गाउँमा एकाएक मानिसहरू हराउँथे
कहिले केटाकेटी, कहिले बुढाबुढी
वयस्कहरू पनि बेलाबखत खबर नै नगरी
अर्को दिनबाट देखा पर्दैनथे।
दैवको लीला होला भनेर चित्त बुझाउँथे गाउँलेहरू
जिजीविषाको घनचक्करमा परे होलान् भन्ठान्थे
अनि आफ्नो उही पट्यारलाग्दो दैनिकीमा फर्कन्थे
फेरि कहिले को हराउँछ कसलाई के थाहा?
मध्य हिउँद भइसक्यो, छिट्टै बर्खा लाग्नेछ
यसपालि त जसरी पनि घरजम गर्नुपर्छ भनेर
घर व्यवहार मिलाउँदै थिई, जोरजाम गर्दै थिई
मनमनै सपनाको संसार सजाएकी थिई रुद्रकली।
जन्मेको तीन महिनामा नै आमाले संसार छाडेपछि
ढुङ्गा माटोसँग खेल्दै हुर्की ऊ, आफ्नो बाटो आफै बनाई
बाहिर निकै जब्बर देखिन्छे, भित्र निकै कोमल छे
जे देखिन्छे त्यस्ती छैन, जस्ती छे त्यस्तो देखिन्न।
सुटुक्क हराउने नियति छोडेर यसपालि नौलो भयो
सबैलाई साँच्ची राखेर, दिनदहाडै हराउने रे!
सबैले उसलाई बिदा गर्ने रे, अब ऊ कहिल्यै फर्किन्न
जान्दाजान्दै बिदाइमा पनि खुसीयाली मनाउनु पर्ने रे!
धेरै पटक सोची, जाऊँ की नजाऊँ भनेर
बस्न मन थियो, जन्मेको यही छातीमा
आमाले प्राण त्यागेको यही मन्द पवनमा
क्षितिजको लालीसँगै आफू हाँस्न, अरूलाई हँसाउन।
तर यसै भन्न सक्दिन ऊ, के त्यो बिहानी आउला र?
अनायास होस् या अबिर जात्रा गरेर
मानिसहरू यो ठाउँ छोडेर नहराउलान् र?
हराएका सबै कहिल्यै फेरि फर्केलान् र?
दिनरात खटेर एउटा पहाड फोर्न सक्ली
पत्थरमा लेखिएको यो नियति बदल्न सकिन
जल्दाजल्दैको आगोको लप्का पिउन सक्ली
मनको कुनै कुनामा आशाको दियो बलाउन सकिन।
बरु यसै मर्नभन्दा त बहुलाउन निको भन्ने ठानेर
हतारमा आफूभन्दा कान्छो खसम खोजी
अनि बिदाइमा एक पटक घुँक्क आवाज निकाल्दै
आफूभन्दा धेरै ठुलो जहाज चढेकी हो रुद्रकली।