'सर नमस्ते!'
मधुर स्त्री आवाज। फरक्क फर्की हेरेँ। अपरिचित ठाउँमा चिनेका कोही मान्छे नहुँदा पनि मलाई नमस्ते? फरक्क फर्की हेर्नु अघि यति दिमागले सोच्न भ्याइसकेको थियो।
जब फर्की हेरेँ, एउटी केटीले गरेको नमस्ते मेरा लागि हैन भन्ने थाहा भयो। मेरो साथीको लागि थियो त्यो नमस्ते। तर कता कता मलाई सिर्फ दुई शब्दको सर नमस्तेले डोहोर्याइरहे जस्तो भो।
मेरो साथी धेरै लामो घरबिदापछि कार्यालयमा फर्केको थियो र जिद्धी गरेर यसपालि म पनि ऊसँग उसको कार्यक्षेत्र भ्रमणका लागि निस्किएको थिएँ। धेरैपछि कार्य क्षेत्रमा फर्केको उसको लागि थियो, त्यो आतिथ्यता आफ्नै सहकर्मीबाट।
मैले मेरा लागि नमस्ते हैन भन्ने थाहा पाएपछि उनीहरुको संवादमा ध्यान दिइनँ। त्यसै पनि नयाँ ठाउँमा पुगेको मलाई अरु दुईको संवादमा ध्यान दिने कुनै कारण नै थिएन।
उनीहरुको संवाद सकिएपछि साथीले कोठामा आएर केही आफ्नो सहकर्मीहरुको बारेमा बतायो जस्तो कि त्यो कार्यालयको आवास गृहमा को-को कर्मचारी बस्छन्, कुन कोठामा कति जना बस्छन्, को-को कर्मचारी कुन कुन फाँटमा काम गर्छन्, कसको घर कुन ठाउँमा, को विवाहित र को अविवाहित आदि इत्यादि।
यो बीचमा उसले धेरैको पद र नाम पनि सुनाएको थियो जुन कुरामा मैले लगभग अरुचिपूर्वक सुनेर साथ मात्र दिइरहेको थिएँ। कुराकानीको सिलसिला अन्त्य गर्दै उसले भन्यो, 'अँ सुन् त, त्यो अघि नमस्ते गर्ने मिस सँगी सगुन। उहाँको घर पोखरा। लमजुङबाट बसाइसराई गर्नु भएको, घर पोखरामा छ।'
म यात्राको कारण लखतरान थिएँ। उसले उक्त आवास गृहमा बस्ने कर्मचारीहरुको बेलिविस्तार लगाइरहँदा म विस्तारामा कतै फालिएका कपडा जस्तै ढलेको थिएँ। शरीरमा कुनै जाँगर थिएन, मनमा नयाँ ठाउँमा पुग्दाको उत्साहलाई हाइसको यात्रामा भएको भोमिटिङले कतै थिचेको थियो उठ्नै नसक्ने गरी तर एकै अवस्था कहाँ जीवित रहन्छ र?
थकानको अन्त्य र शरीरमा नयाँ उर्जाको सञ्चारको जन्म त जरुर थियो। खालि कति बेला र कुन कुराले गर्ने भन्ने मात्र फरक विषय थियो। अघिसम्म बेपर्वाह ढलेको तन र मनलाई एउटै वाक्यले जर्याक जुरुक पार्यो। अर्धचेत अवस्थामा रहेको मान्छेलाई स्लाइनले चेत फर्काए जस्तो।
'त्यो अघि नमस्ते गर्ने मिसको नाम संगी सगुन।' यही वाक्यको अन्त्यमा आएको नामले झस्काएर तन्द्राबाट ब्युँझायो। अहो! कति सुन्दर नाम। मलाई मिसको आकृतिको कुनै ख्याल नै छैन। मिसको शारीरिक बनोटको कुनै अनुमान नै छैन न त मिसको हाउभाउ या चालचलनको कुनै सम्झना। तर नामले तान्यो एकाएक।
लामो यात्राको कारण हामीलाई अरु केही गर्ने या डुल्ने घुम्ने समय नै थिएन। त्यसै त पुसको छोटो दिन गन्तव्यमा पुगेर सामान्यतया फ्रेस हुँदा नै साँझ परिसकेको थियो। त्यहाँ बस्ने कर्मचारीहरुको लागि मेस सञ्चालन हुँदो रहेछ। खानाको समय भएपछि हामीले मेसमा खाना खाएर सुत्नको लागि होटल तर्फ लाग्यौं।
