राज्यले बेरोजगारीको भार
सबै मेरो टाउकोमा खनाइदिएर
तिमी नहाँस भनेको मान्छे म
आज पनि हाँसिरहेको छु।
देशको छताछुल्ल राजनीतिको झाडी र
नेपालीहरुको खाडीमा हालत
उस्ता-उस्तै छ।
म घरको बाउ
तिमी देशको बाउ।
म त हाँस्छु, कारण म मेरो घर सपार्छु
तर देशमा हावाहुरी आउँछ
ठूला-ठूला बाढी-पहिरो
भूकम्प, महामारी आउँछ
अनि देश कस्ले सपार्छ?
जस्ले हेर्छु भनेको छ
आजकाल उस्ले तल हेर्न जान्दैन
जस्ले आमालाई बचाउँछु भनेको छ
उस्ले बोर्डरमा पुग्न जान्दैन
सिमानामा दुस्मन आउँछ, पिल्लर कब्जा गर्छ
देश कस्ले बचाउँछ?
बाउ हुनु जन्माउँनु मात्रै हैन
हसाउँन सक्नु पनि हो
काँडै-काँडा घोपिदिएर
रुनु भनेको मान्छे, अझै हाँसिरहेछु खुलेर
हा हा हा हा हा...
तिमी देशको बाउ
म घरको बाउ
हा हा हा हा हा...।