म प्रहरीको वफादार खोजी कुकुर हुँ। आज मैले सेवाबाट सन्यास लिँदै छु। सेवानिवृत्त भएपछि कता जाने चिन्तामा छु? त्यसपछि मैले के खाने? के गर्ने सोच्न सकिरहेको छैन।
उमेरले गर्दा अब मेरो प्रहरी विभागमा कुनै काम छैन। म जहाँ जान्छु त्यहाँका कुकुरहरूले मलाई बस्न दिने छैनन् होला। मानिसहरूले नराम्रोसँग पिट्नेछन्। बिना कारण कुकुरहरू बिच झगडा गर्नु जन्मजात स्वभाव हो। कसैको बाध्यता बुझ्दैनन्। आफ्नो इलाकामा हैकम देखाउनु पर्छ।
‘होइन साथी, त्यस्तो होइन। हाम्रो कुकुर समुदायमा पनि चेतना आएको छ। सहयोगको भावना बढेको छ,’ अर्को कुकुरले मलाई सान्त्वना दियो।
मैले भनेँ, ‘मसँग प्रहरी विभागमा मेरा दुई जना भाइहरू पनि छन्। हामी तीनै जना आज रिटायर हुनेछौँ। कसैले अचम्म मानेर भन्न सक्छ, एकै दिनमा! यसमा अचम्म मान्नु पर्ने के छ र? हाम्रो समुदायले पाँच वा छ वटासम्म जुम्ल्याहा सन्तानको जन्म दिन्छन्। त्यसपछि परिवार नियोजनको कुनै डर रहँदैन। अभिभावकले हुर्काउने जिम्मेवारी पूरा गर्नु पर्दैन। जो भाग्यशाली छन् उनीहरूलाई मानिसहरूले हेरचाह गर्छन् र बाँकी टोल छिमेकमा घुम्दै, बदमासी गर्दै हिँड्छन्। उनीहरूसँग सबै डराउँछन्। आफ्नो क्षेत्रको नेता बन्छन्।’
मेरो साथीले भन्यो, ‘मानिसलाई नराम्रो लाग्नेछ। उनीहरूको बारेमा यस्तो नभन, साथी।’
मैले भनेँ, ‘मानिसहरूले हाम्रो जस्तै गुणहरू अपनाएका छन् अनि किन नराम्रो लाग्छ? यदि कसैले लोभ्यायो भने, उसैको गीतहरू गाउन थाल्छन्, अर्थात् कुकुरले जस्तै पुच्छर हल्लाउँदै हिँड्छन्। यति मात्र होइन, केही मानिसहरू कुकुरको जस्तै मृत्यु भोग्न थालेका छन्। आजकल तिमी हामीजस्तै वफादार बनेर हामी जस्तै मर्ने तर हामीजस्तै अन्तिमसम्म पुच्छर हल्लाउन नछोड्ने धेरै जना मानिस भेट्नेछौँ।’
मलाई लाग्यो कि म अलि धेरै बोलिरहेको छु, म मौन भएँ। कार्यक्रमको समय भएको थियो। म त्यता गएँ, जहाँ मेरो बिदाइ समारोह हुनेछ। मेरो बिदाइ कार्यक्रम पूरा परम्पराअनुसार भयो। सबैले मेरो घाँटीमा माला लगाइदिए।
भव्य घरको अगाडि एउटा फराकिलो दुबो रोपिएको चौर थियो, चौरमा हरियो मखमली दुबो, चारैतिर रङ्गिन फूलका बिरुवाहरू, गेटमा मोटो सुरक्षा गार्ड- सायद हातमा खैनी मलिरहेको थियो। जिप गेट नजिकै रोकियो। हवलदार साहब तल ओर्लिएर सुरक्षा गार्डको नजिक गए। केही कुरा गरेर फर्किए। मैले देखेँ कि सुरक्षा गार्डले आफ्नो मालिकलाई खबर पुर्याएको छ। उसलाई देख्ने बित्तिकै प्रहरी हवलदारले अभिवादन गर्यो।
