हिजोदेखि बालाई हल्का ज्वरो आएको थियो; बेलाबेला खोक्नु हुन्थ्यो र सास फेर्दा घाँटी पनि बज्न थालेको थियो। बा बिहान सधैँ नुहाएर पूजापाठ गर्नुहुन्थ्यो र खाना खाएर एक घण्टा करेसाबारीमा फूल र सागपात गोडमेल गर्नु हुन्थ्यो। तर आज खाना खाएर घाममा बस्नुभयो।
म 'सामुदायिक वन उपभोक्ता समूह'मा काम गर्दथेँ। हिजोदेखि नै सामुदायिक बनमा ‘झाडी सफाइ कार्यक्रम’ सञ्चालन भइरहेको थियो। सामुदायिक वनमा प्रमुख जिम्मेवारी मेरो भएकाले बेलैमा खाना खाएर निस्कने सुरसार गर्दै थिएँ। यस्तैमा आमाले भन्नुभयो, ‘तँ आज वन नजा! बालाई सन्चो छैन, औषधी लिन जानुपर्छ।’
‘म नगए त कार्यक्रम नै सञ्चालन हुँदैन त आमा!’ मैले भनेँ।
आमाले भन्नुभयो— ‘मैले होइन, बाले भन्नुभएको औषधी लिन जानुपर्छ भनेर!’
बासँग कुनै प्रश्न वा प्रतिवाद गर्ने चलन थिएन; बाको आज्ञा हामी सबै पालना गर्दथ्यौँ। तर पनि आज चाहिँ मैले वन जानु नै पर्ने थियो किनभने बसाइ आएको छोटो समयमा नै सामुदायिक वनको मुख्य जिम्मेवारीमार्फत यस नयाँ ठाउँ र समुदायमा मेरो पहिचान स्थापित भएको थियो।
वन पैदावार उपयोग गर्न सरल नियम बनाइएको थियो। वनमा गस्ती गर्ने काममा होस् वा डढेलो निभाउने काममा होस् वा नर्सरी लगाउने वा खाली जमिनमा वृक्षारोपण गर्ने काम होस्, सबै काममा मेरो अग्रणी भूमिका थियो। समुदायका सबैले मलाई सम्मानका दृष्टिले हेर्थे, माया गर्दथे। मलाई पनि उनीहरू आफ्ना दाजुभाइ जस्तै लाग्दथ्यो। म आफू जन्मेहुर्केको मेरो पुरानो गाउँमा जस्तै यहाँ पनि सबैसँग हाँस्ने, खेल्ने र रमाइलो गर्दथेँ।
अब आज बाले भनेपछि वन जाने कुरो भएन। भिर्न आँटेको झोला भुइँमा राखेर म बा सुतिरहनु भएको ठाउँमा गएँ। बा घाममा सुतिरहनु भएको थियो, म गएर निधार र नाडी छामेँ। हल्का ज्वरो आएको रहेछ। सास फेर्दा घाँटी पनि बजेको थियो।
बालाई रुघा, मर्की र ज्वरो आउँदा प्रायः सुन्तला, अमला वा कागतीको रस खान दिने गरिन्थ्यो, सन्चो हुन्थ्यो। आज पनि बजार गएर कागती ल्याएर मनतातो पानीमा एक दुई थोपा निचोरेर बालाई पिउन दिएँ।
आमाले मलाई आफूनेर बोलाएर भन्नुभयो– ‘बालाई सारो पार्ला जस्तो छ। जँचाउन जनकपुर लानुपर्छ क्यारे! पैसा कतै सापटी पाइन्छ कि खोजखाज गर् जा!’
म गाउँतिर गएर दुई/चार घरमा प्रयास गरेँ। कतै सफल भइनँ। सबैको केही न केही काम परेको समय रहेछ। 'पैसा बचत गरेर कसले पो राख्छ र' जस्तो लाग्यो।
घरमा आएर आमालाई वस्तुस्थिति बोध गराएँ। आमाले अँध्यारो मुख लगाउनुभयो। अन्त्यमा केही सोचेजस्तो गरेर आमाले भन्नुभयो– ‘मेरो मंगलसूत्र र माडवारी बैंकमा राखेर पैसा निकाल् न त!’
