बिहान ६ बजिसक्दा पनि एकनारायणलाई अझै निद्राले छोड्नै मानेको थिएन। एक्कासि उनको फोनमा घण्टी बज्यो।
‘हेल्लो, आज छोराको जन्म दिन छ, परिवारै आउनुस् है।’
हाराँचा काकाले फेरि थप्नुभयो, ‘लिबाकः च्वने मतय् ,भोछिं भ्वय् झासं।’
छिमेकी काका हाराँचाले छोराको जन्मदिनमा भोजको निम्तो दिएपछि आउँदिनँ भन्न पनि मिलेन। नाइँ, सक्दिनँ वा आउँदिन भन्नु काकाको अपमान हुने देखेर एकनारायणले निमन्त्रणालाई सहजै स्वीकार गरे, ‘हुन्छ, हामी आइहाल्छौँ नि। बरु कति बजे आउँदा होला?‘
यति भनिसक्दा उताबाट फोनको लाइन काटियो।
एक क्षणपछि एकनारायणले मनमनै गमेँ- होइन, आजभोलि भोज पनि कति हो कति! सामान्य जन्मदिनमा पनि भोज बोलाउँछन्, अझ चुल्हे निम्तो। भोज खुवाउनेलाई भन्दा खानेलाई सकस। फेरि भोजमा नगई पनि भएन। नत्र आफूलाई पर्दा कोही आउँदैनन्। एकनारायण आफूभित्रै भुलिरहे।
भान्साबाट श्रीमतीले ठुलो स्वरमा भनिन्, ‘कसको फोन हो?’
एकनारायणले भने, ‘हाराँचाको। छोराको जन्मदिनमा भोज बोलाएका छन्।’
केही बेरमा भान्साबाट एकनारायणकी बुढी इन्द्रमाया तल झरिन् र आफ्नो लोग्नेको हातमा चियाको कप थमाइन्।
‘आऽऽ जानुपर्दैन कहीँ पनि। जन्मदिनमा पनि चुल्है जान्छन् कोही,’ इन्द्रमायाले झर्कँदै भनिन्।
‘नगएर हुन्छ र? आपत् पर्दा तिनै काका चाहिन्छ। नगए रिसाउँछन्। बरु म अफिसबाट फर्कँदा सानो उपहार किनेर आउँला नि हुन्न?’
एकनारायणको कुरा सक्न नपाउँदै इन्द्रमाया कराइन्, ‘आऽऽ जाने भए आफै जानू। म त आउँदिनँ। अनि छोरो अजयलाई लैजानु पनि पर्दैन।’
बुढीको गनगनले एकनारायणलाई एकदम रिस उठ्यो। तापनि आवेशलाई नियन्त्रणमा राखी भने, ‘छिमेकीलाई रिसाउन दिन हुन्न, जानुपर्छ।’
खाना खाइसकेर एकनारायण आफ्नो अफिस लागे। अफिस नपुग्दै फेरि काकाको फोन बज्यो, ‘नआई हुन्न है। हामी तपाईँलाई कुरेर बस्छौँ।’
यो नैतिक दबाबले एकनारायणलाई पर्नु पिर पर्यो। अफिसमा खासै काम पनि थिएन। उनी झोक्राएर बसिरहे। उनलाई बुढी रिसाउनुको कारण थाहा नभएको होइन। थाहा भएरै पनि के गर्ने? आफूले गर्न सक्ने केही होइन।
अफिसको कुर्सीमा बसिरहँदा पनि आरामको अनुभूति चाहिँ पटक्कै भएन।
एक महिना अघिको भोज उनको आँखामा झलझली नाच्न थाल्यो। उनी परिवारसहित आफन्तको व्रतबन्ध भोजमा सरिक भएका थिए। सबै कुरा राम्रै थियो। टोल समाजका सबै गन्यमान्य व्यक्तित्वहरू तथा आफन्तहरू भोजमा सरिक थिए। कोही संगीतको तालमा भनूँ या रक्सीको सुरमा झुमिरहेका थिए।
अजय बुबा र आमाको बिचमा बसेर भोज खाइरहेका थिए। एक्कासि उनले आफ्नो अगाडि रहेको पातको प्लेटलाई आफूतिर ताने। भोजमा सरिक सबै जनाको आँखा अजयतिर सोझियो। अजयलाई यो कुराको हेक्का नै भएन। उनको अवस्थाले हेक्का राख्न पनि दिएन। उनी आफ्नै सुरमा खाँदै थिए। सुकुल भोज भएकाले खानेकुरा थप्न केही मान्छेहरू अगाडि आए। अजयले मासुको भाँडो चिनिहाले। आफूतिर आउँदै गरेको मासुको भाँडो र पनिउँ बेस्सरी समाएर तानिहाले। मासु राख्न आउन मान्छे तर्सिँदा झन्डै मासुको थाल भुइँमै घोप्टियो। चिउरा थप्न आउने हाकुपटासी लगाएकी महिला ट्वाल्ल परिन्।
सबैजना एकनारायणलाई हेरेर आफू आफू कानेखुसी गर्न थाले- कस्तो हरामी बच्चा, सुस्त मनस्थिति जस्ता!