घरको मालिकले मलाई हेरेर भन्यो, ‘यसलाई आज नै ल्याएको? राम्रो गर्यौ। त्यहाँ बाँधिदेऊ।’ उसले आफ्नो औँलाले ठाउँ संकेत गर्यो र भित्र पस्यो। प्रहरी हवलदारले पनि मलाई बाँधेर फर्किन थाल्यो। उसले एकपल्ट फर्केर मलाई हेर्यो र भन्यो, ‘तँ भाग्यमानी छस्, राम्रो मालिक कहाँ आएको छस्। वफादार भइरह्यो भने सुख पाउँछस्, नत्र खानाको लागि सडकमा भौँतारिनु पर्ला।’
मैले प्रहरी हवलदारलाई जाँदै गरेको हेरिरहेँ। मेरो आँखाबाट आँसु झर्यो। मैले ऊसँग आठ वर्ष बिताएको थिएँ। अहिले छुट्टिनु परेको छ। प्रहरी विभागसँगको सम्बन्ध समाप्त हुँदै छ।
मेरो नयाँ मालिकको नाम गोपाल बहादुर हो। उनको ठुलो व्यापार छ जस्तो लाग्छ। घरमा धेरै नोकरहरू छन्। नोकरहरू पनि विशेष र सामान्य किसिमका छन्। विशेषहरूको काम पनि विशेष छ। कसको काम के हो कसैलाई भनिँदैन।
यहाँ पहिलेदेखि नै दुई वटा कुकुरहरू छन् तर तिनीहरू मेरो कुल र नस्लका होइनन्। एउटा ‘पामेलियन’ र अर्को ‘डबर म्यान’। उनीहरू लामो समयदेखि सँगै थिए, त्यसैले उनीहरू साथी हुन्। हुन त कुकुरहरू बिच कहिल्यै मित्रता हुँदैन। राजनीतिक नेताजस्तै उनीहरूले पनि पार्टी फेर्न एक क्षण पनि लगाउँदैनन्। तर म नयाँ सदस्य र अर्को नस्लको 'अल्सेसियन' थिएँ। त्यही भएर उनीहरूलाई म फुटेको आँखाले पनि मन परिनँ। मैले उनीहरूसँग मिल्न धेरै कोसिस गरेँ तर उनीहरूले आफ्नो हैसियत छोडेनन्। एक दिन उनीहरूले मेरो नराम्री मर्मत गरे। त्यसपछि मैले पनि राजनीतिक खेल खेलेँ। मैले एकजनालाई आफूतिर तानेँ। अब त्यहाँ बहुमत मेरो थियो।
एक दिन आठ/दश जना सुन्दर युवतीहरू त्यहाँ आए। सबैजना बेरोजगार थिए। सायद जागिरको खोजीमा आएका थिए। त्यहाँ जागिरका लागि अन्तर्वार्ता लिन गोपालबहादुर आफै र उनका दुई जना विशेष व्यक्ति थिए। सबैलाई भित्र बोलाएर काम विदेशमा भएको बताइयो। सबैलाई आकर्षक तलब र निःशुल्क आवासको जानकारी गराइएको थियो। सोचेभन्दा बढी तलब सुनेर युवतीहरू खुसी भएका थिए। सबैले नोकरीको अग्रिम तलब पनि पाएर सम्झौतामा हस्ताक्षर गरी आ-आफ्नो घर फर्किए।
आज तोकिएको मितिमा सबै युवतीहरू फेरि आए। उनीहरूलाई बसमा राखेर लगियो। तर कहाँ? एयरपोर्ट? वा कुनै अन्य सहरमा। अर्को सुविधायुक्त घरमा राखियो। उनीहरूलाई विदेश जाने मितिसम्म यहीँ बस्न भनिएको थियो। उनीहरूले पर्खिरहे तर त्यो भाग्यशाली मिति कहिल्यै आएन। उनीहरू ठगिएका थिए। उनीहरू यो गिरोहको चंगुलमा नराम्ररी फसेका थिए। यो गिरोहको नेता अरू कोही थिएन, मेरो मालिक थियो। गिरोहको काम अश्लील फिल्म बनाएर विदेश पठाएर पैसा असुल्ने थियो।
