भर्खर त छोरीले एसइई सकेकी छ,
अझै केही समय पढ्न लेख्न दिनुहोस् न बुबाआमा
हजुरले चिनाएका अक्षरबाट केही बन्ने सपना देख्न थालेकी छु,
त्यो सपनालाई वास्तविक हुन दिनुहोस् न बुबाआमा।
छरछिमेक त भन्छन् एसइई सकेकी छोरी ठूली भइसकी
चढाइदेऊ छिटैडोली नत्र काट्ली नाक
तिनै छरछिमेकको अगाडि म छोरी होइन,
हजुरकी सन्तान हुँ भन्ने कुरा प्रमाणित गर्न दिनुहोस् न बुबाआमा।
बहिरो छ संसार जबसम्म आफ्नो स्वार्थ देख्दैन,
तबसम्म अरुको सुन्दैन वेदना
यति छिटै कसैको भरोसामा मलाई दिएर,
एक्लै छट्पटिने बन्न नदिनुहोस् न बुबाआमा।
फलानो त धनी छ पढायो छोराछोरी, हामी गरिबले कहाँ सक्छौ र!
पढाउन्न नभनि दिनुहोस् न बुबाआमा
हजुरको सम्पत्ति त म नै होइन र?
केही समय मलजल गरी फल्नफुल्न दिनुहोस् न बुबाआमा।
धनी घरानाका माग्न आए भन्दैमा,
मेरो हात नदिनु होस् न बुबाआमा।
के थाहा कुन स्वार्थले सम्बन्ध बनाउन आएका हुन्,
भोलि मेरो औकात केमा मात्र सीमित राख्ने हुन्
त्यो पनि विचार गरिदिनुहोस् न बुबाआमा।
महंगो कलेजबाट डिग्री प्राप्त गरे मात्र,
राम्रो पढाइ र जागिर हुन्छ भन्ने यो समाजमा।
आफ्नै गाउँको कलेमा पढी आफ्नै गाउँ-ठाउँमा,
विकास गर्न दिनुहोस् न बुबाआमा।
हाम्रो लागि बाबासँगको बियोगमा रूँदै कटाएका ती पलहरु,
अनि त्यो तिम्रो त्यागको परिणाम
पर्ख न केही समय पढीलेखी नोकरी खाएर,
बुढेसकालमा सुख दिन्छु बुबाआमा।
छोरालाई पढाए त उसले कमाएर बुढेसकालमा हामीलाई पाल्थ्यो,
छोरीलाई अक्षरसम्म त चिनायौ
अब सक्दैनौ नभनि दिनुहोस् न बुबाआमा।
छोरी नै भए पनि हजुरको सन्तान त हुँ,
पराइ कहाँ हुन्छु र बुबाआमा!
थाहा छ मलाई आमाका मुजा पर्दै गएका गाला,
अनि बाबाका काम्न थालेका हातले आराम गर्न चाहन्छन्,
दुई/चार वर्ष पर्खनुहोस् हजुरको दु:ख
खेर जान दिने छैन बुबाआमा।
हामी नै गरिब, हाम्रै छोरीलाई नै पढ्न पर्ने
नभनि दिनुहोस् न बुबाआमा।
हाम्रो गरिबीको कारण पनि त आखिर
शिक्षाको अभाव नै होइन र बुबाआमा!
सानै छु म केही परिपक्व हुन दिनुहोस् न बुबाआमा,
जसरी अक्षर चिनाउनु भयो
अब ती अक्षरबाट शब्द मात्र होइन,
भविष्य कोर्न बन्नेसम्म हुन दिनुहोस् न बुबाआमा।
भर्खर त छोरीले एसइई सकेकी छ,
अझै केही समय पढ्न लेख्न दिनुहोस् न बुबाआमा।
हजुरले चिनाएका अक्षरबाट केही बन्ने सपना देख्न थालिछे,
त्यो सपनालाई वास्तविक हुन दिनुहोस् न बुबाआमा।
(लेखक ड्रिम हन्ड्रेड प्रोजेक्टमा कार्यरत छन्।)