एकनारायणलाई लाज र रिस एकै चोटि उठ्यो। छोराको गालामा एक चड्कन दिए। अजय क्वाँ-क्वाँ रुन थाले। झन् अब अजय सबैको तारो बन्यो।
एकनारायण र इन्द्रमायाको अनुहार रातोपिरो भइसकेको थियो। यतिकैमा अर्को परिकार आइपुग्यो, पंक्वा अर्थात् पाउँको झोल। पाचनको लागि राम्रो भएकाले सबैजना सलिचामा थपी-थपी खाइरहेका थिए र भन्दै थिए- भटिचा जक। वयस्कहरू सानो सलिचामा फिँजयुक्त नेवारी ऐला खाँदै थिए। अनि रङिन पोसाकमा महिलाहरू अन्टी अर्थात् रक्सीको भाँडोबाट सलिचामा रक्सी खनाइरहेका थिए।
इन्द्रमायालाई पनि पंक्वा खान मन लागेको थियो। तर अजयको व्यवहारले केही भन्न सकिनन्। उता एकनारायणको सलिचाले उनलाई गिज्याइरहेको थियो। लाजसरमले खानै सकेनन्। भोजको समाप्तिमा दही र सलाद आउन बाँकी नै थियो। एकनारायण जुरुक्क उठे र छोरोलाई तानेर भोजघरबाट बाहिर निस्के। अजय आउनै मानेका थिएनन्। उनलाई पेट भरेकै थिएन। तर लाजले एकनारायण अघाइसकेका थिए। नभन्दै इन्द्रमाया पनि सँगै बाहिर निस्किन्।
भोजमा अनेक परिकार थियो। ती सबै स्वादिष्ट नै थिए। तापनि एकनारायणलाई भोज खल्लो लाग्यो। त्यसपछि उसले कहिल्यै भोज नजाने वाचा गर्यो। त्यो दिन रातीसम्म आफन्तको फोन आइनै रह्यो। रिसाएर फर्केकोमा आफन्तहरू फोनमा कराइरहेका थिए। तर त्यो फोनले एकनारायणलाई तनावबाहेक केही पनि दिएन।
अजयको लागि बरु घर नै स्वर्ग थियो। कमसेकम आमाबाबुको मायामा रमाउने त गर्थ्यो। तर बाहिरी दुनियाँ उसको लागि जेलभन्दा कम थिएन। जहाँ जाँदा पनि उसको हात समातिएकै हुन्थे। अटिजम र छारेरोगको सम्मिश्रणले अजयको जीवन भताभुङ्ग नै भएको थियो। उनी शब्दहरू दोहोर्याएर भन्थे, कहिलेकाहीँ एकै प्रकृति वाक्यहरू बोल्ने गर्दथे। एउटै खेलौनामा झुमिन्थे। अनि कहिलेकाहीँ गोलो गोलो घुमिरहन्थे।
अजयको उमेर सात वर्ष पुगे पनि दुई/तीन वर्षको बालक जस्तै थियो। जीउ मात्र बाँसजस्तै हलक्क बढेको थियो। तर सोच्ने तौरतरिका र व्यवहार बच्चाको जस्तै थियो। भीडमा ऊ आतिन्थ्यो, झन् असामान्य व्यवहार देखाउँथ्यो। उसको असामान्य व्यवहारलाई देखेर अन्य बच्चाहरू ऊसँग खेल्नै मान्दैनथे। अरू त के कुरा? उसलाई राम्रोसँग चिन्नेले पनि हेय दृष्टिले हेर्थे। मानौँ ऊ अर्कै ग्रहबाट आएजस्तै व्यवहार देखाउँथे। अजयलाई यसबारे केही थाहा थिएन। ऊ त केवल अनजान थियो। तर एकनारायणलाई असह्य पीडा हुन्थ्यो।
रोएर मिल्ने भए त उनी रोएरै आँसुको तलाउ बनाउँथे होलान्। तर तिनको हातमा नियतिभन्दा बाहेक केही थिएन। औषधीले बिसेक गर्ने प्रयास नगरेका होइनन् तर असफल भए। थेरापीले प्रगति हुने आशा बाँकी थियो। एकनारायण त्यही त गर्दै थियो।
अफिसबाट फर्कँदा एकनारायणले चार सय पर्ने एउटा भलिबल किनेर ल्याए। तर भोज जाने हिम्मत भने आउँदै आएन।
हाराँचाको फोन र मेसेजले सताइरहे—’के भयो? हामी कुरिरहेका छौँ।’
एकनारायणले मनमनै भने, ‘म पनि त आउन चाहन्छु नि— हाँस्न, रमाइलो गर्न, पुराना साथीहरू भेट्न कसलाई मन हुँदैन? तर मेरो घरको वातावरण कसले बुझ्ने?’