थाहा छैन कसरी? उनीहरूको चंगुलबाट नम्रता नामकी युवती भाग्न सफल भएकी थिइन्। आफ्नो गाउँ फर्किइन्। प्रहरीलाई सबै कुरा सुनाइन्। पत्रपत्रिकाबाट समाचार बाहिर आएको थियो। प्रहरीले उक्त स्थानमा छापा मारेको थियो। युवतीहरू बरामद भएको सुनियो, आर्थिक लेनदेनको बलमा अनुसन्धान प्रतिवेदनको विषयवस्तुमा परिवर्तन ल्यायो। मेरो मालिक जोगियो।
यता, सहरकी समाजसेवी अनुराधादेवी र महिला संरक्षण मञ्चले प्रहरी र गोपालबहादुर विरुद्ध आवाज उठाएका थिए। उनीहरूले बजार बन्द गराए, नारा लगाए, धर्नामा बसे। प्रशासनका लागि टाउको दुखाइ बनेको थियो। न्यायिक छानबिन गठन गरियो, त्यसपछि अनुराधादेवीले हडताल समाप्त गरिन् तर अनुसन्धान प्रक्रियामा नजर राखिन।
सरकारी काम सरकारी गतिमा अघि बढ्यो। महिनौँ बितिसक्यो तर छानबिन प्रतिवेदन आएको थिएन। घटनामा सम्बन्धमा जनताले बिर्सन थाले। हाम्रो समाजको मानसिकता यस्तै बनेको छ। घटनालाई बिर्सेर सबै आफ्नो काममा व्यस्त हुन थाले।
सदैझैँ बिहानै नागरिक दैनिक पत्रिका आयो। मुख्य शीर्षक थियो- ‘नगर समाजसेवी अनुराधादेवीको निर्मम हत्या। जङ्गलबाट निर्वस्त्र शव भेटियो।’ समाचार पढेपछि सहरमा शोक छायो। सबै बजार बन्द भए। हत्यारालाई पक्राउ गर्न जोडदार माग उठेको थियो। यो समस्याबाट छुटकारा पाउन प्रहरीले उनीहरू मध्ये एक जनालाई समातेर कारबाही गरेको देखाएको थियो। नागरिकहरू शान्त भए। दोस्रो दिनदेखि सबै आ–आफ्नो काममा व्यस्त भए। मेरो मन अथाह दुःखले व्याकुल भयो। आफ्नो मालिकलाई घृणा गरेँ। मेरो मनले मलाई धिक्कार्यो र भन्यो ‘तेरो काम अपराधीलाई पक्रने थियो तर आज अपराधीलाई बचाइरहेछस्?’
मेरो मनले भन्यो- ‘अब म यहाँ एक दिन पनि बस्ने छैन, म यस्तो ठाउँमा जान्छु जहाँ सभ्यता, मानवता र नैतिकता होस् तर यी सब कहाँ भेट्ने?’ मनले फेरि भन्यो ‘सायद गाउँमा जहाँ निर्दोष किसानले मेहनत गरेर खान्छन्। उनीहरूबिच आत्मीयता हुन्छ। भाइचारा हुन्छ। त्यहाँ अरूको सम्मान हुन्छ र त्यहाँ मानवता हुन्छ।’
शरीर साङ्लाले बाँधिएको छ र स्वतन्त्र मन घृणाले भरिएको थियो। त्यसैले म अब मेरो मालिकको नुन खान चाहन्नँ। मानिसहरू जसको नुन खाएका हुन्छन् उनीहरूको नुनको सोझो गर्न सक्दैनन्। तर म नुनको सोझो स्वार्थी र बफादार हुन चाहन्नँ। एक दिन मैले मौका पाएँ। म भागेँ, सहरका भाइहरूले मलाई खेद्न थाले। पछ्याउन थाले। मैले आफ्नो सबै शक्ति प्रयोग गरेँ र तीव्र गतिमा दौडिन थालेँ। डरले गति झन् बढेको थियो। दौडिँदै सहर बाहिर निस्किएँ।
मैले पछाडि फर्केर हेरेँ, तिनीहरू अझै पनि मलाई लखेटिरहेका थिए। सङ्ख्या पनि बढेको थियो। बाटोमा जो जो आए, थपिँदै थिए। मेरो अवस्था खलनायक गुन्डाले खेदेको फिल्मी नायिकाको जस्तो अवस्था भएको थियो। हिरोइनले इज्जत बचाउन दौडै जस्तै म ज्यान जोगाउन दौडिरहेको थिएँ। फिल्ममा नायक नायिकालाई मद्दत गर्ने देखिन्छन् तर मेरो लागि कोही आएनन्।
