कविता
हिमालका काखमा पोतिएका हिउँहरू
खेतबारीका गह्रामा रोपिएका बिउहरू
जंगलका घरमा हुर्किएका जिउहरू
आज कता हराए?
ग्रिष्म ऋतुमा पोखिएका शितल रविहरू
जलभूमिमा मौलाएका सुन्दर सजीवहरू
मेलापात गर्दाका रसिला पानी पधेंराहरू
आज कता हराए?
बगरमा उम्रिएका भरिला बालीहरू
पखेरामा सदाबहार फुलेका रंगीन फूलहरू
घाँसे मैदानमा लटरम्म फलेका बयरहरू
आज कता हराए?
वनमौरीको चाकावाला जडिबुटी महहरू
भैंसीको आहार दुधिला हरिया डालाहरू
प्रागंरिक मलबाट उब्जिएका अन्नहरू
आज कता हराए?
पहिरोअघि बसेका सुन्दर बस्तीहरू
आगलागी अघि बनेका हरिया जंगलहरू
बाढीअघि जीवित पशुपंक्षि र मानिसहरू
आज कता हराए?
टाउकोभरि सजिएका काला केशहरू
मुहार अनि शरीरभरि चम्किएका छालाहरू
टल्किएका दाँत अनि फुर्तिला हड्डीहरू
आज कता हराए?
हो त्यसैले
कृत्रिम व्यवहारहरूमा नियन्त्रण गरौं
प्रकृतिलाई सम्मान र माया गरौं
स्रोतहरूको समुचित प्रयोग गरौं
भावी सन्ततिलाई पाठ सिकाऔं
जलवायु परिवर्तनसँग जुध्न सिकौं।