाकाबन्दी थपियो।
जसोतसो तीन वर्ष चलाए पनि त्यसपछि धान्न गाह्रो भयो। उनले दुवै रेस्टुरेन्ट बेचेर सीतापाइलामा कफी सप खोले। बिस्तारै अरू दुई ठाउँमा चिकेन स्टेसन र एउटा कफी सप चलाए।
एकै पटक धेरैतिर लगानी उनलाई फापेन। कोरोना महामारी फैलिएपछि व्यवसाय झनै सुस्तायो।
पोषणले फेरि साझेदारीमा रेस्टुरेन्टमा लगानी गरे। राम्रै चल्दै थियो। तर यतिन्जेल उनको थाप्लोमा ऋण धेरै भइसकेको थियो। यहीँ कमाएर तिर्न सक्ने अवस्था नभएपछि उनले विदेश जाने सोचे।
'व्यक्ति र फाइनान्सबाट चर्को ब्याजमा लिएको ३० लाख रूपैयाँ ऋण थियो। यहाँ बसेर साँवा त परै जाओस्, ब्याज पनि तिर्न सक्ने अवस्था थिएन,' उनले भने, 'त्यही बेला दुबईमा रेस्टुरेन्ट चलाइरहेको साथीले साझेदारी गरौं भनेर बोलायो।'
उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो। उनी सन् २०२३ मार्चमा कामदार भिसामा दुबई उडे।
साथीको रेस्टुरेन्टमा काम गरेको तीन महिना मात्रै भएको थियो, उनलाई युबिओसी हस्पिटालिटीबाट प्रस्ताव आयो। तलब–सुविधा राम्रो भएकाले उनले गुमाउन चाहेनन्।
'यो कम्पनीको कन्सल्टेन्सी (विदेश पठाउने), रेस्टुरेन्ट र क्लबमा लगानी थियो। मलाई रेस्टुरेन्ट र क्लबको अपरेसन म्यानेजरको जिम्मा दिइयो। त्यो जिम्मेवारी एक वर्ष सम्हालेँ,' उनले भने।
त्यसपछि उनलाई अर्को अवसर आयो। हाई–प्रोफाइल व्यक्तिको दैनिकी (खाना, बैठक लगायत) व्यवस्थापन गर्ने काम थियो। त्यहाँ उनले चार महिना काम गरे।
त्यो छाडेपछि अहिले उनी घरजग्गा सम्बन्धी काम गर्ने कम्पनीमा जोडिएका हुन्।
'दुबईमा घरजग्गा कारोबार गर्न सहज छ। सबै जना नियममा हुन्छन्। नियम भएपछि काम गर्न सजिलो हुने रहेछ,' उनले भने।
दुबईमा घरजग्गा कारोबार गर्न कम्पनीले लाइसेन्स र पोर्टफोलियो म्यानेजरले ब्रोकरेज कार्ड लिनुपर्छ। यसका लागि पहिले कम्पनीले ब्रोकरको तालिम दिन्छ। तालिममा दक्ष प्रमाणित भएपछि परीक्षा दिएर ब्रोकरेज कार्ड लिन पाइन्छ। परीक्षा दुबईको भूमि विभागले लिने उनले जानकारी दिए।
यसरी ब्रोकरेज कार्ड लिएर पोर्टफोलियो म्यानेजरका रूपमा काम गरिरहेका पोषणलाई धेरैले होटल–रेस्टुरेन्टमा काम गरेको मान्छे यहाँ कसरी आयौ भनेर सोध्छन्। दुवै सेवामा आधारित काम भएकाले फरक नपरेको उनी बताउँछन्।
'फरक क्षेत्र भए पनि सफल भएको छु। काम राम्रो छ। पैसा पनि कमाएको छु,' ४० वर्षीय पोषणले भने, 'नेपालमा व्यवसाय गर्दा लागेको ऋण तिरेँ।'
उनको नेपालमा भएको रेस्टुरेन्ट बन्द भइसक्यो। साझेदारी पनि उनले छाडिसके।
नेपालमा आफ्नो काम सफल नहुनुका कारण भने एकै पटक धेरैतिर लगानी गरेकाले हो भन्ने उनलाई लागेको छ। गल्ती सुधारेर आगामी दिनमा उनले आफ्नै कम्पनी खोल्ने योजना बनाएका छन्।
'रेस्टुरेन्ट खोल्छु कि रियल–इस्टेटकै काम हुन्छ, थाहा छैन। तर आफ्नो कम्पनी चाहिँ दर्ता गर्छु भन्ने छ,' उनले भने।