अगाडि पनि अप्ठ्यारो पर्दा बुहारीका गहना धरौटी राखेर काम चलाइएको थियो। ती गहना उकास्न सकिएको थिएन। फेरि पैसाको आवश्यकता परेर आयो। आमाको मंगलसूत्र र माडवारी जस्तोसुकै अप्ठ्यारो पर्दा पनि धितो नराख्ने भनेको थिएँ। यसरी सोचिएकै थिएन। अब के गर्ने!
आफन्तहरूलाई सम्झेँ। यो हाम्रो नयाँ ठाउँ। नजिक कोही थिएनन्। आफन्त नातेदार कोही नजिक नभएको नितान्त एक्लो गाउँमा बसाइ आइएको थियो।
मैले आमासँग जिज्ञासा राखेँ– ‘आमा! अरू केही बेचेर काम चलाऔँ न, हजुरको बुच्चो गला मैले कसरी हेर्नु!’
‘अरू थोक के छ र बेच्ने! मेरै गहना लैजा न। पछि उकासी हालिन्छ नि!’ आमाले भन्नुभयो।
म बढो दोधारमा परेँ। एकातिर बाको उपचार गर्नुपर्ने, अर्कोतिर आमाको गलाबाट मंगलसुत्र फुकाल्नु पर्ने! के गर्ने, के नगर्ने मैले कुनै निर्णय गर्न सकिरहेको थिइनँ। एक्कासि आमाले कानको माडवारी खोल्न लाग्नुभयो। त्यसपछि मंगलसुत्र पनि निकालेर मलाई दिनु भयो।
मेरा आँखाबाट अनायास आँसु बग्न थालेछन्। आमाले नदेख्ने गरी आँसु पुछ्दै आमाका गहना गोजीमा हालेर म उठेँ।
हाम्रो गाउँबाट सदरमुकाम पाँच किलोमिटर जति टाढा थियो। म पेटीबाट आँगनमा झरेपछि आमाले भन्नुभयो– ‘सुन् त, बैंकमा राख्दा पैसा थोरै दिन्छ। दुलहीको गहना राखेकै साहुकोमा राख्नु है।’
घरबाट निस्केको दुई घण्टापछि तीन हजार रुपैयाँ र साहुले दिएको कागजको चिर्कटो मैले आमाको हातमा राखिदिएँ।
आमाले भन्नुभयो– ‘यति मात्र दियो?’
‘योभन्दा बढी आउँदैन भन्यो, आमा!’ मैले भनेँ र बालाई औषधी खुवाएँ।
अब भोलि बिहानै आमा र म बालाई लिएर जनकपुर जाने भयौँ।
बाको घाँटी घ्यार-घ्यार बजिरहेको थियो। उहाँले मलाई नजिकै बोलाउनुभयो र केही नबोली रुन थाल्नुभयो। मेरा आँखा पनि भिजे। मैले त्यति बेला बाको हात आफ्नो हातमा राखेर ‘हजुरलाई केही हुँदैन बा’ मात्र भन्न सकेँ।
बाले पुलुक्क मपट्टि हेरेर भन्नुभयो, ‘मेरो कारणले तैँले दुःख पाइस्, बाबु!’
‘होइन, त्यस्तो केही दुःख भएको छैन, त्यसो न भन्नुस् न बा,’ मैले भनेँ।
बा रुँदै अर्कोतिर फर्किनुभयो।
आमा अलि पर बस्नुभएको थियो। मैले आमासँग गएर सोधेँ— ‘'मेरो कारणले दुःख पाइस्' भनेर के भन्न खोज्नुभएको बाले?’
आमाले भन्नुभयो— ‘'बसाइ जाऔँ' भनेर उहाँले भन्नुभएको हो नि त पहिले।’
मैले भनेँ— ‘बसाइ त हामी सबैको सहमतिले हिँडेको हो नि त!’
‘सहमतिमा हिँडेको भए पनि नयाँ ठाउँमा तैँले दुःख पाउँछस् भन्ने बाको सधैँ चिन्ता छ,’ आमाले भन्नुभयो।
‘मलाई केही दुःख हुँदैन आमा! यहाँ पनि मेरा पुरानो गाउँमा जत्तिकै इष्टमित्र छन्, मर्दापर्दा उनीहरूले सधैँ साथ दिन्छन्,’ मैले भनेँ।
बाले आमा र मलाई नजिकै बोलाउनु भयो। हामी बाको नजिकै गयौँ।
मपट्टि हेरेर बाले भन्नुभयो– ‘म अब धेरै दिन टिक्दिनँ हुँला!’ फेरि केहीबेर रोकिएर बाले मपट्टि सङ्केत गरेर भन्नुभयो— ‘यो पानीबाट कसरी चोखिन्छस् भन्ने साह्रै चिन्ता लागेको छ।’
मैले भने– ‘त्यसो नभन्नु न बा! भोलि औषधी गर्न डाक्टरकहाँ जानु पर्छ। हजुरलाई ठिक भइहाल्छ नि!’
