तिम्रा आँखाहरु,
तिम्रा निर्मल, निर्मल
निश्चल, निश्चल
सजीव आँखाहरु,
दोबाटोमा बिछ्याइ बस्यौ,
कहिले दोधारमा त
कहिले मझधारमा बिछ्यायौ,
कहिले अँगेनाका डिलहरुमा
त कहिले भातका थालहरुमा,
कहिले तिहुन तरकारीका कचौराहरुमा
त कहिले अपसानीका घेराहरुमा
बिछ्यायौ,
घिटिक्क, घिटिक्क गला लाग्दा
तिम्रा तिनै पिलपिल, पिलपिल
टिलपिल, टिलपिल आँखाहरु
पानीका अंखोराहरुमा
विछ्याइ बस्यौ,
कहिले बाँझै लडेका
बारीका पाटाहरुमा,
त कहिले पानी छिचोलेका
असारे गह्राहरुमा
बिछ्यायौ,
अक्करे भिरहरुमा
दिनभरि दिनभरि बिछ्याइ राखेका
तिम्रा ती शंकालु, शंकालु आँखाहरु,
पर्खाइको आवेग लम्ब्याउदै
अन्धकारले झपक्कै परेली छोप्दा,
ती राता राता, ताता ताता आँखाहरु
कहिले पल्ला गाउँकी कान्छिकोमा
त कहिले माथ्ला गाउँकी साइलीका
कर्के नजरहरुमा नि बिछ्यायौ,
तिम्रा तिनै लजालु, लजालु आँखाहरु,
नसालु, नसालु आँखाहरु
सुटुक्क, सुटुक्क, खुसुक्क, खुसुक्क
लुकी लुकी, ढुकी ढुकी
कति वैँशालु छातीहरुमा बिछ्यायौ,
तिम्रा ती सुकोमल आँखाहरु,
कहिले आशाका त्यान्द्राहरुमा
त कहिले निराशाका पर्खालहरुमा
बिछ्याइ बस्यौ,
ती ज्वलन्त,
स्वप्निल, स्वप्निल आँखाहरु,
कहिले सपनाका भर्याङहरुमा,
त कहिले विपनाका असह्य चहर्याइहरुमा
बिछ्याइ बस्यौ,
कहिले आकाशका ताराहरुमा
बिछ्यायौ,
त कहिले औंसीका
निष्पट्ट निष्पट्ट अन्धकारहरुमा
बिछ्याइ बस्यौ,
तिनै चुहिने झुपडीहरुमा अनवरत, अनवरत
बिछ्याएका तिम्रा ती सुन्दर आँखाहरु,
कहिले माथि उडेका जहाजहरुमा
बिछ्यायौ,
कहिले परेवाका चुच्चाहरुमा,
त कहिले कौवाका कर्कश
आवाजहरुमा नि विछ्यायौ,
पलपल अरबका चर्का मरुभूमिहरुमा
बिछ्याइ राखेका तिम्रा ती आँखाहरु,
कहिले संसारै चिहाउन उभिएको
बुर्ज खलिफाका टुँडालहरुमा नि बिछ्यायौ,
तिम्रा तिनै मलिन आँखाहरु
कहिले आफ्नै छोराछोरीका भविष्यहरुमा
त कहिले आफ्नै जवानीका छट्पटीहरुमा,
बिछ्यायौ,
हर रातका ऐठनहरुमा,
हर बातका दुखाइहरुमा
हरपल विछ्याएका
तिम्रा ती रोसिला आँखाहरु
कहिले भाग्य लेख्ने भाविका
निष्ठुर चालहरुमा नि विछ्यायौ,
तिम्रा तिनै कोमल कोमल
निर्मल, निर्मल
चन्चल, चन्चल आँखाहरु,
थकित, थकित
बलिन्द्र आँखाहरु
आज फेरि
सपनाका निर्जीव
भग्नावशेषहरुमा
बिछ्यायौ,
सपनासँगै जमेका
समयसँगै अडेका
बन्द बाकसमा ढलेका
कोमल कोमल
निर्मल निर्मल
आँखाहरुमा
बिछ्यायौ।