आफ्नै हातका हत्केलाहरुले सुम्मसुमाएको उसको शरीरलाई आज म कठोर बनी आगोले झोस्दै थिएँ।
मेरी प्यारी बहिनी, तिमीलाई आगोको तापले पोल्यो होला है भन्दै तिम्रो शरीरमा आगो बलिरहन दिएँ मैले र यो सारा समाजले पनि त मौन बसेर तिमी आगोमा जलेको हेरिरह्यो, केबल हेरिरह्यो।
क्षेणभरमै तिम्रो सारा शरीर जलेर खरानी भयो। तिम्रो शरीरसँगै मेरो मन पनि त झलेर खरानी भयो, डडेलो लागेको जंगल जस्तै उजाड भयो।
मैले हरपल 'तिमी भविष्यमा के बन्छेऊ' भन्दा तिमी मुस्कुराउँदै भन्ने गर्थ्यौ बहिनी 'म डाक्टर बनेर मर्न लागेको मान्छेलाई बचाउछु।'
तिम्रो यस्तो उत्तर सुनेर प्रतिउत्तरमा म मुस्कुराइदिन्थेँ मात्र।
लगभग आजभन्दा नौ वर्ष अगाडिको कुरा हो। त्यतिबेला म लगभग पन्ध्र/सोह्र वर्षको जति थिएँ होला अनि मेरी बहिनी निस्ता यस्तै तीन वर्ष जतिकी थिइन्।
मुवा (आमा) बिरामी भएर हस्पिटलको बेडमा हुनुहुन्थ्यो। म बहिनीलाई काखमा समातेर मुवाको छेउमा बसेको थिएँ। बुवा कामको सिलसिलामा विदेश हुनुहुन्थ्यो।
मुवाले बहिनीलाई र मलाई मायालु अनि दयालु नजरले हेर्दै भन्नु भएको थियो 'यदि कतै म मरिहालेँ भने आफ्नो राम्रोसँग ख्याल गर्नु है। बहिनीलाई नपिट्नु, बहिनीले जे भन्छे त्यो पूरा गरिदिनु। मेरो जिन्दगीको भर छैन अब।'
यति भनेर मुमाले सधैँको निम्ति आँखा चिम्लिनु भयो। म सुकेको रुख जस्तै भएर प्यारी बहिनी निस्ता, तिमीलाई काखमा च्यापिरहेँ। मुवा बिते पनि बुवा विदेशबाट आउन पाउनु भएन। मैले नै मुवालाई दागबत्ती दिएँ।
मुवा बितेको एक वर्षपछि मात्र बुवा घर आउनु भयो र फेरि तिम्रो र मेरो सुन्दर भविष्यका निम्ति खाडी मुलुक हानिनु भयो।
तिम्रो यो मृत्युको खबर सुनेर बुवा आज फेरि प्रदेशमा कति भावविह्वल हुनु भयो होला, म कल्पना पनि गर्न सक्दिनँ। मेरी बहिनी तिमीलाई डाक्टर बनाउनका निम्ति पैसा कमाउन बुवा विदेश जानु भएको थियो।
तिमीलाई डाक्टर बनाउने सपना देखेर म पढाइ छोडी मजदुर गर्न जाने गर्थेँ तर तिमी कति निष्ठुरी। हामी सबैको सपना तुवाएर गयौ है। हुन त यसमा तिम्रो के दोष, तिमीले चाहेर हामीलाई यो संसारमा एक्लै छोडेर त गएको होइनौ नि।
'साँझ भेटम्ला है दाइ, बाई' भन्दै तिमी विद्यालय गएकी थियौ। म मजदुरी गर्न गएथेँ। भरे म घर फर्कँदा तिमी घरमा आएकी थिइनौ। छिमेकीबाट तिमी हस्पिटलमा छेऊ भन्ने सुनेर दगुर्दै हस्पिटल गएँ।
म हस्पिटल पुग्दा तिमी पीडाले छट्पटाइरहेकी थियौ, मृत्युसँग लडिरहेकी थियौ। तिमी अर्धनग्न थियौ, तिम्रा कपडाहरु च्यतिएका थिए, आँसुले आँखाहरु भरिएका थिए।
तिम्रो त्यो अवस्था देखेर मैले गहभरि आँसु पार्दै सोधेको थिएँ 'के भयो बहिनी तिमीलाई? कसले गर्यो यो सब?'
तिमीले प्रतिउत्तरमा 'सरी दाइ, मैले हजुरलाई धेरै दुख दिएँ। यो जुनीमा खुसी दिन नसकेपनि अर्को जुनीमा धेरै खुसी दिनेछु। दाइ, बुवालाई नि धेरै सम्झेकी छु भन्दिनु है' भनेऊ र सधैँको निम्ति संसार छोडेर गयौ।
तिमीलाई कति उठाउन खोजेँ, कति रोएँ, कति चिच्याएँ, कति कराएँ तर तिमी उठ्दै उठिनौ। बहिनी, उठ्दै उठिनौ। पछि बुझ्दै जाँदा थाहा भयो, मेरी बहिनी निस्ता तिमी तिम्रै शिक्षकबाट बलात्कृत भएकी रहेछेऊ।
कस्तो अचम्म, पच्चिस तीस वर्षको पुरुषबाट १२/१३ वर्षकी बालिका बलात्कार!
तिम्रो शरीरको मात्र होइन बहिनी, मेरो सुनौलो सपनाको, बुवाको सपनाको अनि तिम्रै सपनाको बलात्कार गरी हत्या भएको छ यहाँ।
तिम्रो डाक्टर बनेर समाज सेवा गर्ने सपनाको बलात्कार भएको छ। बहिनीलाई डाक्टर बनाउने यो तिम्रो दाइको सपनाको बलात्कार भएको छ अनि छोरीलाई डाक्टर भएको हेर्ने बुवाको सपनाको बलात्कार भएको छ।
अझ यो देशले बलात्कारीलाई सजाएको सट्टा हौसला दिएर बलात्कार गर्दै छ हजारौं चेली, हजारौं दाइ-दिदी र हजारौं बा-आमाका सपनाहरु।
मेरी प्यारी बहिनी निस्ता, दाइले मेरो शरीरमा आगो लगायो भनेर नरिसाउनु है। मलाई नबिर्सिनु, बेलाबेलामा सपनीमा आइरहनु। तिमीलाई चितामा राखी आगो लगाउनु मेरो रहर होइन, बाध्यताका थियो।
तिमी अनि तिमी जस्ता हजारौं चेलीको सपनाको न्यायका निम्ति लागिपरेको छु म अचेल बहिनी। तिम्रो आत्मालाई खुसी मिल्ने काम गरेर नै छोड्छु म मेरी प्यारी बहिनी। तिम्रो बलात्कार गर्ने मान्छेलाई नि म एकदिन सजाय दिलाएरै छोड्ने छु।