आमाले भन्नुभयो– ‘हजुरले के चिन्ता गर्नुभएको? यहाँ धेरैलाई यसले आफ्ना मान्छे बनाएको छ। सो परि भएन, हजुरलाई अहिले केही हुँदैन।’
‘मलाई कतै नलानु, मेरो अन्तिम बेला भइसक्यो’ बाले भन्नुभयो। केहीबेर रोकिएर फेरि भन्नुभयो– ‘मैलेजस्तो तैँले छोराछोरीलाई घर-व्यवहारमा नअलमल्याउनू, आफूले आधा पेट खाएर भए पनि उनीहरूको पढाइ लेखाइमा बाधा नपुर्याउनू।’
मैले घोसेमुन्टो लगाएर बाका कुरा सुनिरहेँ। बाको घाँटी जोडले बज्न थाल्यो। बा बोल्दाबोल्दै फुसुक्क जानुभयो। हामी सबै क्वाँ-क्वाँ गरेर रुन थाल्यौँ। रुवाबासी सुनेर पल्लो घरका छिमेकी आए। उनैको सहायताले हामीले बालाई तुलसाको मोठमा सार्यौँ।
एकैछिनमा गाउँभरिका मान्छे जम्मा भए। साँझको पाँच बजिसकेको थियो। भोलि मात्रै घाटमा लाने निधो भयो।
‘आँगनमा पाल टाँगेर रुँग्नु पर्छ’ भन्ने चर्चा चल्यो।
तास खेलेर बस्ने कुरा पनि भयो। कतिपयले आगो बाल्ने ठाउँको तय गर्न थाले भने कसै-कसैले सुत्न खाटको बन्दोबस्त मिलाउने कुरा गरे। यस्ता कुराको प्रतिवाद गर्दै अर्का थरीले भने– ‘सुत्ने भए त घरमै सुते भइगयो नि! यहाँ त रातभर जाग्राम गर्नुपर्छ।’
वैशाखको पूर्वीय हावा चलिरहेको थियो। साँझ सात बजेसम्म मानिसहरूको कल्याङमल्याङ चलिरह्यो। आमा पातलो सारीले मुख छोपेर अझै सुक्क-सुक्क गर्दै हुनुहुन्थ्यो। छोराहरू घरमा थिएनन्; पढ्न जनकपुरमा गएका थिए। म असह्य पीडा र जिम्मेवारीको भारले थकित भएर घोप्टो परेको थिएँ।
धेरै बेरपछि मानिसहरूको कल्याङमल्याङ मत्थर हुँदै गयो। मैले मन्टो उठाएर हेरेँ। दुई/चार जना मान्छे मात्र नजिकमा बाँकी रहेछन्। केही छिनपछि उनीहरू पनि तास लिन जाऔँ भनेर निस्किए। धेरै पछिसम्म पनि तिनीहरू फर्केर आएनन्।
अब घरमा हामी चार जना मात्र बाँकी रह्यौँ।
बाले बेला-बेला मलाई ‘एक्लै बाँच्न सिक्नुपर्छ’ भन्नुहुन्थ्यो। म उहाँको भनाइलाई मनमनै प्रतिवाद गर्दथेँ। म सोच्दथेँ, 'समाजमा रहेर कसरी एक्लै बाँच्न सकिन्छ; समाजमा मान्छे कसरी एक्लै हुन्छ र'! उहाँ भन्नुहुन्थ्यो ‘यहाँ सबैले सहयोगको नाटक मात्र गर्दछन्, स्वार्थ बेगर कसैले कसैको सहयोग गर्दैन। तँ केही गरी लडिस् भने तँ आफैले प्रयत्न गरेर उठ्नुपर्छ, कोही उठाउन आउँदैन।’
त्यति बेला मलाई बाका कुरा पुराना कुरा जस्तो लाग्दथ्यो। तर अहिले आएर बाका कुरा गला लागेर आयो।
मैले निराश भएर आमातिर हेरेँ। आमा दुई वटै डिबियामा बर्तन थप्न लाग्नु भएको रहेछ।