निदाउनु अघिसम्म पनि एउटै नाम एकोहोरो आइरह्यो। सँगी सगुन। कहिलेकाहीँ आकृतिको कुनै अनुमान नहुँदा पनि नामले कति ठूलो अर्थ राख्दो रहेछ भन्ने कुरा मैले मनमनै लेखाजोखा गरिरहेको थिएँ। नाममा मात्र पनि यति धेरै आकर्षण र शक्ति जिन्दगीमा पहिलोचोटि महशुस गरिरहेको थिएँ सायद।
सँगी तिमी कस्ती छौ भन्ने कुरा मैले थाहा पाउनको लागि मलाई अर्को दिनको कार्यालय समय नै कुर्नु पर्यो। कार्यालयमा साथीको एउटा तालिम थियो। तालिममा आफ्नो प्रशिक्षण छिटो सकाएर हामी गाउँको सिरानमा रहेको होमस्टे घुम्न जाने योजना बनेको थियो र म तालिम अवधिभर बेकामी बन्नेवाला थिएँ।
मैले अध्ययनको लागि कुनै किताब यसपालि बोकेको थिइनँ न त एकोहोरो सामाजिक सञ्जालमा झुण्डिने बानी नै थियो। मोबाइलमा कुनै मुभीहरु पनि डाउनलोडेड थिएन। बिल्कुल नौलो ठाउँमा नौलो थिएँ, म र मेरो लागि समग्र परिवेश नै नौलो थियो।
तसर्थ, म पनि साथीको कार्यालयमा गएर उसको प्रशिक्षण अवधिसम्म समय गुजार्नु पर्ने बाध्यता नै थियो। साथीको कार्यकक्षमा रहेका दुईवटा टेबल मध्ये एक टेबल त्यही सुन्दर नाम भएकी तिम्रो रहेछ जुन कुराकानीको सन्दर्भमा मैले कसैसँग नसोधेर पनि थाहा पाएँ।
साथीले तिमीसँग यसपालि मेरो परिचय बडो बढाइ चढाइ गरेर गरेको थियो। एक बहुप्रतिभाशाली युवा, लेखक, कवि आदि इत्यादि जसले मलाई नै भारी महशुस गराइरहेको थियो। यो तिम्रा प्रति मेरो प्रभाव जीवित राख्नका लागि गरिएको झुर आइडिया हो भन्ने मलाई लागिरहेको थियो।
तिमी निकै कम बोल्यौ। तिम्रो बारेमा पनि साथीले नै बताएकोले मलाई तिम्रो बोली सुन्न हम्मे हम्मे पर्यो। साथी आफ्नो तालिममा सहभागी हुनु अघि कार्यालय प्रमुखको कक्षमा लगेर मेरो परिचय गराउँदै त्यहीँ बस्ने व्यवस्था मिलाएर गयो।
कार्यालय प्रमुखसँग केही समय कुराकानीको बिस्कुन फिँजाएर म बाहिर निस्कँदै थिएँ, तिम्रो बोलीसँग साक्षात्कार हुने मौका पाएँ। सर कता निस्कनु भएको? आउनुहोस् न भित्र। अप्ठ्यारो मुस्कान निकाल्दै म तिम्रो कक्षमा प्रवेश गरेको थिएँ सँगी।
केही औपचारिक कुरा भएपछि तिमीले नै भन्यौ, 'सर, एकछिन बाहिर जाम न घाम ताप्न, यहाँ त निकै चिसो छ।'
मैले सहजतापूर्वक तिम्रो कुरा स्वीकार गरेर बाहिर निस्किएँ। आखिर म पहिले नै घाममा जानको लागि निस्किएको थिएँ। म छिटै मान्छेहरुसँग घुलमिल हुने स्वभावको भए पनि तिमीसँग सरर बोल्न आफैलाई नियन्त्रण गरिरहेको थिएँ।
मेरो कमजोरी धेरै बोल्ने र छिटो जो कोहीलाई भरोषा गर्ने भए पनि तिमीसँग बोल्न सकिरहेको थिइनँ जति म सामान्यरुपमा बोल्ने गर्थें। तर तिमी खुलेर कुरा गरिरहेकी थियौ। तिम्रो नामले म भित्र जगाइरहेको एकप्रकारको कम्पनलाई तिम्रो व्यवहारले थप बलशाली बनाइरहेको थियो।