घरमा अजय खेलिरहेका थिए। बाबालाई देख्ने बित्तिकै टाँसिन आइहाले। झन् भकुन्डो देखेपछि त खोसेर लिइहाले। अजय खेल्दा खेल्दा आफैमा हराए।
एकनारायणले पनि हल्का मुस्कान दिए तर मनभित्र चसक्क भइरहेको थियो। छोराको डर, अस्थिरता र आफ्नो जिम्मेवारी उनलाई एउटै समयमा महसुस भयो।
साँझ ६ बजे, हाराँचाको फोन आयो- ‘के भयो? सबै त आइसके।’
एकनारायणले नम्र स्वरमा जवाफ दिए, ‘अजयलाई आज सन्चो छैन।’
हाराँचालाई एकनारायणको बहाना राम्रोसँग थाहा थियो। रिसाएर फोन राखिदिए। उता अजय भकुन्डोमा कलमले घोचिरहेका थिए। भकुन्डो बाक्लो थियो र हावा फुस्केन, नत्र अघि नै फुटिसक्थ्यो। तर एकनारायणको आत्मसम्मानको भकुन्डो नजानिँदो तरिकाले फुस्किरहेको थियो।
त्यही बेलामा अचानक अजयलाई स्ट्रोक भयो। उनका हातहरू बाउँडिए। खुट्टाहरू पनि कक्रक्क भए। परेलाहरू माथि फर्के। एकनारायणले अजयलाई देब्रेपट्टिबाट बिस्तारै भुइँमा पल्टाए। करिब दश सेकेन्डपछि अजयमा चेतना खुल्यो। उनी फेरि सामान्य भए र टेबुलको मोबाइल लिन दौडिए।
एकनारायणले छोरालाई काखमा ताने र टाउकोमा हातले सुमसुम्याए। अजयले पनि बुबाको हात बेस्सरी अँठ्याए। अनि बिस्तारै भने, ‘आलुचिप खाने।’
छोराको आकस्मिक अनुरोध सुनेर एकनारायणले मुस्कुराउँदै भने, ‘हुन्छ नि। म ल्याइदिउँला।’
बुबाको आश्वासन पाएर अजय खुसीले बुरुक्क उफ्रे।
त्यतिकैमा इन्द्रमाया छेउमा बस्न आइन् र सोधिन्, ‘हाराँचाको घरमा जाने होइन?‘
एकनारायणले हाँस्दै भने, ‘भो अब म जान्नँ।’
उनले मुस्कान दिने प्रयास त गरे तर मनभित्र कसिलो चोट बाँकी नै थियो। एकनारायणले बल्ल बुझे— अजयको भय, घरको शान्ति र बुबाको जिम्मेवारी।
इन्द्रमायाले भने— ‘समाजमा नपर्नु राम्रो होइन।’
एकनारायण चुपचाप बसे, अजयको हात समात्दै। त्यो हात उनको लागि सबैभन्दा ठुलो उत्तर थियो।
उनले धैर्यपूर्वक भनेँ, ‘ऊ अटिजम छ, उसको अनुभव हाम्रोभन्दा फरक छ। हामीले बुझ्नुपर्छ। अजयको मुस्कान, उसको शान्त निद्रा, हाम्रो लागि त्यो भोजभन्दा ठुलो पुरस्कार थियो।’