बन्न त बनेकै छ राजधानीमा धरहरा
उभिन त उभिएकै छन् ठाउँ-ठाउँमा भ्युटावर
गरेका पनि होलान् कसैले
कीर्तिपुरको डाँडामा
४ लाख आम्दानी
आएकै पनि होला कसैको
घरघरमा पाइपलाइनमा ग्यास
तर लागेको देख्दा
एयरपोर्टमा बाहिर जानेको लर्को
गरेको देख्दा देश छोड्न युवाहरूले जमर्को
म भन्न सक्छु
मेरो देशलाई आजकल अलिक सन्चो छैन।
रातभर सिमानामा पहरेदार बनेका सिपाहीहरू
जब बिहान उठेर भाषा परीक्षाको तयारी गर्छन्
देश निर्माणको खाका कोर्ने अधिकृतहरू
जब आत्तिएर आइएलटिएस र पिटिईका फारम भर्छन्
म भन्न सक्दिनँ त्यो देशलाई एकदम ठिक छ
जुन देशमा बिरानो भूमि नै
आशाको किनारा बनेको होस्
जुन देशमा सपना किन्न
पैसा सहारा बनेको होस्
जुन देशमा श्रमको मूल्य सस्तो होस्
जालझेलको मूल्य महँगो होस्
त्यो देशलाई कसरी पो सन्चो होस्
त्यो देशलाई किन पो सन्चो होस्?
जुन देशमा किसानहरू भोकै मर्छन्
श्रमिकहरू आत्महानी गर्छन्
जहाँ विद्यालय कम र म्यानपावर बढी छन्
जहाँ अस्पताल कम र भ्युटावर बढी छन्
जहाँ शिक्षकहरू विद्यालयमा कम
र आन्दोलनमा बढी भेटिन्छन्
जहाँ कर्मचारीहरू अफिसमा कम
र पार्टी कार्यालयमा बढी खटिन्छन्
त्यहाँ कसरी पो सन्चो होस।
जुन देशका जनता बिहान
चिया नपाएको झोकमा मार्क्सवादी बन्छन्
दिउसो खाजा नआएको शोकमा समाजवादी बन्छन्
र बेलुका घरसम्म पुग्दा आफूलाई राजावादी ठान्छन्
त्यो देशको हालत किन पो ठिक होस!
त्यो देशको हालत कसरी पो ठिक होस!
यो देशलाई सन्चो बनाउने
सञ्जीवनी बुट्टी लिन उडेकाहरू
उतै कतै बरालिएर
यही बसेर केही गर्छु भन्नेहरू
भाषण र आश्वासनमै छरालिएर
यो देशलाई अझै बिसन्चो बनाउने छुट
अब हामीलाई छैन
त्यसैले यो बिमारै बिमारले थलिएको देशमा
डाक्टरहरू आउन कुशासनको चिरफार गरुन्
नर्सहरू आउन सान्त्वनाको मलम भरुन्
इन्जिनियर आउन समृद्धिको जग बसाउन
वकिलहरू आउन सुशासनको बहस चलाउनत्त
शिक्षकहरू आउन शान्तिका पाठ पढाउन
कृषकहरू आउन आशाको बीज फलाउन
किनभने
देशलाई बिसन्चो हुनु भनेको
दुखका दिन गन्नु पनि हो
देशलाई सन्चो हुनु भनेको
हाम्रो भविष्य बन्नु पनि हो।