म निकै एक्लो थिएँ त्यो ठाउँमा। कसरी समय व्यतित गर्ने भन्ने कुराले घोचिरहेको बेला तिमी यसरी प्रस्तुत भयौ मानौं तिमी मेरो लामो समय छुटिएर भेटिएकी मेरो प्रेमिल मित्र हौ। मेरो सखि हौ। मेरो सँगी हौ। तिमीसँग कुरा गर्दा मैले म आफैलाई बिर्सिरहेको थिएँ।
मेरो अस्तित्व र उपस्थिति फरक ठानिरहेको थिएँ। एक प्रकारले भन्ने हो भने म तिम्रो प्रेममा परिसकेको थिएँ। तर यी कुराहरु अव्यक्त थिए। शब्दको अभिव्यक्तिभन्दा निकै शक्तिशाली हुन्छ भावनाको अभिव्यक्ति।
मौनतामा पनि धेरै कुराहरु जीवित रहेका हुन्छन् तर अहँ! यी कुनै कुराको पनि गुन्जायस हुन दिएको थिएन मैले किनकि मलाई जबरजस्त तिम्रो अघि एक भद्र पुरुष बन्नु परेको थियो। साथीले जबरजस्त गुथाएको पगरी सायद जोगाउनु पर्ने थियो।
जे होस् तिमी निश्चलरुपमा मसँग साक्षात्कार भैराखेकी थियौ। मैले होमस्टेको यात्रामा तिमीलाई पाउन पाए भन्ने सोच्न थालिसकेको रहेछु। साथीको तालिम सकिएपछि हामी होमस्टेको यात्रामा निस्कियौं जतिबेला तिमीलाई मैले कहर गरेर यात्रामा सामेल गर्न पाए हुन्थ्यो भन्ने भान भैराखेको थियो तर मनमा आएका धेरै कुरा दिमागले नियन्त्रण गर्नु पर्छ।
मनले अवस्था, परिस्थिति, कर्म र परिणामको बारे केही ख्याल राख्दैन। हाजमोलाको विज्ञापन जे आउँछ मजाले पचाउँछ जस्तो मनले जे चाहान्छ मजाले पाएको अनुभूत गर्छ। दिमागले नाफा घाटा, गर्न हुने नहुने भन्न हुने नहुने आदि इत्यादिको लेखाजोखा गरेर मात्र सीमिततामा कैद गर्छ मानवीय पक्षहरुलाई।
तिमीलाई न विगत सम्झेर न वर्तमान र न त भविष्य नै सम्झेर, न त तिम्रो मनोदशा बुझेर न त तिम्रो म प्रतिको धारणा नै बुझेर केही नसोँचेर न केही जानेर प्रेम गर्न थालिसकेको रहेछु सँगी। मनले गरेको प्रेम थियो सँगी त्यो।
दिमागले विश्लेषण गरेर त कहाँ छिनभरमै प्रेम गर्न सक्थ्यो र एक अपरिचित केटीलाई। फेरि यात्रामा देखिने या भेटिने हर कोहीसँग त कहाँ प्रेम हुन सक्थ्यो र! तिमी शारीरिक रुपले निकै आकर्षक हौ भन्न पनि सक्दिनँ, सँगी तिमी बेहद सुन्दर हौ र त तिमीप्रति मोहित भएँ पनि भन्न सक्दिनँ।
फेरि मोह, आकर्षण र माया उस्तै लागेपनि यी निकै फरक कुराहरु हुन्, आकर्षण क्षणिक हुन सक्छ, मोहमा सर्तहरु हुन सक्छन् तर माया त निष्फिक्री हुन्छ, न त समयको सीमितताले बाँध्छ, न त भौतिक परिवर्तनहरुले असर या प्रभाव पार्छ, न त स्थितिजन्य सर्तहरु लागु हुन्छन्। तर यति भन्नै पर्छ, तिमी औसत युवती जस्तै हौ जो यसैपनि सुन्दर हुन्छन्।