रातको नौ बजिसकेको थियो। बाको सिरानपट्टि आमा सुत्नुभयो, एकातिर छोरी लिएर बुहारी सुतिन्। अर्कातिर म सुतेँ।
राति निद्रा परेन।
बाले पटक पटक भन्नुभएको ‘एक्लै बाँच्न सिक्नुपर्छ, निस्वार्थ सहयोग गर्ने कोही हुँदैन’ भन्ने वाक्यांश बारम्बार दिमागमा आइरह्यो।
आफूले 'मानिस सामाजिक प्राणी हो' भन्ने वाक्य बाल्यकालदेखि सुन्दै र पढ्दै आएको हो। 'समाज, परिवार, मित्रता यी सबै मानव जीवनका आधार स्तम्भ हुन्' भन्ने सूत्र पनि घोक्दै आएको हो। तर जीवनको यात्रामा पर्दा पछाडिबाट एउटा कठोर यथार्थ बारम्बार प्रकट हुँदो रहेछ— संकटको घडीमा मानिस अन्ततः एक्लै हुँदो रहेछ, आफ्नो पीडा आफैले बोकेर हिँड्नु पर्दो रहेछ कोही अरूको पीडा बोक्न आउँदो रहेनछ, आज यति बेला मैले आफूलाई नितान्त एक्लो अनुभव गरेँ, खलखल चिसा पसिना आए, मुटु जोडले ढुकढुक गर्न लाग्यो।
फेरि सम्हालिएँ। बाले 'एक्लै बाँच्न सिक्नू' भनेर एकलकाटे बन भनेको अवश्य होइन भन्ने लाग्यो।
बाले 'आत्मनिर्भरता बन्' भनेको होला। 'अरूको सहानुभूतिमा होइन, आफ्नै साहसमा उभिन सिक्' भन्नुभएको होला। 'सहयोग आयो भने कृतज्ञ हुने, नआए पनि नढल्ने शक्ति आफैभित्र विकास गर्नु' भन्नुभएको होला जस्तो पनि लाग्यो।
'निस्वार्थ सहयोग नहुने यथार्थ स्वीकार गर्दा कठोरभन्दा परिपक्व, अपेक्षाभन्दा आत्मसम्मान र अरूले साथ नदिँदा पनि आँसु लुकाएर अघि बढ्ने क्षमता जन्मिनेतर्फ बाले संकेत गर्नु भएको होला। मनमा यस्तै तीव्र अन्तर्द्वन्द्व चलिरहेको थियो, एक्कासि 'आमा!' भनेर कराएछु।
‘हँ, बाबु! अझै निदाएको छैनस्? एकछिन भने पनि आँखाको बिख मार्नुपर्छ, तँ बिरामी पर्ने भइस्,’ आमाले भन्नुभयो।
यो अवस्थामा पनि आमाले मेरै चिन्ता गरिरहनु भएको रहेछ, आँखा फेरि रसाएर आए।
एक दिन आमाले पनि मलाई छोडेर जानुहुन्छ भन्ने तर्कनाले मुटु काम्न थाल्यो। सुतिरहन सकिनँ, उठेर बसेँ।
आमा कुक्रुक्क परेर सुत्नुभएको रहेछ। छोरीले आमा सम्झेर बाको मृत शरीरलाई अङ्गालो हालेकी रहिछन्। उनको हात र खुट्टा बिस्तारै बाको शरीरबाट हटाएँ, बाले ओढेको बर्को सरेर खुट्टा देखिएको रहेछ, बर्को तानेर बाको खुट्टा छोपिदिएँ।
बुहारी भर्खर झकाए जस्तो लाग्यो।
‘चिभे बाँसेको सुनिस्?’ आमाले भन्नुभयो।
म चुप लागेर बसेँ, फेरि भन्नुभयो, ‘अब चाँडै उज्यालो हुन्छ।’
हामी बाँचेका जति उज्यालोको पर्खाइमा थियौँ। आमा पनि उठेर बस्नुभयो।
यो चिसो रात! जसले परिवारको आदर्श र मूल खाँबो ढालेको मात्र होइन, जीवन सत्यको सघन अनुभूति समेत गराएको थियो।