गाउँको सिमाना आयो। सहरको सीमा समाप्त भएको थियो। सहरका कुकुरहरू आफ्नो सीमामा रोकिए। मैले फर्केर हेरेँ तिनीहरू फर्किरहेका थिए। मेरो मुटुलाई राहत मिल्यो। म लामो लामो श्वास फेरिरहेको थिएँ। जाडोको दिन भए पनि मलाई धेरै पसिना आएको थियो। आराम गर्न एउटा रुखमुनि पल्टिएँ।
एक किसानले हलो खोलेर ल्याए। गोरुलाई एकतर्फ बाँधेर पानीले हात धोएर रुखमा झुन्डिएको खाना ल्याई खान बसे। खाना खाँदै गर्दा उसको नजर ममाथि पर्यो। मलाई ध्यान दिएर हेर्यो। म उनको लागि अपरिचित थिएँ। उसले गाउँका अधिकांश कुकुरहरूलाई चिन्छ। सबै स्थानीय जातका हुन्। म तिनीहरूभन्दा फरक छु- अग्लो, पातलो र खैरो। थाहा छैन उसको मनमा के आयो, उसले रोटीको एउटा टुक्रा मतर्फ फ्याँकिदियो। मलाई नराम्रो लाग्यो। मैले यस्तो खाना कहिल्यै खाएको थिइनँ।
मेरो पेटमा मुसा उफ्रिरहेको थियो तर पनि पल्टिरहेँ। खाना खाइसकेपछि किसान मेरो नजिक आयो। मलाई बोलायो। रोटीको टुक्रालाई मेरो नजिक धकेली दियो। माया गरे जस्तो देखिन्थ्यो। मलाई राम्रो लाग्यो। मैले त्यो टुक्रा खाएँ। त्यो मायाको एक टुक्राले मेरो पेटको भोक मेटाउन नसके पनि यसले मलाई मद्दत गर्यो। म भावुक भएँ। त्यसपछि किसानको भक्त बनेँ।
म मेरो नयाँ मालिकको घरमा बस्न थालेँ। गाउँका कुकुरहरू घर अगाडि जम्मा हुन्थे। तर मेरो सुरक्षा कडा थियो। त्यसैले उनीहरू टाढा उभिएर मलाई हेरिरहन्थे। क्रोधित देखिन्थे, रिसाएर खुट्टाले माटो खोस्रेर ‘मर्दको बच्चा होस् भने यता आइजा’ भने जस्तो लाग्दथ्यो। न म त्यता गएँ न त उनीहरू यता आए। हामीहरू बिच चिनजान नै भएन। म खुसी थिएँ, अब नयाँ स्वामीको घरको सुरक्षाको भार ममाथि आएको थियो।
रातको १० बजेको थियो होला। धेरैजसो गाउँलेहरू सुतिसकेका थिए तर म सुतेको थिइनँ। त्यसै बेला गाउँकै एकजना मानिसले छिमेकीको ढोका ढकढकाएको देखेँ। ऊसँगै गाउँको मुखिया पनि थिए, रक्सीले मातेर लडखडाउँदै हिँडिरहेको थियो। त्यो घरको छिमेकी विधवा थिइन्। परिवारमा उनको अर्को छोरी थिइन्, सुन्दर र जवान।
महिलाले ढोका खोलिन, अगाडि गाउँकै हर्के उभिरहेको थियो। उसलाई देख्ने बित्तिकै पक्कै केही अनिष्ट कुरा हो भनेर बुझिनँ। हर्के गाउँको नराम्रो व्यक्ति हो भन्ने सबैलाई थाहा थियो। गाउँका छोरी चेलीहरूमाथि नराम्रो नजर राख्छ। ऊ पटक पटक जेल पनि परेको थियो। अहिले ऊ निर्लज्ज भइसकेको छ। गाउँका सबै ऊसँग डराउँछन्। उसलाई कसैले मन पराउँदैनन्। गाउँको मुखियाले भन्यो, ‘कोपिला, छोरीलाई धन्धामा लगाएको छस्?’
