जननी नारी संसार अघि बढाउने एकमात्र
आश सम्झेर रोएँ
त्यही प्रकृयाकै थालनीमा अँध्यारो कोठाको
बास सम्झेर रोएँ
छोरी केही नबोल्नु यसबारे,
पापकर्म हो रजश्वला
आमाले हप्काएर भनेकी आफ्नो मुख
टाँस सम्झेर रोएँ
महिनाभरिमा मेरी छोरी छोराभन्दा कम
छैन भन्ने बाबाले
महिनावारीमा छोरी होस् भनी गराएको
आभास सम्झेर रोएँ
तिरस्कार र घृणाका झुत्रा टालाले
बेरिएर बसेका बेला
मन मस्तिष्कले खोजेको न्यानो मायाको
कपास सम्झेर रोएँ
शारीरिक पीडा त जसोतसो भुलाउन
सक्थेँ होला
तर मानसिक त्रासले अड्किएको
सास सम्झेर रोएँ
मन्दिरकी देवीलाई रगतको बलि दिँदा
धार्मिक विश्वास,
मैले रगत बग्दा मन्दिर छोए हुने
विनाश सम्झेर रोएँ
मृत्युको कारण छाउपडी गोठमा सर्पको
टोकाइ भनी आएछ
उम्केको असली कारक रुढीबादी
अन्धविश्वास सम्झेर रोएँ।