हुस्स बादलमा
लटरम्म तारा हराएको
भोलिपल्ट बिहान
सूर्य उदाएन
आँखा
आकाशमा सबै कुना
चारै सुरमा गाडेर
अब त उदाउँदा
अब त पक्कै उदाउला
विश्वास
धर्मराएर मक्किन थाल्यो
कालो कुहिरोमा
टहटह जुन हराएको
यो रात
मैले बिना निद्रा
छटपटीमा बिताएको छु
आँखामा
बिहान सूर्य उदाएको हेर्न
क्रमशः
विस्तारै
विरासतमा
तारा पाइन्न रहेछ
जुन पाइँदैन रहेछ
निरन्तर
युग युगदेखि उदाएको
चम्किलो सूर्य उदाएन
म कसको केमा
विश्वास गरौँ?
पटक्कै अरुसँग अविश्वास होइन
हराएको तारा
हराएको जुन
र हराएको सूर्य
साथ होइन र?
मैले आफूसँग विश्वास
गर्नु?
नपर्खेर नै के गर्नु?
न म हराएका तारा खोज्न सक्छु
न म हराएका जुन खोज्न सक्छु
न म हराएका सूर्य खोज्न सक्छु
पखर्नुको विकल्पमा
केही भए- पर्खन्न थिएँ
तारा, जून र सूर्यको
चम्काई, उज्यालो र ताप
हराएको यो बिहान
आजको
सत्य यही हो
उज्यालो खोज्न हिँड्नेहरु
हिँडेका हिँडै छन्
बुद्धदेखि गान्धीसम्म
भेटे भेटेनन्
उनीहरुको कुरा हो
मेरो समयमा त
समय स्वयं टक्क अडिएको छ
समय पनि
सदैव नकुद्ने रहेछ
प्रलय भनेका
सायद यस्तै हुन्छ
मरेका मान्छे त
मरेकै भैगए
जिउँदा पनि मरेका छन्
सृष्टि समाप्त भएको छ
सूर्य आफै निभेर गएको छ।