कोपिला डरले काँपिन्। उनले भनिन्, ‘मुखिया साहेब, के भन्दै हुनुहुन्छ? छोरीलाई त्यस्तो गर्न लगाउँछु? राम राम राम।’
‘यदि तैँले छोरीलाई यस्तो गराउँदैनस् भने तँ आफैले गरेको होलास्,’ मातेको मुखियाले भन्यो।
‘छैन मुखिया साहेब, म किन यस्तो नराम्रो काम गर्छु? पापको कमाइले पेट भर्छु र? अझै मेरा हात खुट्टामा बल छ। म कसम पनि खान्छु,’ कोपिलाले काँप्दै भनिन्।
‘हो, तँ पनि अझै भर्खरकै देखिन्छस्। तर हामीले तेरो छोरीको बारेमा गाउँमा हल्ला सुनेका छौँ। त्यसैले ऊ कहाँ छ? बाहिर निकाल्,’ मुखियाले उसलाई रिस देखाएर, डराउन चाहेको थियो।
‘होइन मुखिया साहेब मेरी छोरी गंगाजस्तै पवित्र छ। उसले त्यस्तो काम गर्दिन। तपाईंले उसलाई लैजान सक्नुहुन्न,’ ललिता कोठाको ढोकामा उभिइन्।
मुखियाले भन्यो, ‘हर्के जा, केटीलाई भित्रबाट तानेर ले।’
हर्केले कोपिलालाई धकेल्यो, उनी भुईँमा लडिन्। कोठामा छिरेर यताउता हेर्यो, शकुन्तला भेटिइन। घरको चारै कुनामा खोज्यो तर फेला परिन। कोपिलाको मुटु तीव्र गतिमा धड्किरहेको थियो। मनमनै भगवानलाई पुकारिन्।
त्यस बेला मलाई मान्छे पनि पशु बन्दो रहेछ भन्ने लाग्यो। पशुले जस्तै आमा, दिदी बहिनीको सम्बन्ध बिर्सँदो रहेछन्। त्यति बेला शकुन्तला कतै लुकिसकेकी थिइन्। तर कहाँ? कसैलाई थाहा थिएन। हर्केलाई घर आउँदै गरेको देखेर शकुन्तलाले खतरा महसुस गरेकी थिइन्। त्यसैले मौका पाएर घरबाट बाहिर निस्किन्। शकुन्तला मसँगै मालिकको खाली खाटमुनि लुकेकी थिइन्। हर्के यता आयो भने उसको शरीरको एक-एक इन्च टोक्ने थिएँ, हर्केलाई देखेर म पनि भुक्न थालेँ। त्यसैले ऊ म भएको तर्फ आएन तर मेरो आवाज सुनेर गाउँका कुकुरहरू आए। उनीहरूले हर्केलाई चिन्यो र फर्कियो।
हर्केले धेरै खोज्यो तर शकुन्तला फेला परिन। टोलका केही मानिसहरू पनि ब्युँझिएका थिए। उनीहरूले नियालेर हेरे, हर्केलाई देखे। शकुन्तलालाई खोजिरहेका थिए तर उनीहरूलाई सहयोग गर्न कोही अगाडि आएनन्। लुकेर हेरिरहेँ। दुवै निराश भए तर कामवासनाको आगो यथावतै थियो। के गर्थे? त्यसैले कोपिलालाई भए पनि लिएर गए।
भोलिपल्ट कोपिलाको रुँदा रुँदा आँखा सुन्निएको थियो। भित्रैबाट टुटिसकेकी थिइन्। हर्के अझै मरेको छैन, फेरि आउनेछ। हुनसक्छ अर्को पटक शकुन्तला उसको चंगुलमा फस्न सक्छ। त्यही भएर आमाछोरीले गाउँ छाडे। उनीहरू कहाँ गए? कसैलाई थाहा भएन।
गाउँको परिवेश पनि सहरको जस्तै रहेछ भन्ने बुझेँ। सहर र गाउँमा फरक यति मात्र हो कि सहरका जनताले आन्दोलन गर्छन्, न्याय माग्छन्। गाउँका मानिसहरू भेडाको बथान जस्ता रहेछन्। ब्वाँसोले एक एक गरी भेडालाई आफ्नो कब्जामा लिइरहेको छ, भेडाको झुन्ड मौन छ। बथानका हरेक भेडाले आफ्नो जीवन सुरक्षित छ भनी सोचिरहेका छन्। तर यही मूर्खताले गर्दा सबैले आफ्नो ज्यान गुमाउँछन्।
गाउँका मानिसहरूमा सामूहिकताको भावना र आत्मीयताको कमी छ भन्ने मैले बुझेँ। खरायोको भेषमा ब्वाँसाहरू निडर भएर आफ्नो सिकार गरिरहेको छ। हरेक दिन कसै न कसैले कोपिला वा शकुन्तला जस्तै नियति भोग्नु परिरहेको छ।