बाढीले सब बगाउँछ
वर्षौँको पसिनाले बनेको घर,
मायाले सिर्जेको परिवार,
पसिनाले सिँचेको खेत,
आँखाभरि सजाएका सपनाहरू,
भोलिका लागि साँचेर राखेका आशाहरू,
जीवनभर जोडेको संसार-
सब बगाउँछ
सजिलै बगाउँछ।
मानिस
आज छ,
भोलि छैन।
एक अकल्पनीय दुर्घटनामा
कसैको इहलीला
एकै क्षणमा समाप्त हुन्छ
हिजोसम्म
भोलिको योजना बनाइरहेको मानिस
आज आफैँ
एउटा सम्झना हुन्छ।
जसलाई आज
बाढीले छोड्छ,
त्यसलाई भोलि
हुरीले उडाउँछ,
भूकम्पले हल्लाउँछ,
रोगले गलाउँछ।
केही नभए—
आज नभए भोलि,
एक दिन त
चिताको आगोले
उसलाई पक्कै खरानी बनाउँछ
अनि उसको अस्तु
खोलामा बगाउँछ।
बाढीले सब बगाउँछ
तर आश्चर्य—
यति देखेर पनि,
यति बुझेर पनि,
मानिसको यो—
धनको लालच,
प्रशंसाको तृष्णा,
अनि
‘म चाहिँ सधैँ रहिरहन्छु’ भन्ने
भ्रम किन बगाउँदैन?