रुपको सुन्दरता खोजिने त पुँजीवादी विकृत व्यवस्थामा मात्र हो जहाँ नारीलाई वर्गिकृत रुपमा विनिमयको खजना ठानिन्छ र तदअनुरुप मूल्यांकन गरिन्छ। हरेक युवतीहरु रुपको धरातलभन्दा माथि निस्केर हेर्दा सुन्दर हुन्छन्। प्रकृतिले नारी जातिलाई हरेक हिसाबले सुन्दर बनाएको छ र तिमी पनि त्यही सुन्दर श्रृष्टिको सुन्दर छटा हौ सँगी। मलाई तिमी त्यो समयमा यति प्रिय र महत्वपूर्ण बन्यौ कि म यी शब्दहरुमा व्यक्त गर्न सायदै सक्छु।
तिमीले मेरो होमस्टेको शुभयात्राको यसरी कामना गरेकी थियौ, म तिमीलाई बाटोभरि फर्की फर्की हेर्ने थिएँ मिल्ने भए। म यी सबै कुरा मेरो साथीलाई बताउन खोजेर पनि सकिरहेको थिइनँ। म साथीको सँगी मिससँग प्रेममा परिरहेको थिएँ।
यात्रामा भएको रमाइलोलाई मिसको अनुपस्थिति र यादले कता कता खल्लो बनाइरहेको थियो तर फेरि सँगै आएका कठिनाइहरुलाई पनि मिसकै यादले बिर्साइरहेको थियो। एकै मान्छेको भूमिका कसरी फरक फरक परिस्थितिमा पनि जीवित बनेर समग्र परिस्थितिलाई पनि बिर्साउन सक्ने है सँगी?
म यात्रामा निस्कने बेला मेरा आँखाहरु लुकिलुकि तिमीलाई हेर्न लालायित थिए र तिमी पनि मेरो बाटोभरि नयनका गलैँचा बिछ्याएर बिराजमान थियौ सँगी। होमस्टेको बसाइ सकेर गाउँ झेरेपछि मेरो घर फिर्तिको समय आएको थियो।
म तिमीसँग धेरै कुरा गर्न चाहान्थेँ। म जीवन र जगतका बारेमा तिमीसँग घण्टौंसम्म बहस र छलफल गर्न चाहान्थें र तिम्रा नजरमा नजर ठोकाएर या झुकाएर म प्रेमिल बात मार्न चाहान्थेँ तर हरेक अवस्थाको अन्त्य जरुर हुने प्राकृतिक सिद्धान्त मनन गरेर म त फर्कनु नै थियो।
म फर्कने बेला मन अमिलो बनाएर फर्कनेवाला थिएँ। तिमीसँग छुटिने घडी आयो। तिमी बरण्डामा आड लगाएर केही नबोली मेरो तयारी हेरिरहेकि थियौ। जानेबेला अरु कर्मचारीहरुले झैं तिमीले पनि मेरो शुभयात्राको कामना गर्यौ तर त्यो मेरा लागि आम शुभयात्राभन्दा पृथक थियो।
तिमी एकटकले मलाई हेरिरहेकी थियौ। तिम्रो नजरको माला मेरो बाटोभरि सिंगारेकी थियौ। म मायाले उनिएका माला पैरिएर मेरो यात्रा तय गर्दै थिएँ। मेरा नयनको पहुँच तिमीसम्म पुग्ने बेलासम्म म पछाडि फर्की फर्की हेरिरहेको थिएँ।
तिमी एकोहोरो म तिरै हेरिरहेकी थियौ। त्यतिबेला मेरो मनले भनेको थियो- लुरे तलाई प्रेम गर्ने लुरी भेटीइ। सँगी, त्यो आत्मिक प्रेम थियो बिना कुनै कारण। तिमीसँग बिना कुनै कारण प्रेम भएको थियो।
अरे, न रातभर फोनमा कुरा, न घण्टौंसम्म च्याट, न समाजका आँखा या आफ्नै आँखा बन्द गराइ डेटिङ, न वर्षौं लामो चिनाजानी, न शारिरिक आकर्षणको मोह, न एकै छानोमुनी जीवन व्यतित गर्ने कसम एट लिस्ट एक कप कफी पनि सँगै खाइएको हैन। सँगी, आई वाज इन डिभाइन लभ विथ यू। सिरियस्ली।
बाटोभरि तिम्रो याद बोकेर म घर फर्किएँ। म तिमीलाई कति याद गरें भनेर सुनाउन मसँग तिम्रो फोन नम्बर पनि थिएन न त म्यासेज गर्नलाई तिमी मेरो सामाजिक सञ्जालको साथी नै थियौ।
फेसबुक कम चलाउने भए पनि इन्स्टा या टुइटरमा तिमीलाई खोज्ने चेष्टा पनि गरिनँ। त्यसो त केही क्षणखानी सुन्नु परेपनि मेरो साथीसँग तिम्रो फोन नम्बर मागेको भएपनि सहजै पाउथेँ होला।
अझ उसलाई पनि शंकाको सुविधा नदिएर तिम्रो कार्यालयको वेबसाइट हेरेको भए तिम्रो सम्पर्क माध्यम पाउथें होला। तर अहँ पटक्कै त्यसो गर्न न त दिमागले निर्देशन दियो न त मनले नै चाहना राख्यो। सँगी तिमी मेरो लागि एक आत्मिक सगुन थियौ। भौतिक उपस्थितिको आवश्यकताभन्दा पर धेरै पर।
दिनहरु बितिरहेका थिए, रातहरु बितिरहेका थिए। एकदिन म्यासेन्जरमा म्यासेज रिक्वेस्ट आयो, त्यो पनि तिम्रो नाउँबाट। अहो! कति प्रेमिल क्षण, कति अविस्मरणीय समय। तिमीले मलाई म्यासेज गरेकी थियौ।
म यति धेरै खुसी थिएँ कि बारम्बार मलाई तिमीसँग थोरै भएपनि भएको च्याटलाई स्क्रोल अप एण्ड डाउन गरेर हेरिरहन मन लाग्थ्यो। समय पाएँ कि म म्यासेन्जर खोलेर च्याट हिस्ट्री हेरिरहन्थें। कति प्रेमिल बनायौ तिमीले समय। कति प्रेमिल बनायौ तिमीले मेरो मनस्थिति।
आहा! जिन्दगीमा कसैको उपस्थितिले जिन्दगीकै जिन्दगीको रंग कति उज्यालो बनाउँछ है। थाहा छ हरेक शब्दको अर्थ जीवित रहन्न त्यतिबेलासम्म जतिबेलासम्म त्यो शब्दको प्रयोगात्मक प्रयोग आउँदैन।
'तर' भन्ने शब्दको प्रयोग यस्तैमा आउँछ। यथास्थितिमा सबै कुरा ठिक या बेठिक भैरहेको हुन्छ, जतिबेलासम्म 'तर' को प्रवेश हुँदैन। सबै कुरा बिना कुनै सर्त, बिना कुनै परिधि, बिना कुनै बन्धन, बिना कुनै अभिलाषा, बिना कुनै नियम र बिना कुनै स्वार्थ चलिरहेकै थियो।
तर एकदिन अकस्मात तिम्रो अप्रत्यासित म्यासेज आयो, 'अब म म्यासेज गर्दिनँ र म्यासेज आइहाल्यो भने पनि रिप्लाई गर्दिनँ।' मैले कारण र अर्थ पहिल्याउन कोशिश गरें तर सकिनँ। मबाट भएको केही भुल हो भने भुलसुधारको लागि याचना गरें तर असफल रहें।
बारम्बार म्यासेज गरिरहेँ, म्यासेज सिन भइरह्यो तर प्रतिउत्तर कहिल्यै आएन। म्यासेजमै तिमीले बाँडेको सेल नम्बरमा कल गरें, तिमीले कुरा गर्यौ केही शाब्दिक अर्थलाई बंगाएर। मैले सोँचेँ, कार्यालय समयमा तिमीलाई असहज भयो कुरा गर्न।
फोन राख्ने बेला मैले अपेक्षा पनि राखें, 'साँझ तिम्रो फोन आउँछ लुरी?' प्रतिउत्तरमा तिमीले आउँदैन भन्यौ। यो आशा भन्ने चिज हुँदा पनि जीवनलाई गाह्रो, नहुँदा पनि गाह्रो। नहुँदा जीवन नै नरहला, हुँदा चाहिनेभन्दा धेरै दुःखी बनाउला।
त्यही भएर होला गीतामा भनिएको- कर्म गर तर आशा नगर। मैले थुप्रै साँझहरु कुरिरहेँ, अहँ तिम्रो कल आएन। थुप्रै चोटि म्यासेन्जर अनइन्स्टल गर्दै फेरि इन्स्टल गरिरहें तर केही परिवर्तन भएन। तिम्रो म्यासेज आएन। तिमी साँच्चै वचनको पक्का रहेछौ लुरी।